गुल्मी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चैतको तेस्रो साता गुल्मी आउने भएका छन् । गुल्मीको महेन्द्र आर्दश माध्यमिक विद्यालयको हिरक महोत्सवको पाँचौ दिनलाई सम्वोधन गर्न फागुनको १७ गते गुल्मी आएका कोईराला चैत १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पुन: गुल्मी आउने भएका हुन् ।
महामन्त्री कोइरालाले गुल्मीका अलावा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमणको कार्यक्रम समेत तय गरेका छन् । महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ ।
कोइराला दाङमा जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा सहभागि हुनका लागि चैत्र ११ गते दाङ जानेछन् । कोइरालाले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव एंव कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए ।
महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलबस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नेछन्।
त्यसैगरि कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई १६ गते सम्बोधन गरि गुल्मी जानेछन् । चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर कोइराला काठमाडौं फर्कने कार्यक्रम रहेको तिवारीले जानकारी दिए ।