गुल्मीन्युज
गुल्मी, जेठ ३१ । हरेक विद्यालयमा क्रम मिलाएर विद्यार्थीहरूको रोल नम्बर कायम गरिन्छ । कुनै विद्यालयमा योग्यताको आधारमा रोल नम्बरको क्रम मिलाइन्छ । कुनै विद्यालयमा चाहिँ वर्णमालाको क्रम अनुसार रोल नम्बर कायम गरिन्छ । यही रोल नम्बर विद्यालयमा विद्यार्थीको परिचय हो । बिहानै १० बज्ने बित्तिकै विद्यार्थीहरू आफूलाई दिइएको परिचय अनुसार विद्यालयमा हाजिरी जनाउँछन् ।
यो पनि पढ्नुस्: गुल्मीका सामन्य किराना पसले यसरी बने अरबौँका मालिक, सफल उद्यमी
तर गुल्मीको एउटा विद्यालयमा झन्डै ५ दशकदेखि एउटा रोल नम्बर छैन । सदरमुकाम तम्घासको महेन्द्र उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष पुगेको छ । विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् ।
विद्यार्थी र शिक्षक रोल नम्बर १३ नभन्नेमा अभ्यस्त भइसकेका छन् । विद्यालयका शिक्षक तथा विद्यार्थीलाई रोल नम्बर १३ देखि टाढा बस्नुपरेको २०३२ सालदेखि हो । चालीस वर्षसम्म सो विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ लेखिएको छैन ।
यो पनि पढ्नुस्: यी इमान्दार ट्याक्सी ड्राइभर जसले गुल्मीकी बसन्ताको सुनको पोको र नगद फिर्ता गरे
रोल नम्बर १३ नलेख्नको लागि कुनै नियम बनाइएको पनि होइन । तर शिक्षक विद्यार्थी तथा अभिभावकहरू नजानिँदो तरिकाले रोल नम्बर १३ बाट टाढै छन् । ‘कुनै पनि अभिभावक र विद्यार्थीले रोल नम्बर १३ मा भर्ना गरिदिन विद्यालयलाई अनुरोध पनि गरेका छैनन्,’ विद्यालयका एक शिक्षकले भने, ‘विद्यालयले त भर्ना गर्दै गर्दैन । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ ।’ सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।
किन लेखिएन रोल नम्बर १३ ?
सो विद्यालयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको हो ।
विद्यालयका पूर्वप्राचार्य पदमप्रसाद पन्थीले एकपछि अर्को रोल नम्बर १३ भएका विद्यार्थीको निधन भएका कारणले आफ्नै पालामा रोल नम्बर १३ लेख्न छोडिएको बताउँछन् ।
उनले सो समयमा विद्यालयमा कार्यरत शिक्षकहरूसँग सल्लाह गरेर विद्यालयमा रोल नम्बर १३ लेख्न छोडिएको समेत बताए । उनका अनुसार विद्यालयको कक्षा ९ मा १३ रोल नम्बर नम्बर भएका अर्खले–७, भण्डारी टोलका ढुण्डीराज भण्डारीको २०२५ सालमा मृत्यु भएको थियो ।
यो पनि पढ्नुस्: फेसबुकबाट गर्लफ्रेण्डलाई निरन्तर ब्ल्याकमेल, फेसबुक लभले लियो गुल्मीमा एक युवतीको ज्यान
त्यस्तै दोस्रो पटक तम्घास–४ का जुनप्रसाद श्रेष्ठको २०३० सालमा र तम्घास–१, पुरानोबजारका कृष्णप्रसाद पाण्डेयको २०३२ साल वैशाख २७ गते विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो ।
अन्तिम पटक विद्यालयकै प्राङ्गणमा रोल नम्बर १३ भएको विद्यार्थीको चट्याङको कारणले ज्यान गएको विद्यालयका प्राचार्य केशरबहादुर थापा पनि सम्झन्छन् ।
थापा सोही विद्यालयका ‘प्रडक्ट’ हुन् । थापाले सोही विद्यालयमा कक्षा १० मा पढ्ने बेलामा चट्याङ लाग्यो । १३ जना विद्यार्थी बेहोश भए, अन्तिममा कक्षा ९ मा पढ्ने रोल नम्बर १३ कै विद्यार्थीको मृत्यु भयो । ‘त्यसपछि त एउटा संस्कार जस्तै भयो, विद्यालयमा रोल नम्बर १३ लेख्नै छोडियो ।’
उनका अनुसार विद्यालयमा यो परम्परा शायदै तोडिनेछ किनकि त्यहाँका शिक्षक, विद्यार्थी तथा अभिभावक कसैले पनि रोल नम्बर १३ लेख्ने हिम्मत गर्दैनन् । विश्वभरका इसाई धर्मावलम्बीहरूले पनि १३ नम्बरलाई अशुभ मान्ने गर्छन् ।