गुल्मी । गुल्मी र बागलुङको सीमा क्षेत्र गल्कोट नगरपालिका–११ रिघामा करिब २ अर्बको लागतमा ९.६ मेगावाट क्षमताको विद्युत् उत्पादनको काम तीव्र गतिमा भइरहेको छ ।
१ अर्ब ८८ करोडको लागतमा विद्युत् उत्पादनको काम भइरहेको छ । सिभिल वर्कको ठेक्का रामेछाप शेर्पा कन्सट्रक्सनले लिइरहेको छ भने हाइड्रो मेकानिकल कामको जिम्मा नर्थ हाइड्रोले पाएको छ । करिब १६ महिनाको अवधिमा विद्युत् उत्पादनको काम पूर्ण गरी केन्द्रीय प्रसारणलाइनमा जोडिने छ । वैशाखबाट निर्माण थालिएको सो आयोजनाको बाँध निर्माणको काम दुई महिनादेखि तीव्र गतीमा भइरहेको छ ।
आगामी असार मसान्तसम्म पाइपलाइन विस्तार गर्ने काम ५० प्रतिशत सम्पन्न हुनेछ भने करिब ४२ सय ५० मिटर पाइप विस्तार गरी मनेवामा पावरहाउस निर्माण गरी ९.६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको छ ।

विद्युत्का लागि लगानी भने ३० प्रतिशत स्थानीय तथा बाँकी ७० प्रतिशत बंैकले गर्ने भएका छन् । जसअनुसार ५७ करोड रुपैयाँ स्थानीयले जम्मा गर्नेछन् र जसका लागि ७ कम्पनीले लगानी जुटाउने छन् । बाँकी विभिन्न बंैकमार्फत ऋण लगानी हुनेछ । स्थानीयले हालसम्म आफूहरूले जम्मा गर्नुपर्ने रकमको ५० प्रतिशत अर्थात् करिब ३० करोड रुपैयाँ उठाइसकेका छन् भने लगानी जुटाउने क्रम जारी छ ।
केही महिनापछि पावरहाउसको काम सुरु गरिने र आगामी १६ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी विद्युत् उत्पादनको तयारी भइरहेको दरमखोला हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष तथा पूर्वसांसद निरज पुनले जानकारी दिए । -कारोबार दैनिक