हुमाकान्त पोखरेल
गुल्मी, ०१ फागुन । गुल्मीका गाउँगाउँमा रेडियोहरुले प्रभावकारी भूमिका खेलेको पाइएको छ । गाउँगाउँसम्म राम्रो विद्युत सेवा नभएको र टेलिभिजको पहुँचमा अधिकाशं नागरिक नभएकोले रेडियोको प्रभावकारी भूमिका रहेको हो ।
बजार क्षेत्रका मानिसहरुले पनि टेलिभिजन हेर्ने धेरै समय पाउँदैनन् तर रेडियो भने सर्वसुलभ छ । जसले गर्दा नागरिकलाई सुचना प्रवाह, समाचार प्रशारण, सन्देशमुलक सामाग्री प्रशारण तथा व्यापारिक प्रचारका लागि रेडियो नै प्रयोग हुने गरेको छ । ‘घरमा टेलिभिजन छैन, विद्युत सेवा पनि नियमित छैन ।’ मालिका गाउँपालिका ३ ह्वाङिदकी खिमा घिमिरेले भनिन्, ‘कहिले ब्याट्रि त कहिले मोबाईल जार्च गरी मोबाइलबाट भएपनि रेडियो सुन्छौ ।’ रेडियोबाट समाचार, सुचना लगायतका कुराहरु सुनेर समय कटाउने गरेको उनले बताइन् । ‘बिहान छोराछोरी विद्यालय गएपछि एक्लै हुन्छु ।’ उनले भनिन्, ‘दिउसँको समयमा काम गर्दै रेडियो सुन्दै गर्न खुब आनन्द आउछ ।’ गाउँपालिकाका महत्वपूर्ण सुचना पनि रेडियोमै सुन्ने उनले बताइन् ।
अर्की स्थानीय चुमा घिमिरेले पनि रेडियोबाट विभिन्न संघ सँस्थाले आयोजना गरेका स्वास्थ्य शिविर, भेटेनरी शिविर, विद्युत सेवा, विभिन्न विद्यालय तथा संघ सँस्थाका गतिविधि सुन्ने बताइन् । आजभोली मोबाइलबाटै रेडियो सुन्न पाइने भएकोले संचारका साधनमध्ये सबैभन्दा बढी रेडियो नै उपयोग हुने उनले प्रतिक्रिया दिइन् । ‘मोबाइलबाटै फोन गर्ने, गित संगित सुन्ने तथा रेडियो सुन्ने सबै काम गर्न मिल्छ ।’ उनले भनिन्, ‘सायद बानि परेर होला, रेडियो नभए एक्लो महसुस हुन्छ ।’ ह्वाङ्दिमा गुल्मी र प्युठानका रेडियोहरु सुनिने उनले जानकारी दिइन् । त्यो मध्ये पनि सबैभन्दा बढी सामुदायिक रेडियो स्काई सुनिने उनले बताईन् । रेडियोमा आउने गित संगित बढी मात्रामा मन पर्ने उनले बताईन् ।
धुर्कोट गाउँपालिका ४ जैसिथोकका केशव पोखरेलले गाउँमा रेडियोले धेरै प्रभावकारी भुमिका खेलेको प्रतिक्रिया दिए । ‘स्थानीयदेखि राष्ट्रिय–अन्तराष्ट्रिय स्तरसम्मा गतिविधि रेडियोबाटै सुन्न पाइन्छ, सर्वसुलभ पनि छ ।’ उनले भने, ‘हाम्रोलागि संचार माध्यमको लोकप्रिय साधन रेडियो बनेको छ ।’ रेडियोबाट बढी मात्रामा शैक्षिक गतिविधि, कृषि गतिविधि र बिहान छ बजे साझँको साझा खबर तथा ८ बजेको खबर र बि.बि.सी. बाट आउने समाचार बढी सुन्ने बताए । त्यसका साथैसाथै स्थानीय रेडियोबाट प्रशारण हुने स्थानीय समाचार तथा दिउसँको समयमा प्रत्येक घण्टा आउने समाचार पनि सुन्ने उनले बताए ।
अर्का स्थानीय लोकनाथ पौड्यालले पनि रेडियोले मानिसलाई सकारात्मक सन्देश दिएको बताए । नेताका भाषण, जनताका आवाज, घटना, विचार सबै कुरा रेडियोबाटै प्राप्त गर्न सकिने बताए । ‘टेलिभिजन हेर्न समय नै छुट्याउनुपर्छ, पत्रिकाको पहँुच छैन ।’ उनले भने, ‘रेडियो जता पनि लैजान मिल्छ, काम गर्दै रेडियो सुन्दै गर्नुको आनन्द बेग्लै हुन्छ ।’ आवश्यक कुराहरु सबै रेडियोबाटै प्रशारण हुनु, गाउँगाउँसम्म पत्रिका नपुग्नु, अनलाईको लागि इन्टरनेट सुविधा नहुनु, टेलिभिजको लागि विद्युत नियमित नहुनु लगायतका कारणले रेडियो लोकप्रिय बन्दै गएको उनले बताए ।
रेडियो विकासको आयाम
प्रमुख जिल्ला अधिकार यदुनाथ पौड्यालले गुल्मीमा स्थानीय रेडियोहरुले विकासको आयामकै भूमिका खेलेको प्रतिक्रिया दिए । अधिकाशं भू–भाग विकट भएकोले पनि त्यहाँ रेडियोको पहुँच राम्रो रहेको उनले बताए ।
‘रेडियो विकासकै आयाम भएका छन्, संचारमाध्यमले खेल्नुपर्ने भुमिका खेलेका छन् ।’ उनले भने, ‘हाम्रो नियन्त्रणमा नभएपनि राम्रो मुल्यांकन गरेका छौँ ।’ जनतालाई सुसुचित गराउने तथा सरकारका विभिन्न सुचना, समाचारको लागि रेडियोले प्रभावकारी भुमिका खेलेको उनले बताए ।