अनिश शर्मा गैरे
गुल्मी, पौष ०२ । गाउँमा चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन चल्न थालेको धेरै बर्ष भइसकेको भएपनि पहिलोपटक ठुलो यातायातको साधन पुग्दा स्थानीय बासिन्दा छक्क परे ।गुल्मीको मुुसिकोट नगरपालिका ८ मैदानमा पहिलो पटक ठुलो यातायातको साधन बस आइतबार पुगेको हो ।
छोटो दुरीका साना सवारी मात्रै आफ्नो गाउँमा पुगेको देखेका वामी मैदानबासीले बाजागाजा सहित हर्षाेल्लासका साथ बस र चालकलाई स्वागत समेत गरेका थिए ।
फुल माला र अविर लिएर लामबद्ध भएका गाउँलेले बस गाउँमा पस्दा गरेको अविर जात्रा देखेर गाडीका चालक पनि छक्क परेका थिए ।
पहिलो पटक लु १ ख ४३२२ नम्बर बस पुग्दा स्थानीयले बाजागाजा सहित नाचगान गरेका थिए ।
कच्चि सडकमा बस गुडाउनको लागि कठिन भएपनि गाउँका जनताको सेवाका लागि बस सञ्चालनमा ल्याउन लागिएको वडाध्यक्ष नाारयण सापकोटाले बताए ।
बस सेवा सुरुवात गर्नको निम्ती केही दिन अघि सम्म सडक फराकिलो गर्ने काम चलिरहेको थियो ।
साँघुरो सडक त्यो पनि कच्चि सडकमा बस सेवा सञ्चालनमा ल्याएर गाउँका सर्वसाधारणलाई सेवा दिन लागेको भन्दै सापकोटाले यस कार्यमा साथ दिने सबैलाइ धन्यवाद दिए ।
अब नियमित बस सेवा नै सञ्चालन गर्ने बिषयमा भने छलफल भइरहेको उनले बताए ।
जीपहरुमा यात्रा गर्दा थोरै मात्र यात्रुहरुलाइ पुग्ने कारण बस सेवा सञ्चालनमा आएपछि भने धेरै सहज हुने वामी मैदानका युवा उज्जल खत्रीले बताए ।
उनले सक्दोचाँडो यस क्षेत्रमा नियमित बस नै छुटाउन नेतृत्वले पहल गर्नुपर्ने बताए ।
ग्रामिण क्षेत्रमा भएका साँघुरा सडकको स्तर उन्नती गरेर नियमित यातायात चल्ने वातावरण बनाउनु मुख्य बिषय देखिन्छ ।
बर्षा मौसममा हिलाम्य सडक हुँदा गाडीहरु सडकमा फस्ने समस्या तर्फ सबैको ध्यान केन्द्रित हुनु अहिलेको टडकारो आबश्यकता देखिन्छ ।
सो बस सेवाको निर्वाचित प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्ट तथा प्रदेश सभा सदस्य खड्क केसीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।