gulminews logo
शनिबार, २०८१ बैशाख १५

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेल
गुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने । हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ । तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरुका लागि एम्बुलेन्स हाम्रो लागि निर्विकल्प यातायातको साधन हो । तर गुल्मीमा बिरामी बोक्ने एम्बुलेन्स आफै बिरामी पर्दा समस्या भएको छ । गुल्मीमा गुल्मी अस्पताल, रेडक्रस सोसाइटी, आशा अपाङ्ग केन्द्र लगायत विभिन्न पालिकाहरुमा एम्बुलेन्स बिरामी अवस्थामा छन् तर तीनको उचित संरक्षण एवम् व्यवस्थापनमा कसैको चासो गएको छैन ।

गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जिर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै बिग्रिएका एम्बुलेन्स भएपनि अहिले नयाँ भवन बन्दै गरेकोले झाडीमा फालिएको छ । झ्याप्प हेर्दा एम्बुलेन्स जस्तो पनि नदेखिने दुई एम्बुलेन्सलाई झाडीले घरेको छ । अस्पतालका व्यवस्थापक असिम चौधरीका अनुसार एम्बुलेन्स कहिलेदेखि प्रयोगबिहीन भए भन्ने कुनै आधिकारीक जानकारी छैन । एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन बर्षअघिबाट नयाँ एम्बुलेन्स संचालनमा ल्याएको छ । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुन सकेको छ, न त उचित व्यवस्थापन नै ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स करिब १२ बर्ष पहिले खरिद ग¥यो । पछिल्लो छ बर्षदेखि बिग्रिएर कार्यालयमै थन्किएको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताए । तत्कालिन अवस्थामा रेडक्रसले आफ्नै रकमबाट खरिद गरेको एम्बुलेन्स बिग्रिएपछि संस्थाले नयाँ एम्बुलेन्सबाट सेवा दिएको छ । तर पुरानो एम्बुलेन्सको व्यवस्थापन भएको छैन ।

गुल्मी अस्पताल र रेडक्रसमा भएका बिग्रिएका तर व्यवस्थापन नभएका एम्बुलेन्सका केही उदाहरण मात्रै हुन् । पालिकाहरुका सूचना अधिकारी एवम् स्वास्य संयोजकहरुका अनुसार अहिले जिल्लाभरमा कुल १४ एम्बुलेन्स प्रयोगबिहीन छन् । तिमध्ये विदेशमा बस्ने नेपालीले आफ्नो गास कटाएर सासको लागि दिएका एम्बुलेन्स धेरै छन् । तर अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । भने कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सको चालक एकजना मात्रै छन् ।

रुरुक्षेत्र गाउँपालिकामा विगत चार बर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । वडा नम्बर ६ रिमुवामा भुपु सैनिकले सात बर्षअघि किनेको एम्बुलेन्स तीन बर्ष चलेर चार बर्षदेखि बिग्रिएको अवस्थामा छ । पालिकाले मर्मत गरेर चलाउन प्रयास गरेपनि खर्च धेरै आउने भएकोले सम्भव नभएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । अहिले रुरुक्षेत्रले नयाँ एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैमा एउटा एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स विगत दुई बर्षदेखि उचित व्यवस्थापनको पर्खाईमा छ । मदाने गाउँपालिका –३ सिर्सेनीमा पालिकाले अढाई लाख खर्च गरेर एम्बुलेन्स बनाएपनि संचालन हुन सकेको छैन । दुई बर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक बर्षमा दुई लाख खर्चेर मर्मत गरेपनि चालक अभावको कारण देखाउदै पालिकाले एम्बुलेन्स संचालन गर्न सकेको छैन ।
इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक पदमलाल अधिकारीका अनुसार वडा नम्बर ४ दोहोलीको एम्बुलेन्स विगत चार महिनादेखि बिग्रिएको अवस्थामा छ । भुपु आर्मीमार्फत भारतीय राजदुतावासले दिएको एम्बुलेन्स चलाउँदा चलाउँदै बिग्रिएको पालिकाले जनाएको छ । मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन् । अर्लाङ्गकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एक बर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार बर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार बर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढाल बहादुर जिसीले बताए । बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इन्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाई छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्गमा पनि एउटा एम्बुलेन्स विगत एक महिनादेखि प्रयोगबिहीन अवस्थामा छ ।

धुर्कोट गाउँपालिकामा दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाको वडा नम्बर ७ वाग्ला र वडा नम्बर १ नयाँगाउँमा रहेका एम्बुलेन्स प्रयोगबिहीन भएका हुन् । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडी नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । भएका एम्बुलेन्स चल्न नसक्ने भएपछि पालिकाले दुई एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको छ ।

सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घामा एउटा एम्बुलेन्स बिग्रिएको छ । मर्मत गरेर पनि चल्न सक्ने अवस्था नभएपछि अलपत्र अवस्थामा छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका बिषयमा पालिकासँग नै जानकारी छैन । आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० बर्षअघि दिएको एम्बुलेन्स आठ बर्ष चलेर दुई बर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले संचालन गर्न सकेको छैन ।

आशा अपाङ्ग केन्द्रका कोषाध्यक्ष तारा प्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकोले समस्या भएको बताए । रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताए । ‘पुरानो बिग्रेर नयाँ खरिद ग¥यौँ ।’ उनले भने, ‘तर एम्बुलेन्सले संचालन खर्च उठाउन नसकेर घाटामै छ ।’ प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताए । ‘उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ ।’ उनले भने ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D