प्रेम सुनार
गुल्मी, असार । गुल्मीको मुसिकोट नगरपालिका भित्रको एक दलित बस्तीमा जनप्रतिनिधीहरुले ल्याएको परिवर्तनका रिर्पोटिङ्ग गर्न पुग्दै गर्दा एक जना बृद्धलाई त्यो परिवर्तनको मतलव नै थिएन । उनलाई आफ्नी ११ वर्षकी छोरी २० वर्षको केटासंग भागी विहे गरेर गएको चिन्ताले सताईरहेको थियो ।
त्यस नगरपालिका वडा नम्वर ९ अर्लाङ्गकोट स्थित उर्लेनी दलित बस्तीको कुरा हो यो । विकास निर्माण तर्फको रिर्पोटिङ्ग गर्न त्यस वस्तीमा पुगेको यस संबाददातालाई ति वृद्धको त्यही कचकचले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै लागि बनाईरहेको थियो ।
सोध्दै छु एउटा कुरा, उनि अर्को कुरा दोहराउँदै भन्छन्, ‘ए हजुर पहिला मेरो कुरा त सक्न दिनुस्, मेरो छोरी त होईन वितेको मेरो भाई कि छोरी हो, मैले पालेको थिएँ तर २० वर्षको केटासंग ११ वर्षकी त्यो छोरी अँस्ती विहे गरेर हिँडी हजुर के गरम ?’
त्यसरी नावालिका छोरीले विहे गरेर हिँडेको चिन्ता गर्दै थिए ५५ वर्षिय तिर्थ बिकले ।
त्यसरी असार १७ गते छिमेकी जिल्ला वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ८ थालेपोखराका १८ वर्ष उमेर बताईने दलबहादुर बिकसंग विहे गरेर जाने वालिका थिईन् अनुजा बिक (नाम परिवर्तन ) ।
आश्चर्य लाग्यो । साँच्ची होला र ? भनेर त्यस दलित बस्तीका अगुवा नन्द बिकलाई सोधियो । उनले भने–‘हो त नि, ललाई फर्काई ११ वर्ष पुगेर भर्खर १२ मा टेकेकी ति वालिकालाई बिहे गरेर लगेको पुष्टि भई सकेको छ । ’
पत्रकार आउने भने पछि स्थानियवासी धेरै जना जुटेका थिए । अरुको चिन्ता पनि उनै वालिका विहे गरेर गएको प्रति थियो । धेरै महिलाले भन्दै थिए त्यति सानी वालिका कसरी विहे गरेर जान सके होलिन भनेर ।
गत वर्ष मात्रै त्यस गाउँकी १४ वर्षकी अर्की वालिका विहे गरेर जाँदा चकित परेका त्यस टोलका मानिसहरु ११ वर्षकी वालिका आफै विहे गरेर जाँदा थप चकित परेको देखिए । ति १४ वर्षको उमेरमा विहे गर्ने उनि त्यसको सात दिन नपुग्दै सम्वन्ध विच्छेद गरेर माईतीमा अलपत्र परेकी छन अहिले ।
उनले गला अवरुद्ध पार्दै भनिन्, ‘सवैले फकाए केरे, राम्रै होला भनेर गएँ, त्यहाँ पुग्दा मन नपरे पछि फर्केर आईकी हुँ ।’ उनलाई शान्तिपुरस्थित विवाह गरी लैजानेसंग कोठामा जान भनेको तर आफुले नमानेर झुण्डिएर मर्छु भने पछि माईती फर्किने वातवरण बनेको बताईन ।
वडा सदस्य फुलमति बिक भन्दै थिईन उनि आफु खुशी विहे गरेर गईन र आफु खुशी नै एक हप्तामा सम्वन्ध विच्छेद गरिन । त्यस दलित वस्ती सुधार कार्यक्रमका अध्यक्ष समेत रहेका नन्द बिक भने त्यो स्वीकार गर्दैनन ।
उनि भन्छन्, ‘यी दुवै वालिकाहरु भित्रि मनले चाहेर गएका होईनन् । कसैले ललाई फकाई गरेर पठाएका हुन् । यसको अन्त्य हुनै पर्छ । यहाँका अभिभावकहरुले २० वर्ष ननाघे सम्म छोरीको विहे गराउने गरेका छैनन् । लौन यो कुरा सञ्चार माध्यममा राखी दिनु प¥यो । ताकि ललाई फकाई वालविवाह गराउने काममा कमी आउँथ्यो कि ?’
टेलिफोनमा ति वालिका संग सम्पर्क राख्दा उनले १६ वर्षे बैंसको ध्वाँसा दिईन् । उनले भनिन् कसले भन्यो ११ वर्ष ? म त १६ वर्षकी भएँ । मैले पहिल्लै देखि केटालाई माग्न पठाउन खोजेकी थिएँ । तर घरमा कसैले दिन मानेन, त्यसैले म आफै राजीखुशी हिडेकी हुँ । हाम्रो पहिल्लै देखि सम्वन्ध थियो । उहाँ अहिले ढुङ्गा बोक्न जानु भएको छ । दु:ख पाए मात्र म तपाईहरुलाई खोज्न आउने छु । हामीलाई छुटाउने कोशिस कसैले नगरुँन ।’
त्यस वडा नम्वर ९ मा उनको जन्म दर्ता हेर्दा पनि उनको उमेर ११ वर्ष १० महिना भएको रहेछ । २०६३ साल भदौं २५ गते जन्मिएको उक्त जन्मदर्तामा उल्लेख छ ।
उनका वावु आमाको उनि सानै छँदा मृत्यु भएपछि उनि जेठा वुवाको संरक्षणमा हुर्किदै आएकी थिईन । उनको शारिरक बिकास पनि गत वर्ष विहे गर्ने ति १४ वर्षकी वालिकाको भन्दा धेरै कम र अवोध देखिन्छ ।
उनले धेरै पहिला देखि ति युवासंग सम्वन्ध थियो अर्थात प्रेम सम्वन्ध थियो भन्दा उनको उमेर त्यस्तो सम्वन्धको १० वर्षको उमेर देखि भएको देखिन्छ । पुरानो पिँढीका छोरीहरुलाई अभिभावकले जवरजस्ती ९, १० वर्षको उमेरमा विवाह गराई दिने र वाउ आमाको नाक राख्न कै लागी कष्टकर रुपमा कहरले घर गर्ने गर्दथे ।
तर अहिले त्यही उमेरका छोरीहरु रहरले आफै विहे गर्न थाल्नुलाई युगले दिएको शाररिक विकास र विपरित लिङ्ग प्रतिको उत्कट आकर्षण भनेर ब्याङ्ग गर्न थालिएको छ । केहि दिन अघि गुल्मी कै एक प्रहरी चौकीमा केटीले केटो भगाई भन्ने उजुरी परेको थियो ।
यसबाट अव केटाले केटी होईन, केटीले केटो भगाउने चलन आउन थालेको संकेत मिलेको छ । ति वालिकाले पनि असार १५ गते केटा झिकाएर भागेकी थिईन । उनका ससुराले उनि असार १७ गते वुहारी बनेर घर भित्रिएको बताएका छन् ।