gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दसैंमा गुल्मीमा कहाँ घुम्ने ? यि हुन् छुटाउनै नहुने गन्तब्यहरु

सन्जु काउछा
दसैंमा नरमाउने को होला? बालबालिकाको त कुरै नगरौं बुढापाकासम्मलाई दशैँको रौनक उस्तै लागेको हुन्छ । बिदेशबाट नेपाल जाने, शहर बजार बाट गाउँ जाने चटारो सबैलाई छ यतिबेला । गाउँ जानका लागि बसपार्क र गाडीहरु भरिभराउ छन् । शहर रित्तिँदै छ गाउँ बाहिरबाट फर्केकाहरुले रमाईलो गराउँदै छन् । विदेशबाट ठुला सुटकेश बोकेर गाउँ आउनेको संख्या पनि बाक्लिँदै छ । बजारमा किनमेल गर्नेको घुँईचो पनि उस्तै ।

यो पनि पढ्नुस्: गुल्मीको दुर्गम गाउँमा पुगे अमेरिकन पर्यटकहरु, रमाए स्थानियसँगै (फोटोहरु)

दशैँमा के गर्ने ? सबैको आ-आफ्नै योजना छन् । दशैँमा टिका लाउने, पिङ खेल्ने, नाचगान गर्ने, साथीभाई भेट्ने जस्ता कुराहरु त सबैले गर्ने नै भए । केहिले त दशैँलाई यो भन्दा पनि बढि रुपमा लिएका छन् । दशैको मौका पारेर साथी भाई र परिवारसँग घुम्ने । पछील्लो समय पोखरा, लुम्बिनी, सौराहा, काठमाडौं जस्ता मुख्य पर्यटकिय केन्द्रहरु भन्दा नेपाली पर्यटकहरु स्थानिय गन्तब्यहरु तर्फ आकर्षित हुँदै गईरहेका छन् । आफु जन्मेकै ठाउँ आसपास पनि घुम्न लायक थुप्रै ठाउँहरु छन् जसले कमै महत्व पाउँछन् । गुल्मीमा पनि त्यस्ता थुप्रै ठाउँहरु छन् जहाँ एकपटक पुगिएन भने घुमाई अपुरै रहन्छ । दसैंमा गाउँ गएर जिल्ला भित्रै घुम्ने सोचाईमा थुप्रै दाजुभाई दिदी बहिनिहरु हुनुहुन्छ होला, हेरौँ गुल्मीमा घुम्नै पर्ने ठाउँहरु:

१. टिमुरे लेक
गुल्मीकै आकर्षक पर्यटकीय क्षेत्रका रूपमा टिमुर डाँडा र त्यहाँ अवस्थित प्राकृतिक ताल रहेको छ । चन्द्रकोट ४ शान्तिपुरबाट ७ किलोमिटर माथि १ हजार ७ सय ५० मिटरको उचाइमा रहेको डाँडामा सुन्दर र प्राकृतिक ताल छ । झन्डै ४ रोपनी क्षेत्रफलमा फैलिएको २ देखि ३ मिटर गहिरो यस तालमा वर्षैभरि पानी रहन्छ । डाँडाको टुप्पोमा सधैंभरि तालमा पानी रहने अनौठो आकर्षक तालले धेरै पर्यटकको ध्यान खिच्न सफल भएको छ । त्यहाँ स्थित प्राकृतिक ताल र त्यसको वरपर फैलिएको पाटन क्षेत्रले धेरैलाई आकर्षित गरेको छ । टिमुरे क्षेत्र ठूलो क्षेत्रफलमा फैलिएको ससाना र झुप्प रूख रहेको पाटन क्षेत्र हो । पाटनको क्षेत्रफल मात्रै झन्डै १ सय रोपनी छ । टिमुरे क्षेत्र प्राकृतिक रूपले अत्यन्तै मनमोहक, उत्कृष्ट हावापानी र सहज पहुँचको हिसाबले ५ नम्बर प्रदेशकै उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना बोकेको गन्तब्य हो । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्ने, बनभोजसँगै रमाउने, मनोरम हिमशृंखला र वरिपरिको वातावरणले जो कोहीलाई फर्की फर्की टिमुरे गईरहने बनाउँछ ।

यो पनि पढ्नुस्: प्रचारप्रसार अभावमा गुल्मीको पर्यटकीय गन्तव्य ओझेलमा, मोटरबाटै पुग्दा पनि आएनन् पर्यटक

२. भवने डाँडा
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगारी भवने डाँडा (दारेढुङ्गा) पिकनिक र घुमघामको लागि आकर्षक गन्तब्य हो । निर्माण भएको झण्डै ८ वर्ष बितिसक्दा पनि प्रचार–प्रसार नहुँदा सदरमुकाम तम्घास नजिकै रहेको आकर्षक पर्यटकिय गन्तब्य केही ओझेलमा परेको छ । जिल्लाको सदरमुकाम तम्घासबाट पूर्व तर्फ झण्डै १० किलो मिटर पक्की सडक र केहि कच्ची सडक मार्फत पर्यटकिय स्थल सम्म पुग्न सकिन्छ । भवने डाँडा हुँदै रेसुङ्गा सम्म पुग्नको लागि सडक मार्गको पनि बिस्तार भएको छ । भँगारी भवने डाँडा (दारेढुङ्गा) पिक्निक पर्यटकिय स्थलमा बस्नको निम्ती बिभिन्न प्रकारका बिश्रामस्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । पर्यटकिय स्थलबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायत बिभिन्न स्थानहरु समेत देख्न सकिन्छ ।

३. अर्जेवा झरना
चन्द्रकोट गाउँपालिका वार्ड नं ६ स्थित अर्जेवामा रहेको प्राकृतिक झरनाले त्यहाँ पुग्ने जो कोहीलाई आफ्नो प्राकृतिक जादुले बाँधेर राख्न सफल हुन्छ । चोरकाटे-रुपाकोट-शान्तिपुर मार्गमा पर्ने अर्जेवा स्थित बाटोको छेउमै रहेको सुन्दर झरना नजिक पुग्नेबित्तिकै पहिलोपटक पुग्ने जो कोहीलाई टक्क रोकिएर त्यो झरनामा रमाउन मन लाग्छ । अग्लो पहाडको खोँचबाट बर्षै भरी झरिरहने झन्डै २०० मिटर अग्लो झरना जती हेर्यो उती सुन्दर लाग्छ । निस्चल पानी, मनोरम प्राकृतिक बातावरण अनी स्थानिय आमासमुह र क्लबले ब्यवस्थापन गरेको सुन्दर पार्क गुल्मीको एक पुग्नै पर्ने गन्तब्यको हो । झरना नजिकै हुग्दिखोला जलबिद्युत परियोजनाको बिद्युतगृह अवस्थित छन् । स्थानिय खोलाबाट कसरी बिजुली निकालिएको छ? जान्न खोज्नेहरुको लागि यो उपयुक्त स्थान हो ।

यो पनि पढ्नुस्: बादलको घुम्टो ओढेको पुण्य भूमि ‘रेसुङ्गा’ (चिनारी ब्लग)

४. उनायचौरको ट्री हाउस
गुल्मीमा नयाँ पर्यटकीय गनतव्यको रुपमा उनायचौरको “ट्रीहाउस” थपिएको छ । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनयचौरमा सल्लाको रुखमा ट्रीहाउस निर्माण भएसँगै नयाँ पर्यटकिय गन्तब्य थपिएको हो ।
उनायचौरमा रहेको अग्लो सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्यहरु, डाँडाकाँडा र हिमालयहरु हेर्न सकिन्छ । सन्चालनमा आए लगत्तै ट्रिहाउसले जिल्लामा र जिल्ला बाहिरबाट पर्यटकहरुलाई तान्न सफल भएको छ । ट्रीहाउस हेर्नको निम्ति पहिलो एक महिनाको अबधीमा १५ हजार बढीले अबलोकन गरेको बताईएको छ ।
सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा ट्री हाउसका अलावा केहि धार्मिक मन्दिरहरु, पार्क र खेल मैदान पनि रहेका छन् । जिल्लामै पहिलो पटक रुखमै निर्माण गरिएको ट्री हाउस यस क्षेत्रकै नौलो खालको घर रहेको छ ।

५. कुर्घा मालिका तथा गुरुङ होमस्टे
गुल्मी जिल्लामा अवस्थित मालिका देवीको मन्दिर जिल्लाकै प्रशिद्द धार्मिक तथा एतिहासिक स्थल मध्यको एक हो । मुसिकोट नगरपालिका ६ कुर्घा गाविसको भुवाचिदी बजारबाट करिब दुई देखी साढे दुई घण्टाको पैदल यात्रा पश्चात मालिका मन्दिरमा पुग्न सकिन्छ । जिल्लाका बिभिन्न स्थानहरुका साथसाथै छिमेकी जिल्लाहरुबाट पनि हजारौँ श्रद्दालुहरु आफ्नो मनोकामना पुरा गर्न मालिका मन्दिर जाने गर्दछन । भक्तजनहरुको सबै मनोकामना तथा मनोकांक्षाहरु मालिका माईले पुरा गर्छिन भन्ने जनबिश्वास रहीआएको छ । त्यहाँ रहेको पहराभित्र बहिरी मालिका देबी रहनुहुन्छ त्यसैले बेस्सरी चिच्याएर बर मागे मात्र देवीले बरदान दिनुहुन्छ भन्ने भक्तालुहरुको विश्वाश रहेको छ । भक्तालुका समस्या र पिर मर्का बुझ्ने यो देवी सँगको आस्थाले हरेक बर्ष यि बहिरी देवीसँग चिच्याएर बर माग्ने श्रद्दलुहरुको ठुलो घुँईचो लाग्ने गर्दछ मालिकामा ।
मालिका मन्दिरबाट अलिकती माथी कुर्घा स्वाँरामा रहेको गुरुङ होमस्टे जिल्लाको अर्को आकर्षक गन्तब्य हो । समुद्री सतहदेखि एक हजार ५२० मिटरको उचाइमा रहेको उक्त स्थानमा गुरुङहरुको मात्र बस्ती रहेको छ । हाल ३२ वटा घरधुरी रहेको सो बस्ती पुराना शैलीमा निर्माण गरिएको छ । गुरुङ समुदायको दैनिकी, भाषा कला-संस्कृती, परम्पराका साथै त्यहाँबाट देखिने मनोरम दृष्‍यले जो कोहिलाई सजिलै मनमोहित बनाउँछ । बसाँई सराई र पश्चिमी सँस्कृतीको चपेटा पर्दै गएको गुरुङ सँस्कृतीलाई बचाई राख्न स्वाँराका गुरुङहरुको प्रयास उदाहरणिय नै छ ।
स्वाँरामा स्थानीयस्तरमै उत्पादित खानाका विभिन्न अर्गानिक परिकारहरु जस्तै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, कुरिलो, आलु, पिँडालु, गाउँमै उत्पादन गरेको कोदोको रक्सी, लोकल कुखुरा, खसी, फापर, मकै, भटमास, गहुँको ढिँडोलगायत उपलब्ध हुन्छ । गुरुङ सँस्कृती, भाषा र जीवनशैली अध्ययनको लागि उपयुक्त गन्तब्य स्वाँरा हुनेमा दुईमत छैन ।

६. धुर्कोट कोट
धुर्कोट गाउँपालिकाको मध्यभागमा पर्ने धुर्कोट कोट नेपालको चौबिसे राज्यमध्येको ऐतिहासिक दरबारको नाम हो । धुर्कोट कोटमा खड्गछत्रको आरधाना गरिने भएकोले पनि यो निकै महत्वपूर्ण धार्मिक स्थल हो । मध्यकालका राजाले दरबारको परिसरमा भवानिको मन्दिर बनाएर पुजा गर्ने चलन चलाएपनि अहिले पुरै कोटलाई नै मन्दिरको रुपमा मानिएको छ । जुन नेपाल एकिकरणपूर्वको २४ से राज्यमध्येको धुर्कोट राज्यको राजानी राजदरबार हो । उत्तर मध्यकालिन समयमा ७०० घरधुरी रहेको धुर्कोट १४६५ मा न्यायनको केन्द्र बन्यो ।

. भार्से
जिल्लाकै सबै भन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित गाउँ हो भार्से । सत्यवती गाउँपालिकाको वार्ड नं ८ मा वरिपरि पहाडले घेरिएको समथर भुभागमा टपक्क बिचमा बसेको सानो बस्ती । हो, झट्ट हेर्दा स्वर्गको एक टुक्रा जस्तै देखिन्छ । बुटवलबाट दुई घण्टामा पक्की सडक रिडी र रिडि–रुद्रवेणी– वामी टक्सार मुख्य सडक अन्तरगत खैरेनीबाट डेढ घण्टाको उकालो हिँडेपछि भार्से पुगिन्छ । त्यति धेरै अग्लो स्थानको त्यो उपत्यका, प्रकृति र जिल्लाको अनुपम उपहार हो । समुन्द्रि सतहवाट एक हजार सात सय ५० मिटरको उचाईमा भार्से पर्छ ।
पुराना कलात्मक शैलीका घरहरु, मगर दिदिबहिनीहरुको न्यानो आतिथ्यताले त्यहाँ पुग्ने कसैले बर्णन गर्न सम्भव छैन । जिल्लाकै सवैभन्दा धेरै मगरहरुको बस्ती भएको ठुलोलुम्पेक नैजिकै रहेको गाउँ हो भार्से । यहाँ मगरहरुको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, सँस्कृती र पहिचान अझै जीवितै छ । सालैजो, सोरठी, कृष्ण चरित्र, झाम्रे र ठाडो भाका पाको पुस्तादेखि नयाँसम्मले गाउन र नाच्न सक्छन् । गीत गाएर र नाचेर रात गएको पत्तै हुँदैन् । होमस्टेमा खान, बस्न र सुत्नका लागि राम्रो ब्यवस्था छ । स्थानीयस्तरमै उत्पादित खानाका परिकारहरु खान पाईन्छ । लोकल कुखुरा र कोदोको रक्सी होमस्टेको प्रमुख आकर्षण हो । त्यस्तै स्वादिष्ट अर्गानिक खानाहरु कोदोको ढिँडो, सिस्नो, बाँकोको सिन्की, कालो भट्ट, मकै र फापरको रोटी त्यहाँको बिशेषता हो ।
मगर संस्कृती र तिनका बिबिध पक्षहरुलाई नजिकबाट अवलोकन गर्न चहानेहरुको लागि उत्कृष्ट गन्तब्य हो भार्से । ट्रेकिङ, क्याम्पिङ र साईक्लिङको लागि पनि भार्से उत्कृष्ट गन्तब्य मानिन्छ । बिगत केही बर्ष देखी गुल्मी भार्सेली युवा विश्व सञ्जालका युवाहरुले बुटवल देखी भार्से सम्म साईकल गराईरहेका छन् ।

८. ह्वाक्ने छहरा
यतिबेला ह्वाक्ने छहरामा तम्घास आसपासका पर्यटकहरु र झरना हुँदै यात्रा गर्ने यात्रुहारुको घुँईचो लागिरहेको छ । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिकाको वडा नम्बर १० मा पर्ने छहरामा पानीका मात्रा बढेपछि अन्तरिक पर्यटकहरु छहरामा झुम्मिन थालेका हुन् । हिउँदमा सुक्दै जाने र पानी विहिन सम्मा हुने छहरामा गत भदै अन्तिम साता परेको पानीपरेसँगै छहराको दृश्य सुन्दर मनमोहक बनेको छ । रेसुङ्गा क्षेत्रबाट बग्ने छहरा लामो दुरीबाट बग्ने गरेकाले ह्वाक्ने छहराको नामले चिन्ने गरिन्छ । सदरमुकाम तम्घासबाट नजिकै तम्घास रिडी सडकमा पर्ने छहरा राजमार्गको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ । छहरामा पानी बढेपछि सुन्दर दृश्य बनेको छ । कम समयमै घुम्न सकिने गन्तब्य भएकाले रेसुंगा पुग्ने, श्रींगेश्वर वा रुरु क्षेत्र पुग्नेले यो ठाउँमा सजिलै पुग्न सकिन्छ ।

९. कोटेश्वर
गुल्मीमा अत्यन्तै सम्भावना बोक्दाबोक्दै पनि ओझेलमा परेको एउटा आकर्षण हो मुसिकोट नगरपालिका वार्ड नं ५ साविकको आँपचौर स्थित कोटेश्वर मन्दिर । वारी पारी घना जंगल, तीन नदीको संगम अनी बिचमा मनै लोभ्याउने सुन्दर मन्दिर, हो त्यही सुन्दर कोटेश्वर महादेव मन्दिर । त्यहाँ पुग्ने जो कोहीलाई मनमोहीत तुल्याउँछ त्यहाँका सुन्दर दृष्‍यहरुले । बस्ती देखी टाढा एकान्त ठाउँमा रहेको यो मन्दिरको उत्पत्तीको कथा अली बेग्लै छ । यसको उत्पत्तीको कथा जान्न धेरै पछाडी जान पर्दैन । २०५१ सालमा स्थानिय डिल्लिराज सपकोटाले सपनामा देखेर पत्ता लगाएको एउटा सानो गुफामा ३३ कोटी देवताहरु सहित अनेक प्रकारका चित्र तथा आकृतीहरु देखेको सापकोटाले बताए । पछी बिस्तारै खोज, अनुसन्धान गर्दै बर्तमान भौतिक पुर्वाधार सहितको मन्दिर स्थापना भएको हो । उक्त क्षेत्र धर्ममा आस्था हुनेहरु मात्र नभएर सबैलाई घुम्नको लागि उत्तम गन्तब्य हो ।

बहादुर साहको पालामा काजि दामोदर पाण्डेको फौजले धुर्कोटलाई बृहत राज्यमा गाभेको हो । कोटमा मल्लकालिन राजाका हतियार र तरवारलाई बर्षको एक दिन भगवान मानेर पुजा गरिन्छ । धुर्कोट कोटमा नवमिको दिन भाकल चढाउने, परेवा उडाउने र पञ्जवली दिने गरिन्छ । कोटमा पूर्णिमाको दिन पुजा र सरायँ नाच हुने गर्दछ । धुर्कोट कोटबाट गाउँपालिकाका सबै वडा देखिनुका साथै विभिन्न शृङ्खला पनि देख्न सकिन्छ ।

१०. रुरु क्षेत्र
गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ । नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको एउटा धरोहर र खम्बा हो र गुल्मीको मुख्य प्रवेशद्वार पनि । रिडीदेखि डेढ किलोमिटर उत्तरमा भृगुतुंग नामक गुफा रहेको छ । यंहा भगवान शिबले आफ्नी पत्नी पार्बतीको शव बोकेर संसारको भ्रमण गर्दै गर्दा सतीदेविको उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्री स्वस्थानी महात्यम्यमा पनि केहि ब्याख्या गरिएको छ ।

त्यस्तै गलफूलगुफा पनि गुल्मीको थोर्गा तर्फको भागमा रहेको छ । धार्मिक धरोहर रुरु क्षेत्रमा साना ठूला गरेर १ सय बढि मन्दिर तथा साना ठूला केहि गुफा पनि छन् । रिडीमा मुख्य गरि माघे सक्रंन्तिमा तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ । साथै बर्ष भरीको औंशी, पुर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ । प्राकृतिक बनावटमा उपत्यका जस्तो देखिने रिडी सामुन्द्रिक सतह देखी १ हजार ८ सय फीटको उचाइमा रहेको छ ।

भगवान बिष्णुको प्रतिक मानिने शालीग्रााम पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लब शालिग्रााम पाइने स्थानका रुपमा पनि चिनिएको छ । रिडीमा राडि पाखी, डोका डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचि लगायतका स्थानिय उत्पादन पनि प्रख्यात मानिन्छ । पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सिमानाबाट बग्ने पवित्र कालीगण्डकीमा सुन खोज्नेहरुको पनि तांती नै लाग्छ ।

११. रेसुङ्गा क्षेत्र
समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि प्रसिद्ध छ । यहाँ भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर समस्या सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पनि छ । रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रे लगायत १५ भन्दा बढी हिमाल देखिन्छन् ।

सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ । यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो । रुरुक्षेत्र पादस्थान हो । भने रेसुङ्गाक्षेत्र शिरस्थान हो । नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये रुरु रेसुङ्गा क्षेत्रलाई पनि विकास गर्ने उद्देश्यले २०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको स्थापना गरेको छ । महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताहरुको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा छ । विभिन्न तीर्थस्थलहरुबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुङ्गाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रुपमा रहेको छ ।

१२. चारपाला
गुल्मी चारपाला एतिहासिक तथा पुरातात्विक दृष्टिकोणका अलावा धार्मिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपाल एकिकरण हुनुभन्दा पहिले यो एउटा स्वतन्त्र राज्य थियो जुन गुल्मी राज्य नामले चिनिन्थ्यो । वीर शाही यहाँका पहिला राजा थिए । हाल इश्वरी देवीको नामबाट चिनिने गुल्मी चारपालामा बर्षको दुई पटक पूजा आजा गर्ने, पञ्चवली ल्याउने र सरांयँ नाच्ने गरिन्छ ।

१३. मुसिकोट
मुसिकोट पनि गण्डकी प्रदेशका चौबिसे राज्य समुह मध्यको एक महत्वपूर्ण राज्य मानिन्थ्यो । टाकुरामा अवस्थित यस राज्यमा सिंह ठकुरी राजाहरुले राज्य गर्दथे । प्रचलन अनुसार सिंह ठकुरी राजाहरुले स्थापना गरेको खड्ग देवीको मन्दिर अहिले पनि छ, जसलाई दरबारकोट भनिन्छ ।

१४. विचित्र गुफा
गुफा सदरमुकाम तम्घासबाट पश्चिम कारीब चार कोषको दुरिमा रहेको छ । प्रकृतिको अद्भुत उपहारको रुपमा रहेको यो गुफाको कुल १८५ मिटरसम्म अध्ययन गरिएको छ । बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ ।

सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप, शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ ।

गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको छ । विचित्र गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र छ । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेका छन् ।

१५. मदाने लेक
गुल्मीको उत्तर पश्चिम क्षेत्रका तत्कालिन ११ वटा गा.वि.स. मा मदाने लेक पर्दछ । कुल दुई हजार ६९० मिटर उचाइमा रहेको मदाने लेकबाट छल्दी, पनाहा, निस्ती लगायतका नदि वग्ने गर्दछन् । यो ठाउँको उच्चभुभागबाट उत्तर तर्फ आँखै अगाडी जस्तै देखिने धवलागिरी र अन्नपुर्ण हिमश्रृङखलाको मनमोहक दृश्य र दक्षिणतर्फ सिधै तल देखिने मध्यमहाडी भूभागको नागवेली पहाड र त्यसको काखमा रहेका खेतियोग्य समथर फँटको मनोरम दृश्यको आनन्द एकैपटक लिन सकिन्छ । यसरी यो क्षेत्र चारै दिशाको क्षितिजलाई एकैनजरमा चियाउन सक्ने स्वर्गको एक आँखीझ्याल हो समेत भनेर भन्न सकिन्छ ।

१६. थाप्ले लेक
गुल्मीको कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका साविकका २६ वटा गाविसमा पर्ने थाप्ले सत्यवती वन क्षेत्रले वातावरणीय र धार्मिक पर्यटकीय क्षेत्रको ३७ हजार ८४३ हेक्टर भूभाग ओगटेको छ । वातावरणीय, पुरातात्विक, जैविक विविधताजस्ता विशेषता थाप्लेको लेकमा छन् ।

‘थाप्ले सत्यवती’ क्षेत्र स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा नै महत्व राख्ने टिमुर, चिराइतो, लोक्ता, अल्लो, सुगन्धवाल, सतुवालगायत जडीबुटी पाइन्छन् । जनसहभागितामा आधारित सूक्ष्म पारिस्थितिकीय प्रणाली व्यवस्थापनको अवधारणाअनुरुप समग्र वन क्षेत्रको व्यवस्थापनद्वारा प्राकृतिक स्रोत, जलस्रोत तथा जैविक विविधताको संरक्षण, पर्या–पर्यटनको विकास एवं पर्यावरणीय सन्तुलन कायम गर्ने लक्ष्यका साथ ‘थाप्ले सत्यवती’ लाई संरक्षित वन समेत घोषणा गरिएको छ ।

१७. अचमेश्वर गुफा
गुल्मीमा विचित्र बाहेकका अरु गुफा पनि छन् भन्दा अचम्म लाग्न सक्छ । तर जिल्लाको रुरु गाउँपालिका १ मा पर्ने कालिगण्डकी किनारको साँघुरे भन्ने स्थानमा रहेको अचमेश्वर गुफा भित्र स्वयम् उत्पत्तिमान शिवलिङ्ग, योनी आकारका शिला, गणेश, नन्दि, ब्रह्मा, विष्णु महेश्वर आदि भगवानका मुर्ति, नाग कुण्ड आदि सनातन धर्म संस्कृतिका सम्पदाका आकृति रहेका छन् ।

कालिगण्डकी किनारको पहाडको खोंचमा रहेकोले गुफामा पुग्न कठिन भएपनि डोरीको सहायताले भक्तजनहरु दर्शनार्थको लागि पुग्ने गरेका छन् । शिवरात्रीमा भव्य मेला लाग्छ । समितिले अस्थाई प्रकृतिको बाँसको भ¥र्याङ निर्माण गरी आवत जावतको व्यवस्था मिलाएको छ ।

१८. अर्जुन डाँडा
रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जन डाँडाबाट गुल्मीका विभिन्न स्थानसहित अर्घाखाँचि, पाल्पा लगायत विभिन्न हिम शृंखलाहरुको अवलोकन गर्न सकिन्छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा जैविक विविवधताले महत्वपूर्ण मानिएको अर्जुन डाडाँ करिव २ हजार मिटर उचाईमा रहेको छ ।

अर्जुन डाँडामा रहेको मन्दीरमा वडादशैको घटस्थापनाको दिनदेखी नवदुर्गा देवीको पूजा गर्ने गर्दछन् । डाँडासँगै रहेको जंगलमा लाली गुँरास, ओखर, चाप, काफल, समेतका वनस्पति र सयौ प्रजातिका जडीवुटी पाइने भएकोले पनि यो पर्यटकिय हिसाबले निकै महत्वपूर्ण छ ।

धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका टिमुरे लेक, दिब्ब्रुङ दह, क्वाङ्के देउराली, शालिमेदह तथा प्रकृतिको अनुपम संरचना सिदेद्धर गुफा पनि यहि जिल्लामा रहेका छन् ।

१९. कंके देउराली

गुल्मीको मदाने गाउँपालिका अबस्थित धार्मिक तथा प्राकृतिक सौन्दर्यता बोकेको कंके देउराली थुप्रै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसार र उचित संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक, धार्मिक तथा पर्यटकिय रुपमा प्रख्यात नाम हो कंके देउराली । ऐतिहासिक ठाउँ कंके देउरालीको काखमा अबस्थित पुर्कोट दह बाट धेरै हिमसृंखलाहरु देख्न सकिन्छ । प्रकृतिको सुन्दरताले भरिपुर्ण यो ठाउँमा आउने जो कोहिलाई पनि कंके देउरालीको सुन्दरताले लोभ्याउँछ ।

२०. बुढी सत्यवती

धार्मिक एवं प्राकृतिक पर्यटन गन्तव्य बुढी सत्यवती धाम सत्यवती गाउँपालिका स्थित लिम्घामा रहेको छ । यहाँ पुग्न ठूलो लुम्पेक देखि गाडीमा जान सकिन्छ भने हिँडेरै पनि पुग्न सकिन्छ । ठुलोलुम्पेक देखी बुढी सत्यवती बजैको मन्दिर सम्म पुग्न करिब ३-४ घन्टा लाग्दछ ।

यस मन्दिरमा ढुङ्गामा आफै बनेका कुवाहरु छन् । ती कुवाका पानी कहिले पानि सुकदैनन् र जुठो शरीरले त्यो कुवाको पानी चलाउनु हुँदैन भन्ने जनबिश्वास रहिआएको छ ।

बुढी सत्यवतीमा पुगेर मागेको वर पूरा हुने जन विस्वास पनि छ । मंसिरको पुर्णिामा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

२१. सालीमे दह

गुल्मी जिल्लाको उच्च भुमिमा अवस्थित सालीमे दह पनि प्राकृतिक सौन्दर्यका अलावा धार्मिक पावन भुमिको रुपमा चर्चित छ । मुसिकोट नगरपालिकामा अवस्थित चारैतिर घना जङ्गलले घेरिएको यस स्थानमा भक्तिनिहरुले तपस्यास्थल बनाउदै आएका छन । यस स्थानमा स्वामी १००८ स्वर्गिय परमानन्द गुरुले मन्दिर बनाउनुभएको छ । यहाँबाट गुल्मी सहित छिमेकी जिल्लाका बिभिन्न भागहरु देख्न सकिन्छ ।

साथै गुल्मीमा दिब्रुङ दह, लेख पोखरी, ईस्माकोट, चन्द्रकोट, छत्रकोट, राेल्म तिखेचुली भन्भने, साेईरे मर्भुङ् मालिका, हिले सिद्ध थान, जयखानि झरना, बम्घा काेट लगायत थुप्रै घुम्न लायक रमणिय स्थानहरु पनि छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D