gulminews logo
शनिबार, २०८१ बैशाख १५

१५ करोडको लागतमा कालीगण्डकीमा बन्जी जम्प

पौष,२८ । पर्वतमा त्यहाँका केही स्थानीय युवाले १५ करोड लगानीमा मुलुककै नमुना ‘बन्जीजम्प’ सञ्चालनमा ल्याउन लागेका छन् । संसारकै गहिरो खोंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने गरी विश्वकै अग्लो झोलुंगे पुल निर्माण गरेर बन्जीजम्प निर्माण गर्न लागिएको हो ।

पाँच सय १५ मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पानको झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बन्जीजम्प निर्माण अन्तिम चरणमा पुगेको हो । स्थानीय व्यवसायीको लगानी तथा फ्रान्सेली नागरिक फ्लोरेन्सको अवधारणामा मुलुककै उत्कृष्ट साहसिक खेल सञ्चालनमा आउन लागेको लगानीकर्ताहरूको दाबी छ ।

०७३ वैशाखमा थालेको बन्जीजम्पको निर्माण कार्य ७० प्रतिशतजति सकिएको छ । बन्जीजम्पसँगै उनीहरूले स्काई साइक्लिङ, स्विङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्टसमेत सञ्चालनको तयारी गरेका छन् । रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गा खरिद गरिएको उनीहरूले बताए । बन्जीजम्प विश्वकै दोस्रो तथा स्काई साइक्लिङ र स्विङ विश्वकै अग्लो हुने लगानीकर्ताहरूको दाबी छ । ‘विश्वकै अग्लो बन्जी चाइनामा रहेछ,’ प्रमुख लगानीकर्ता राजु कार्कीले भने, ‘स्काई साइक्लिङ र स्विङमा हामी संसारकै अग्लो हुनेछौं ।’

‘द क्लिफ प्रालि’ नामक कम्पनीमार्फत लगानी गरेका उनीहरूले जिल्लालाई साहसिक पर्यटकको ‘हब’ बनाइने दाबी गरेका छन् । बन्जीको काम अबको ६ महिनामा सकिने जनाइएको छ । एक वर्षको अवधिमा दुवैतर्फ बेस निर्माण भइसकेको छ । स्काई साइक्लिङका लागि संरचना तयार भएको छ । मुख्य लठ्ठा तान्ने काम एक साताभित्र सक्ने लक्ष्य रहेको लगानीकर्ता नेत्र पराजुलीले बताए । ‘लगानीबाट मुनाफाभन्दा हामीले जिल्लालाई चिनाउन खोजेका हौं,’ पराजुलीले भने, ‘लगानी गरेपछि प्रतिफलको अपेक्षा त नहुने कुरै भएन ।’

उनीहरूले यो कम्पनीमार्फत बन्जी, स्काई साइक्लिङ र स्विङमा मात्रै ६० हजार आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । ‘हाम्रा अधिकांश ग्राहक नेपाली नै हुन्,’ कार्कीले भने, ‘विश्वभरका साहसिक पर्यटकलाई यहाँको पहिचान गराउन सके हामी सफल हुन्छौं ।’ बन्जीको क्षमता दैनिक दुई सयजनाको छ । झोलुंगे पुलबाट एकपटकमा ६ सय जनासम्म वारपार गर्न मिल्छ ।

बन्जीको मुख्य प्रवेशद्वार पर्वतको कुस्मातर्फ ३ आना जग्गा खरिद गरेर प्रवेश घर निर्माण भइरहेको छ । बलेवामा २५ रोपनी जग्गा खरिद गरिएको छ । ‘त्यहाँ एडभेन्चर स्टाइलको रिसोर्ट र स्विमिङ पुल बन्छ ।’ लगानीकर्ता राजन जोशीले भने । लगानीकर्ताहरूले बलेवावाट मुलाबारीसम्म ट्ेरकिङ रुटको खोजी पनि गरिरहेका छन् । यहाँ आउने पर्यटकहरूलाई कम्तीमा ३ दिनसम्म ट्ेरकिङको व्यवस्था गर्ने लक्ष्य रहेको बताइएको छ । पोखराबाट नजिकै र मुस्ताङको प्रवेशद्वार भएकाले यहाँको बन्जीमा पर्यटकहरूको ओइरो लाग्ने अनुमान लगानीकर्ताहरूको छ । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सञ्चालन भइसकेकाले यहाँ भारतको बाटो हुँदै पनि पर्यटक आउने अपेक्षा छ ।
समाचार श्रोत: कान्तिपुर अनलाइन

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D