अनिल खत्री
गुल्मी, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी गुल्मीको अध्यक्ष र सचिवमामा हेरफेर भएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कमिटिले गत साउनमा गुल्मी जिल्ला अध्यक्षमा तत्कालिन नेकपा एमालेबाट पार्टी सहसचिव रहेका बालसिंह काउछा र तत्कालिन माओवादी केन्द्रबाट जिल्ला सचिव बुद्धि जिसीलाई सिफारिस गरेको थियो ।
तर पुनः पार्टीले जिल्ला अध्यक्षा र सचिवमा नयाँ नाम सिफारिस गरेको छ । सोमबार पार्टी एकताको घोषणा गर्दै जिल्ला अध्यक्षमा तत्कालिन नेकपा एमाले गुल्मी जिल्ला कार्यबाहक अध्यक्ष समेत रहेका मधुकृष्ण पन्त र तत्कालिन माओवादी केन्द्रबाट जिल्ला अध्यक्ष रहेका बिरबहादुर कार्की चाहललाई सचिवमा सिफारिस गरेको हो ।
यस अघि सिफारिस गरिएका अध्यक्ष र सचिवको ठाउँमा नयाँ नाम सिफारिस भएपछि पुराना अध्यक्ष र सचिवको पद बदर भएको छ । हाल सिफारिस गरिएका अध्यक्ष पन्त छत्रकोट गाउँपालिका अध्यक्ष हुन् ।
पुरानो कमिटिले गुल्मी जिल्लामा भने पार्टी एकताको कामलाई तिब्र गतिमा गरेर सबै काम पुरा गरिसकेको थियो । जिल्लामा रहेका सवै स्थानीय तहमा कमिटीलाई पूर्णता दिने काम सम्पन्न भइसकेको तत्कालीन सचिव बुद्धि जिसीले बताए ।
जिल्लामा रहेका १२ वटै स्थानिय तह र ९३ वटा वडामै पार्टी एकिकरणको काम सम्पन्न भइसकेको तत्कालिन अध्यक्ष बालसिंह काउछाले बताए । केहि टोलहरुमा पनि टोल कमिटिहरु निर्माण गरिएको काउछाले बताए ।