हुमाकान्त पोखरेल
गुल्मी, ११ असौज । भुकम्प गएको ३ बर्ष पुगिसक्दा पनि गुल्मीमा विभिन्न किस्ता लिनेहरुको सङ्ख्या अत्यन्तै न्यून रहेको छ । जिल्लाका कुल भूकम्पीडितको सङ्ख्या चार हजार एक सय ४४ हो । एकजना भूकम्पपीडितले सरकारबाट तीन किस्ता गरी कुल तीन लाख रुपँैया अनुदान पाउछन् ।
यसरी हेर्दा पनि जिल्लाका भूकम्प पीडितलाई वितरण गर्नुपर्ने कुल रकम १ अर्व २४ करोड ३२ लाख हुन्छ । प्रक्रिया पु¥याएर आए सबै रकम लैजान पनि सक्छन् । तर विभिन्न कारणले गर्दा जिल्लामा सबै रकम भूकम्प पीडितले नलैजाने पक्का भएको छ ।
गुल्मीमा हालसम्म नौ दशमलव ३३ प्रतिशत अर्थात तीन सय ८७ जनाले मात्रै तेस्रो किस्ताको रकम लिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयले जनाएको छ । त्यस्तै तीन हजार नौ सय १६ लाभग्रहीले पहिलो किस्ता र एक हजार सात सय १६ जनाले दोस्रो किस्ताको रकम लिएका छन् ।
सेवाग्राहीलाई पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ताबापत एक लाख ५० हजार र तेस्रो किस्ताबापत एक लाख उपलब्ध गराउने ब्यवस्था रहेको कार्यालय प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए । जिल्लाका भूकम्पपीडितलाई हालसम्म ४५ करोड ९७ लाख ७० हजार वितरण गरिएको छ । जसमा पहिलो किस्ताबापत १९ करोड ८५ लाख, दोस्रो किस्ताबापत २५ करोड ७४ लाख र तेस्रो किस्ताबापत ३८ लाख ७० हजार वितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
दुई सय २८ जनाले सम्झौता नै गरेनन्
जिल्लाका कुल दुई सय २८ जनाले रकम पाउनको लागि सम्झौता नै गरेका छैनन् । पहिलो किस्ताको रकम बुझेर पनि दुई हजार दुई सय लाभग्राहीले दोस्रो किस्ताको लागि निवेदन नै नदिएको कार्यालयले जनाएको छ । भने दोस्रो किस्ता बुझेर पनि एक हजार तीन सय ७९ जनाले तस्रो किस्ताको लागि सम्झौता नगरेको कार्यालयका प्रमुख अर्यालले जानकारी दिए ।
धुर्कोट गाउँपालिका ४ जैसिथोककी रुमकला पोखरेलको नवनिर्मित घर । जसले घर पुरा बनाएर पनि तेस्रो किस्ताको रकम पाउन सकेकी छैनन् । -हुमाकान्त पोखरेल
गुल्मीमा भूकम्पले सबैभन्दा धेरै कालिगण्डकी गाउँपालिकामा क्षति पु¥र्याएको थियो । कालिगण्डगीमा एक हजार ७० घरहरु पुर्णरुपमा क्षती भएका थिए । उक्त गाउँपालिकामा कुल एक हजार नै जनाले प्रथम किस्ता लिएका छन् । त्यस्तै चार सय १६ जनाले दोस्रो र एक सय ४२ जनाले तेस्रो किस्ताको रकम लिएका छन् ।
किस्ता लिने प्रक्रिया झन्झट
भूकम्पबाट प्रभावित लाभग्राहिहरुले भने किस्ता लिने प्रक्रिया निकै झन्झटिलो भएको गुनासो गरेका छन् । कतिपय लाभग्राहि रकम लिने प्रक्रिया नै नबुझेर अलमलिएका समेत भेटिन्छन् । घरमा पढेलेखेको सदस्य नहुनुँ, इन्जिनियर समयमा नआउनु, कार्यालयबाट झुटो विवरण आउनु लगायतका भूकम्प पीडितले किस्ता बेहोर्नुपर्छ ।
‘पटक–पटक वडा कार्यालयमा धाइरहनुपर्ने, त्यसमाथि पनि इन्जिनियर आउने समय थाहै हुँदैन ।’ धुर्कोट गाउँपालिका ४ जैसिथोककी रुमकला पोखरेलले भनिन्, ‘किस्ता बुझ्ने प्रक्रिया धेरै झन्झटिलो छ ।’ त्यसका साथै उनले कागजी प्रक्रिया धेरै भएको, बोलाएको समयमा इन्जिनियर नआएको र खातामा रकम नै नआएपनि जनप्रतिनिधिले रकम आएको भनी सदरमुकाम तम्घास पठाउदा भने झनै समस्या परेको पोखरेलको भनाई छ ।
यस्तो छ रकम लिने प्रक्रिया
लाभग्राहिले वडा कार्यालयमा सम्झौता गरेमात्र पहिलो किस्ताबापतको रकम प्राप्त गर्दछन् । पहिलो किस्ता बुझिसकेपछि पीडित दोस्रो किस्ताको प्रक्रियामा जान्छन् । दोस्रो किस्ताको रकम लिनको लागि भने घरको डिपिसी सम्मको काम सक्नुपर्ने हुन्छ । अर्थात ढोका राख्नेसम्मको काम सम्पन्न गर्नैपर्ने हुन्छ । काम सकेपछि सेवाग्राहीले वडा कार्यालयमा निवेदन दिनुपर्छ ।
निवेदनको आधारमा वडाले आफ्नो स्थानीय तहका भूकम्पस शाखाका इन्जिनियर बोलाउछन् । इन्जिनियरले सरकारको मापदण्डअनुसार बनाएको प्रमाणित गरेपछि मात्र दोस्रो किस्ताको लागि लाभग्राही योग्य हुन्छन् । दोस्रो किस्ताको रकम बुझेपछि पनि तेस्रो किस्ताको लागि भने छानो छाइसक्नु अगाडीको काम सक्नुपर्ने हुन्छ । फेरी पहिलेकै प्रक्रियाजसरी इन्जिनियरले प्रमाणित गरेपछि मात्र तेस्रो किस्ताको रकम प्राप्त गर्ने इन्जिनियर नविन ढकालले जनकारी दिए ।
तेस्रो किस्ताको रकम प्राप्त गरिसकेपछि पनि घर पूर्ण रुपमा बनेको इन्जिनियरको सिफारिस सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने ब्यवस्था छ ।
मापदण्डअनुसार बन्दैनन घर
सरकारले भूकम्प पीडितको अवस्था सहज होस् भनेर अनुदानको घोषण गरेको हो । तर सेवाग्राहीले भने रकम पाउनकै लागि घर बनाउने गरेको पनि पाइएको छ । कतिपय भूकम्प पीडितहरुको विभिन्न प्रक्रिया पुगेपछि इन्जिनियरबाट सिफारिस समेत रोकिने गरेको छ । कम गुणस्तरका सामान प्रयोग गर्ने, देखाउनकै लागि घर बनाउने जस्ता कार्यबाट पनि रकम दिन समस्या परेको छ ।
‘कतिपय झारा टार्ने शैलिमा काम गरेको भेटिन्छ, मापदण्ड पनि पुरा हुँदैन, तर सिफारिस अर्को किस्ताको लागि सिफारिस माग्छन ।’ इन्जिनियर ढकालले भने, ‘यस्तो अवस्थामा सेवाग्राहीलाई प्रमाणिकरण पत्र दिन गाहे हुन्छ ।’ कतिपय लाभग्राहीहरुले मापदण्ड विपरित घर बनाईसकेकाले पनि अन्तिम किस्ता दिन समस्या परिरहेको कार्यालयको भनाई छ ।