हुमाकान्त पोखरेल
गुल्मी, ११ फागुन । जिल्ला कारागार गुल्मीका एक कैदीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । छत्रकोट गाउँपालिका २ पल्लीकोटका ३२ बर्षीया रुक बहादुर राकशकोटीले व्लेडले घाँटी रेटेका छन् । उनलाई बुधबार कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत गुल्मीबाट २० बर्ष कैद सजायँ सुनाइएको थियो ।
फैसलापछि उनलाई प्रहरीले कारागार लगेको थियो । कारागारको गेटमै उनले सुनियोजित रुपमा व्लेडले घाँटी रेटेको कारागार प्रमुख उद्धव पन्थीले बताए । उनले बिहान दारी फालेको व्लेड गोजीमै राखेको र फैसला सुनेर फर्केपछि आत्महत्याको प्रयास गरेको प्रमुख पन्थीले बताए ।
रुक बहादुरको घाँटीमा १० वटा टाँका लगाइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अहिले उपचारपछि कारागार नै फर्काइएको छ । रुक बहादुरले ०७५ साउन २ गते स्थानीय ३४ बर्षीय शेर बहादुर राकशकोटीलाई घरमै गएर कुटपीट गरेका थिए ।
कुटपीटपछि घाइते शेर बहादुरको अर्को दिन मृत्यु भयो । आफन्तको उजुरीको आधारमा उनलाई प्रहरी ०७५ साउन ३ गते गिरफ्तार गरि जिल्ला अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीबाट ०७४ साउन १८ गते राकशकोटीलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो ।
धेरै बर्षको कैद सजाँय र तनावले पनि आत्महत्याको प्रयास गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका एसपी दिपक कुमार बस्नेतले बताए ।