gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको दर्लामचौरमा तेलभन्दा पानी महंगो ?

गंगा खड्का
गुल्मी, पुस १७ । इस्मा गाउँपालिका–३ दर्लामचौरकी निशा विक १२ वर्षकी भइन् । गाउँकै विद्यालयमा तीन कक्षामा पढछिन् । पढ्दापढ्दैको कलिलै उमेरमा उनलाई एउटा बाध्यता छ । विहान बेलुका पानी नबोक्दा सम्म उनी विद्यालय जान पाउँदिनन् । विकलाई पानी बोक्ने रहर भन्दा बाध्यता हो । विहानै चारबजेदेखि उनी पानी भर्नका लागि लाइनमा बस्छिन् ।

विद्यालय जानुभन्दा अगाडी दुई गाग्री र विद्यालयबाट फर्केपछि एक गाग्री पानी उनले दैनिक बोक्दै आएकी छिन् । ‘विहान बेलुका पानी बोक्दाबोक्दै वित्छ’,विकले भनिन्,‘सरहरुले दिएको होमवर्क पनि गर्न पाउदिन् ।’ आफूसँगैका धेरै साथीहरु पानी बोक्न आउने गरेको उनले दुःखेसो गरिन् । करिव एक घण्टा टाढाको दुरीबाट गाउँका धेरै बालवालिकाहरुले डोकामा खानेपानी बोक्दै आएका छन् ।
दर्लामचौर क्षेत्रमा पर्ने करिव एक सय घरधुरीले खानेपानीको चरम समस्या भोग्दै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीय घण्टौ समय लाग्ने टाढाको दुरीमा रहेको कालीरहबाट खानेपानी बोक्ने गरेका छन् । बालवालिका र बृद्धबृद्धाहरुले धेरै समस्या झेल्दै आएका छन् ।
water shortage gulmi
सोही ठाउँकी तेजकला भुषाल ८० वर्षकी भइन् । उनले आफूले देख्दा, भोग्दासम्म डोकामा पानी बोकेर गुजारा गरिन् । उमेर छदासम्म उनले आफैँ पानी बोकेर घरमा ल्याउथिन् । हिजोआज हिडडुल गर्न नसकेपछि उनलाई छोराबुहारीले पालनपोषण गर्छन् । विगतका दिन सम्झँदै भुषालले आफुले भोगेको खानेपानीको समस्याको पीडा छोराबुहारी र नातीनातिनाहरुले पनि खेप्दै आइरहेको बताइन् ।

‘पुस्तौदेखि गाउँमा खानेपानीको समस्या छ’,भुषालले भनिन्, ‘अहिलेसम्म समस्या ज्यूँका त्यूँ छ । गाउँमा खानेपानी कहिले आउला ?’ गाउँमा तेलभन्दा खानेपानी महंगो जस्तै हुन थालेको उनले बताइन् । ‘बरु तेल त किनेर खान पाइन्छ’, उनी भन्छिन्, ‘पानी किनौ भन्दा पनि पाइदैन ।’

स्थानीयले गाउँमा खानेपानीको समाधान गर्नका लागि वर्षौदेखि माग गरेपनि अझैसम्म प्रभावकारी पहल कसैले नगरेको गुनासो गरेका छन् । बसेनी सामुदायिक वनको अप्ठ्यारो बाटोहुँदै गाउँलेले खानेपानी बोक्ने गरेका छन् । साँघुरो गोरेटो बाटोमा जोखिम उस्तै रहेको स्थानीयले गुनासो गरे ।

‘पाँच÷छ ठाउँमा बिसाएर घरसम्म पानी पु¥याउनुपर्छ’,स्थानीय ३६ वर्षिय देवकला विकले भनिन्,‘गाउँमा पानी आउला भन्दाभन्दै आधा उमेर वितिसक्यो । कन्नामा खाला गैसके अझै पानी आएन ।’ पञ्चायतकालदेखि खानेपानीको समस्या भोगीरहेका गाउँलेहरुको दुःखमा कसैले साथ नदिएको गुनासो गरेका छन् ।

स्थानीय तहमा सरकार आएकाले अवदेखि आफूहरुको मागप्रति सम्वन्धित निकाय गम्भिर बन्नेमा उनीहरुले आशा व्यक्त गरेका छन् । धेरै पुस्ताहरु हुर्किदासम्म पनि गाउँमा खानेपानीको समस्या जस्ताको त्यस्तै रहनुमा गाउँलेहरु निराश बनेका छन् । विकासका अन्य पूर्वाधारले गाउँ अगाडी भएपनि खानेपानी समस्याले गर्दा सवै कुरा अँधुरैजस्तै रहेको स्थानीयको प्रतिक्रिया छ ।

बस्तीदेखि तल पानीका मुहान भएका कारण गाउँमा खानेपानी ल्याउन समस्या भएको वडाअध्यक्ष तोयनाथ सापकोटाले जानकारी गराएका छन् । ‘धेरैवर्षदेखि गाउँमा पानीको समस्या भोग्दै आएका छौँ’,उनले भने,‘खानेपानीलाई सहज बनाउन सवैले ध्यान दिनेछौँ ।’ झण्डै दुईवर्षदेखि निर्माणधिन अवस्थामा रहेको गुरासे लिफ्टिङ खानेपानी आयोजनालाई पूर्णता दिनतर्फ पहल थाल्ने समेत उनले जानकारी गराए ।

गाउँलेले अन्य क्षेत्रमा विनियोजन गर्ने बजेटलाई कटौती गरेर भएपनि खानेपानीमा बढाउन आग्रह गरेका छन् । गाउँको मुख्य समस्या खानेपानी भएकाले यसतर्फ निर्वाचित सांसद् र जनप्रतिनिधीहरु गम्भिर बन्न गाउलेको आग्रह छ । पानीको समस्याले गर्दा स्थानीयको स्वास्थ्य अवस्थामा समेत असर परेको छ ।

गाउँलेले नियमित सरसफाई गर्न पाएका छैनन् । गाउँकै बीचमा संचालनमा हरेको ठाडढुंगा माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षकहरु अझ प्रभावित भएका छन् । गाउँलेहरुको एउटै माग छ,‘अरु क्षेत्रको विकास पछि गरौँला, खानेपानी छिट्टै ल्याइदेऊ ।’ दर्लामचौर गाउँ नेकपा एमालेका केन्द्रिय सचिव एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद् गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्छ ।

विष्टको जन्मगाउँ दोहोलीदेखि करिव आधा घण्टाको दुरीमा यस गाउँ रहेको छ । गाउँलेका अनुसार सांसद् विष्टले यसअघि निर्वाचन भएपछि पनि खानेपानी निर्माणका लागि बजेट विनियोजन गरेका थिए । तर, निर्माणको जिम्मा पाएका ठेकेदारहरुको ढिलासुस्तीले गर्दा गाउँमा खानेपानीको सुविधा हुन नसकेको पाइएको छ । निर्माणधिन अवस्थामा रहेको लिफ्टिङ योजनालाई छिट्टै पुरागर्नतर्फ अवका जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने स्थानीयको माग छ । -एकता न्युज डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D