सन्तोष महतारा
गुल्मी, असार २३ । एक बर्षका बाह्र महिना मध्ये अलि महत्वपूर्ण हुन्छ असार महिना । स्थानियहरुले पनि असार महिनालाई महत्वका साथ हेर्ने गरेका छन् । यो वर्षको असार महिना मात्रै गुल्मीले ११ महिनामा नगरेको काम गर्नुपरेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
जिल्लाका बाह्रै स्थानीय तहहरुले अन्य ११ महिनामा गर्ने काम र खर्चिने बजेट बराबर मात्रै असार महिनामा गरेको र बजेट भुक्तान गरेका पनि छन् । अन्य समयमा दैनिक ६ र बढीमा ७ घण्टा काम गर्ने स्थानिय तहहरु अहिले भने दैनिक १२ घण्टा काम गर्छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका अहिले उज्यालो हुने समय पुरै खुल्छ । भुक्तान प्रक्रिया मिलाउनुपर्ने र योजनाहरु छिट्टै सक्नुपर्नेभएकोले बिहान देखि साँझसम्म कार्यालयमा रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र बहादुर थापाले बताए ।
त्यस्तै चन्द्रकोट गाउँपालिका पनि बिहानै देखि साँझसम्म खुल्ला नै रहन्छ । योजनाहरुलाई सकाएर भुक्तान दिनुपर्ने तथा कार्यालय कै धेरै कामले गर्दा साथै आउँदो आर्थीक बर्षको लागि विभिन्न तयारी गर्नुभएकोले बिहानदेखि साँझ सम्म कार्यालय मै रहेर काम गर्ने गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले जानकारी दिए ।
त्यस्तै जिल्लाको मालिका गाउँपालिकाले पनि सुचना जारी गर्दै बिहान सात बजेदेखि नै साँझ सात बजेसम्म कार्यालय खुल्ला रहने र सेवा दिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दीपक भण्डारीले जानकारी गराए ।
अन्य ११ महिनामा ६ वा ७ घण्टा कार्यालयमा दिन बिताएका कर्मचारी अहिले दैनिक १२ घण्टा कार्यालयमा बिताउँदै छन् । दैनिक १२ घण्टा कार्यालयमा बसिरँहदा र काम गरिरहँदा कर्मचारी हैरानी नै बनेका छन् । तर यसै बिषयलाई जे जस्तो भएपनि काम त गर्नु नै पर्यो भन्ने कर्मचारीहरुको प्रतिक्रिया रहेको छ ।
रेसुङ्गा नगरपालिकाले पनि कार्यालय मै काम गरिरहँदा साँझ रातिसम्म पनि गर्नेगरेको छ । साथै गुल्मीका सबै स्थानीय तहहरुले अहिले योजनाहरुलाई सक्ने, बजेट भुक्तान गर्ने तथा आउँदो आर्थिक वर्षमा गरिने तयारी गरिरहँदा बिहानदेखि साँझसम्म काम गरिरहेका छन् ।
यसरी गरेका कामहरू प्राय फितलो प्रक्रियाका रहेका छन् भने गरेका कामका गुणस्तर पनि कमजोर नै छन् ।