हुमाकान्त पोखरेल
२२ पौष, गुल्मी । गुल्मीमा माध्यमिक विद्यालय स्तरिय हालसम्मकै उच्च पुरस्कार राशिको फुटलबल प्रतियोगिता हुने भएको छ ।
फोर्टिन स्टार युवा क्लव र विरभद्र जगं गुल्म, गुल्मीको आयोजना तथा डम्बर बहादुर स्मृती प्रतिष्ठानको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जिल्लास्थित माध्यमिक विद्यालय अन्तरगत कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थी मात्रै सहभागि गराइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३३ हजार ३३३ राशिको प्रथम पुरस्कारको ब्यवस्था गरिएको छ भने द्धितिय हुनेले २२ हजार २२२ प्राप्त गर्ने फोर्टिन स्टार युवा क्लवका उपाध्यक्ष नारायण आचार्यले जानकारी दिए । यसभन्दा अगाडी जिल्लामा ५० हजार राशिसम्मका फुटबल प्रतियोगिता भएपनि विद्यालय स्तरमा भएको यो सर्वाधिक राशिको पुरस्कार भएको आयोजकले दावी गरेको छ ।
क्लवको आठौँ बार्षिक उत्सवको अवसरमा माघ ४ गतेदेखि प्रतियोगिता संचालन हुन लागेको क्लवका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए । प्रतियोगितालाई लक्षित गर्दै क्लवले तयारी पनि तिब्र पारेको छ । जिल्लास्थित विभिन्न विद्यालयहरुलाई पत्र पठाउने, विभिन्न कार्यालयहरुमा समन्वय गर्ने, खेल हुने स्थान तम्घास चिदिचौरमा सरसफाई जस्ता काम गरिरिहेको क्लवले जनाएको छ ।