बिकासका कुरा

मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने

प्रकाश सिलवाल
मुसीकोट, गुल्मी । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ ।

तत्कालीन बाइसे-चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो ।

नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार भ्यु टावर निर्माणका लागि चालू आर्थिक वर्षमा रु आठ लाख वजेट विनियोजन गरिएको छ । संग्रहालय निर्माणका लागि रुरु–रेसुङ्गा विकास समिति, पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले निरीक्षण र अनुगमन गर्ने भएका छन् । विस्तृत अनुगमन र सर्वेक्षणपछि केन्द्रीय बजेटमा थप हुने अपेक्षा नगरपालिकाको छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा पर्ने सो दरबार क्षेत्रमा तारबार लगाउने काम पनि शुरु भएको छ । दलहरुले यसको संरक्षण र प्रवद्र्धनका लागि चुनावी मुद्दा बनाउँदै आएका छन् ।

छिमेकी भारतबाट विसं १५०० तिर आएका विजयसिंह ठकुरीले यहाँ शासन गरेका थिए । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सिंहहरुको राज्य गुमेको थियो । दरबारमा रहेको श्री खड्गदेवीको मन्दिरमा हरेक महानवमीका रात मेला लाग्छ भने मेलामा हुने सराय नाच लोकप्रिय मानिन्छ । पाँच रोपनी क्षेत्रफलमा रहेको यो क्षेत्रलाई पुरातत्व विभागको संरक्षण क्षेत्रमध्येको ग श्रेणीमा राखिएको छ ।

मन्दिरका पूजा व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष पदमसिंह ठकुरी दरबार क्षेत्रलाई थप पर्यटकीय र धार्मिक महत्वको स्थल बनाउनुपर्ने बताउनुहुन्छ । दरबारको छानो उडेकाले हाल त्यसमा पुरातात्विक महत्व झल्कने गरी झिँगटीले छाइएको छ । दरबार क्षेत्र र आसपासमा हाल खानेपानीको अभाव भएकाले स्थानीय बासिन्दा मर्कामा छन् ।

नजिकैको पृथ्वी मावि, बाडगाउँका शिक्षक बाबुराम घिमिरे पनि मन्दिरमा परम्परा धान्ने संस्कृतिले निरन्तरता पाए यसलाई आधुनिकीकरण गरी पर्यटक आकर्षित गराउन सकिनेमा जोड दिन्छन् । सामाजिक विषयका आफ्ना विद्यार्थीलाई दरबारस्थलमा समय समयमा भ्रमण गराउने गरिएको उनी बताउछन्।

बाँडगाउँकै विष्णुकुमारी विक सो क्षेत्रमा खानेपानीको समस्या हुँदा आफूहरु दुई घण्टासम्मको उकालो ओरालो गरेर पानी ओसार्न बाध्य भएको गुनासो गर्छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D