प्रेम सुनार
बुटवल, १३ । सडक तथा पुल डिभिजन कार्यालय पाल्पा हुँदा सास्ती खेपिरहेका गुल्मीका उपभोक्तहरुले अब आफ्नै जिल्लामा सडक तथा पुल डिभिजन कार्यालय, खानेपानी र सिंचाई डिभिजन कार्यालय पाउने भएका छन ।
सडक, पुल, खानेपानी र सिँचाई जस्ता सरकारी कामहरुको लागि अब गुल्मेली उपभोक्ताहरुलाई छिमेकी जिल्ला पाल्पा जानुपर्ने बाध्यता हटेको प्रदेश ५ का मन्त्री सुदर्श बरालको सचिवालयले जनाएको छ । उनका स्वकिय सचिव यदु ज्ञवालीका अनुसार सडक तथा पुल डिभिजन कार्यालयले छिमेकी जिल्ला अर्घाखाँची समेत हेर्ने छ ।
अर्को डिभिजन कार्यालयले गुल्मी मात्रै हेर्ने छ । यसबाट सुक्दै गएको सदरमुकामको ब्यापार ब्यवसाय पनि फस्टाउने र जनतालाई सुविधा पनि हुने मन्त्री बरालको बुझाई छ । उनले प्रदेश सरकारले कर्मचारी तोक्दै असोज भित्रमा सदरमुकाम तम्घासमा कार्यालय स्थापना गरी सक्ने योजना बनाएको जानकारी दिए ।
उनले थपे–‘ पाल्पा पुग्दा गुल्मेलीहरु सास्ती र निकै झण्झटमा पर्ने गरेका थिए । ठेक्का पट्टाको सवालमा पनि ति दुई जिल्लाका निर्माण ब्यबसायीहरु बिच लडाई समेत पर्ने गरेको थियो । त्यसलाई मध्ये नजर गर्दै हामी गुल्मीबाट निर्वाचित सांसदहरुले यी दुई डिभिजनहरु गुल्मी राख्ने पहल गरेका हौं । ’