काठमाडौं, असार ०४ । पित्त नलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए । करिब २५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए ।
पहिलो पटक वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत डा. देवकोटालाई जान्छ । देवकोटा स्वास्थ्य मन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।
पीत्त नलीको क्यान्सर पुष्टी भएपछि बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो । त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।
पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो ।