टोपलाल अर्याल
गुल्मी २५ जेठ । गुल्मीको रेसुङ्गा बिमानस्थलमा तारा एयरको बिमानले सफल परिक्षण उडान गरेको छ । सफल परिक्षणपछि जहाजको प्रतिक्षामा एक दशक बिताएका गुल्मेली निकै खुसी भएका छन् । शुक्रबार दिउँसो तारा एयरको ढल्–ब्प्ी को बिमानले सफल परिक्षण गरेको थियो । बिहान आठ बजेबाट बिमानको प्रतिक्षामा रहेका गुल्मी र अर्घाखाँचीका स्थानीयले बिमान चालक क्याप्टेन सन्तोष शाह, प्रभाकर प्रसाद घिमिरे, पुर्व क्याप्टेन डिआर निरौला सहितको टोलीलाई पञ्चेबाजासहित फुलमालाले स्वागत गरेका थिए ।
बिमानस्थल र केवलकार संगसंगै: मन्त्री ज्ञवाली
परिक्षण उडान शुभारम्भका लागि जिल्ला आएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रेसुंगा बिमान स्थल र रेसुंगा केवलकार नै जिल्लाको समृद्धिको बाटो भएको बताएका छन् । सफल परिक्षण भैसकेकाले यसको निरन्तरताका लागि जिल्लाका नागरिकको महत्वपूर्ण भुमिका हुने ज्ञवालीले बताए । उनले गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका नागरिकको समेत भाग्य र भविष्य जोडिएको बिमान सेवालाई सके दशै अगाडी नभए दशैबाट नियमित संचालनमा ल्याउने बताए ।
‘अब धेरै कुरा असम्भव हुँदैनन, धेरैको परिक्षण उडानमै शंका थियो,‘उनले भने,‘अव नकरात्मक नसोचौ,जतिसक्दो चाँडो नियमित गर्ने हो ।’ उनले रेसुंगा बिमानस्थलको नियमिततासंगै रेसुंगामा केवलकार पनि केहि समयमै संचालनमा आउने बताए । गुल्मी क्षेत्र नं १ का सांसद समेत रहेका ज्ञवालीले तीन जिल्लाको आर्थिक समृद्धिको बाटो बिमानस्थल र केवलकार भएकाले आफु यी दुई बिषयमा सधै चिन्तित रहेको बताए । उनले चन्द्रागिरी केवलकारका संचालक चन्द्र ढकाललाई समेत लिएर जिल्ला आएका थिए ।
सोहि क्रममा संचालक ढकालले केहि समयमै चन्द्रा गिरी केवलकारको प्राविधिक टोलीलाई जिल्ला पठाउने बताए । उनले आफु केवलकार संचालन गर्न सकरात्मक रहेकाले प्राविधिक टोलीको अध्ययनपछि थप छलफलमा जुटने बताए । संयोग केहि बर्ष पहिले आफु पर्यटन मन्त्री हँुदा शिलन्यास गरेको बिमान स्थलमा अहिले परराष्ट्र मन्त्री भएको बेला परिक्षण उडान गरिएको छ ।