टोपलाल अर्याल
गुल्मी, ७ बैशाख
नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई जिन्सी सामग्री प्रदान गरेको छ । आफ्नो २९ औ स्थापना दिवसको अवसरमा कारागारका कैदी बन्दीको आवश्यकताका आधारमा दुई वटा बाल्टी र दुई वटा ठुला डेक्ची वितरण गरिएको संगठनका सहसचिव ओम बहादुर थापा क्षेत्रीले बताए ।
प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले कारागारका नाइके दिपक खड्कालाई सामग्री हस्तान्तरण गरे । सामग्री हस्तान्तरणपछि कार्यक्रमलाई संबोधन गर्दै जिसस प्रमुख पराजुलीले निर्वाचित भएपछि कारागारमा पहिलो पटक पुगेकाले त्यहाँका आवश्यता पुरा गर्न पूर्ण प्रतिवद्ध रहेको बताए । साथै उनले कर्मचारीहरुमा नैतिकता र कर्तव्य निष्ठामा खडेरी पर्दै गएकाले केहि सच्चिन आग्रह गरे । ‘कर्मचारी र जनप्रतिनिधीको समन्वय र सहकार्य अहिलेको आवश्यकता हो,’उनले भने,‘निजामती कर्मचारी संगठनले त्यसको अगुवाई गर्नुपर्छ ।’
त्यस्तै रेसुङ्गा नगरपालिकाका मेयर भुसालले कर्मचारी पार्टीको लागि भन्दा जनताको लागि समर्पित हुनुपर्नेमा जोड दिए । उनले संगठन बलियो बनाएर नेताको चाकडी भन्दा जनातको सेवामा लागे मात्रै त्यो कर्मचारी सवैको प्रिय बन्न सक्ने बताए । ‘अझै पनि कर्मचारीले नागरिकलाई दुख दिन छाडेका छैनन,’ उनले भने,‘ पार्टीको झण्डा बोकेर हिड्नु पर्दैन, संगठन बलियो बनाएर जनताका काम गर्नुस ।’ संगठनको ५ नं प्रदेशका अध्यक्ष दधिराम मरासनीले स्थायी र बलियो सरकार निर्माण भएकाले कर्मचारी अझै पनि निराश र हतास हुनुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले संगठन सुखमा भन्दा दुखमा चाहिने भएकाले त्यसको निर्माण गर्न र क्रियाशिल बनाउन जिल्ला कार्यसमितिलाई आग्रह गरे ।
कर्मचारी संगठनका जिल्ला अध्यक्ष राम प्रसाद पन्थी तथा निमित्त जिल्ला कारागार प्रमुख राम प्रसाद पन्थीले कारागारमा कैदी बन्दीले भोगेका समस्याका बारेमा जानकारी गराएका थिए । जिल्ला कारागारमा अहिले महिला सात र पुरुष ५७ र दुई आश्रित बालबालिका गरी ६६ जना रहेका छन् । कार्यक्रम कर्मचारी संगठनका अध्यक्ष पन्थीको अध्यक्षता, बोम अर्यालको स्वागत तथा सहसचिव ओम बहादुर थापा क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।