समाचार

ईस्मा गापाले पनि दियो १ सय ३१ जनालाई ३० दिनको रोजगारी: पुरै दिन काम गर्नुपर्ने, बैंक खाता अनिवार्य

हुमाकान्त पोखरेल
गुल्मी, २२ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगार प्रदान गरेको छ । जसमध्ये वडा नम्बर १ र २ बाट १०÷१० जना, ३ बाट ३३ जना, ४ बाट ४३ जना रहेका छन् । त्यस्तै वडा नम्बर ५ र ६ बाट २०÷२० जनालाई रोजगार प्रदान गरिएको छ । रोजगार पाएकामध्ये महिला ३८ जना र पुरुष ९३ जना रहेको गाउँपालिकाका रोजगार संयोजक गणेश कुँवरले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तरगत पहिलो चरणमा एक महिनासम्म रोजगार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको बुधबार गाउँपालिका अध्यक्ष लक्षमण विष्टले औपचारिक रुपमा उद्घाटन गरे । पहिलो चरणमा रोजगारी पाएकामध्ये सबै श्रमिकहरुलाई सडकको क्षेत्रमा काम लगाइने गाउँपालिकाले जनाएको छ । श्रमिकले नेपाल सरकारले तोकेअनुसारको दैनिक पाचँ सय १७ रुपैँयाका दरले एक महिनाको १५ हजार पाचँ सय १० प्राप्त गर्नेछन् ।

गाउँपालिकामा २०७५ चैत १ गतेदेखि वैशाख मसान्तसम्म वडा कार्यालयमार्फत बेरोजगारीको तथ्याकं संकलन गरिएको थियो । जसमा १७ सय बढीले फारम भरेका थिए । फारम भरेकाहरुमध्ये रोजगार सेवा केन्द्रको रोहवरमा सम्बन्धित वडा कार्यालयले श्रमिक छनोट गरेको थियो । जसमा निर्वाहमुखि कृषि गरिरहेको, वैदेशिक रोजगारबाट फर्केको, अति कम आम्दानी हुने तथा न्यून वर्गको आधारमा छनोट गरिएको रोजगार संयोजक कुवँरले जानकारी दिए ।

श्रमिकको मजदुरी बैंक खातामा
यसरी छनौट भएका श्रमिकहरुको मजदुरी खातामा जम्मा हुनेछ । जसका लागि प्रत्येक श्रमिकले बैंकमा खाता खोल्नुपर्ने र गाउँपालिकाले उनीहरुको खातामै रकम जम्मा गरिदिनेछ । यो कार्यक्रम अन्तरगत श्रमिकले ३० दिन नै काम गर्नुपर्ने छ । अन्यथा काम गरेको समयअनुसार श्रमिकले ज्याला पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । कामको लागि प्रत्येक १० देखि १५ जनाको एउटा समुह हुनेछ । समुहले टोलि नेताको नेतृत्वमा दैनिक ८ घण्टा काम गर्नुपर्ने बस्नेतले बताए ।

सरकारले विभिन्न नौ वटा क्षेत्रमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तरगतका श्रमिकलाई काम लगाउने छ । जसमा सडक मर्मत तथा निर्माण, कृषि, सिँचाई, ग्रामिण क्षेत्रका खानेपानीको योजना, स्वास्थ्य तथा सरसफाई रहेका छन् । त्यस्तै विद्यालयका भवन वा वगैचा निर्माण, बन तथा जलाधारको क्षेत्र, पर्यटनको क्षेत्र र स्थानीय आवश्यकताका आधारमा स्थानीय सरकारले निर्णय गरेका क्षेत्रहरुमा श्रमिक काममा जानुपर्ने बस्नेतले जानकारी दिए ।

नेपालको संविधानको धारा ३३ मा रोजगारिको हक उल्लेख गरिएको छ । जसमा रोजगारीका सर्त, अवस्था र बेरोजगार सहायता संघिय कानुनबमोजिम हुने, प्रत्येक नागरिकलाई रोजगारिको छनौट गर्न पाउने हक हुने उल्लेख गरिएको छ । यसै कुरालाई मध्यनजर गर्दै स्थानीय स्तरमै आन्तरिक रोजगारिको व्यवस्था गरिएको हो ।

१७ सयलाई रोजगारी दिने तयारी
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले आगामी बर्षहरुमा फारम भरेका सबै १७ सयलाई नै रोजगारी दिनेगरी गाउँपालिकाले योजना बनाएको बताए । सडक, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा रोजगारी प्रदान गरिने उनले बताए । यसभन्दा अगाडी गाउँपालिकाले २० जना लेन्थ वर्कर नियुक्त गरी रोजगार प्रदान गरेको बताउदैँ आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई अगाडी बढाउने उनको भनाई छ । ‘निर्वाचनताका पनि रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता गरेका थियौँ ।’ उनले भने, ‘प्रतिवद्धता पुरा हुँदै गएको छ ।’
नेपाल कम्युनिष्ट पार्टी इस्मा गाउँपालिकाका अध्यक्ष नारायण पैँयानीले यो एउटा खुसिको क्षण भएको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाका सभापति चन्द्र बहादुर महतले कार्यक्रम स्वागतयोग्य रहेको बताउदैँ यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गाउँमै काम पाउदाँ खुसि
इस्मा गाउँपालिका १ का ५१ बर्षिया टिका बहादुर कुँवर १० बर्ष रोजगारीकै लागि विदेश बसे । घरमा आएको बेला गाउँपालिकामा बेरोजगारीको फारम खुलेको थाहा पाएपछि उनले फारम भरे । वडाको प्राथमिकतामा उनी छनोट पनि भए । आफ्नै ठाउँमा काम पाउदाँ उनले विदेश जाने योजना स्थागित गरे । ‘घरमै आएको बेला फारम खुलेको रहेछ, स्थानीय जनप्रतिधिले भनेपछि फारम भरे ।’ उनले भने, ‘विदेश फर्कने सोचमा थिए, तर अब यतै काम गर्छु ।’ निर्वाचनताका नेताहरुले रोजगारीको व्यवस्था गर्ने कुरा उनलाई विश्वास लागेको थिएन । तर अहिले आफैले रोजगार पाउँदा भने आफु हर्षित भएको प्रतिक्रिया दिए । वडा नम्बर का ४ टेक बहादुर नेपालीले पनि यो कामले आफुलाई राहात प्रदान गरेको बताए । राज्यले आफुजस्ता बेरोजगार युवाहरुको लागि एक महिनाहरुको लागि मात्र नभएर दीर्घकालसम्म रोजगारीको व्यवस्था गर्नुपर्ने उनले बताए ।

समान ज्यालाले महिला खुसि
धेरैजसो कामका क्षेत्रहरुमा महिलाको भन्दा पुरुषको ज्याला बढी हुने गर्दछ । तर प्रधानमन्त्री रोजगार कार्यक्रममा समान ज्याला भएपछि महिलाहरु पनि खुसि भएका छन् । ‘काम एउटै तर ज्यालामा आधा फरक हुन्थ्यो ।’ इस्मा गाउँपालिका ६ कि संगिता गौतमले भनिन्, ‘यो कार्यक्रममा समान ज्याला रहेछ, खुसि लाग्यो ।’ समान ज्यालाले गर्दा आफुहरुजस्ता महिलाहरुलाई काम गर्न पनि हौसला बढ्ने उनले बताइन् । कार्यक्रम गाउँपालिका अध्यक्ष विष्टको अध्यक्षता, रोजगार संयोजक कुँवरको स्वागत मन्तव्य तथा गाउँपालिकाका नायब सुब्बा भिम पोखरेलको संचालनमा सम्पन्न भएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D