अनिश शर्मा गैरे
गुल्मी, पौष १० । क्रिश्चियन समुदायले आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले पनि सार्वजनिक विदा दिएको छ ।
ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । विलिभर्स चर्च वामीले पनि आज क्रिसमस डे मनाएको छ । चर्चका पास्टर राम कुमार प्रजाको अध्यक्षता, मुसिकोटका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता, कार्यकारी अधिकृत घनश्याम न्यौपाने, नगरबिकास समिति अध्यक्ष मेघ प्रसाद श्रेष्ठ, नेकपा एमालेका गोपिकृष्ण खरेल, काँग्रेसका सुदर्शन शाक्य, नेकपा माओबादी केन्द्रका भुवन केसी, जनमोर्चाका मोहनलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रममा एकआपसमा शुभकामना साटासाट गरीएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाबाट चर्चको लागि समाधि स्थल बनाउने जग्गा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।उनले चर्चको लागि आवश्यक खानेपानीको प्रबन्ध गर्न नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिदै भवन निर्माणको लागि आबश्यक परेमा रकम उपलब्ध गराउन सक्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका मुसिकोट अध्यक्ष मोहनलाल श्रेष्ठले मालिका बोर्डिङ्गमा करिब १५ जना क्रिश्चियन बिद्यार्थीहरुलाइ कक्षा ८ सम्म नि:शुल्क पढाउने ब्यबस्था गरीदिने बताए । कार्यक्रममा नेकपा एमालेका गोपीकृष्ण खरेल, काँग्रेसका सुदर्शन शाक्य, नेकपा माओबादी केन्द्रका भुवन केसी, पत्रकार लोक प्रसाद छन्तेल लगायतले बोलेका थिए ।
चर्चका सचिब चन्द्र रसाइलीको स्वागत रहेको कार्यक्रमको सञ्चालन पास्टर तथा डायोसिस सदस्य पुस्तकलाल श्रेष्ठले गरेका थिए । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरीएको थियो भने राष्ट्रिय गान प्रस्तुत गरीएको थियो । बिभिन्न नृत्यहरु प्रस्तुत गरीएको सो अवसरमै बिभिन्न प्रस्तुतीहरुसँगै बजार परिक्रमा गरीएको थियो ।पास्टर राम कुमार प्रजाले बाइबलबाट प्रवचन दिएका थिए । २०६१ सालमा स्थापना भएको सो चर्चमा अहिले सम्म करिब ३ सय मानिसहरु आबद्ध रहेका छन ।
क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
विक्रम संवत् ०६२-६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।
नेपाल धर्म्निरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए ।
हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ ।