सन्जु काउछा
१४ मंसिर । चुनावताका फाट्ट-फुट्ट पार्टी पारीत्याग गर्ने र नयाँ पार्टी प्रवेश गर्ने चलन खासै नौलो त हैन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पनि दिनहुँ जसो यस्ता समाचार आईरहेका छन् । यही हप्ता मंगलबार र बुधवार पनि गुल्मीबाट २ छुट्टाछुट्टै खबर आए, सिमिचौरमा नेकपा एमाले/एकीकृत माओवादीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको र उता अर्जैमा कांग्रेस पार्टी पारीत्याग गरी नेकपा एमालेमा प्रवेश गरेको । दुईवटै कार्यक्रम बरीष्ठ नेताहरुले आ-आफ्ना पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गरेको पनि बिभिन्न सामाजिक सन्जालहरु मार्फत प्रचार गरियो ।
नेकपा एमाले र एकीकृत माओवादीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
मंगलबार सिमिचौरमा नेपाली कांग्रेसको चुनावी आमसभा सिमिचौरमा नेकपा एमालेका कार्यकर्ता हिमाल बस्नेत र माओवादीका कार्यकर्ता सूरज राना नेतृत्वमा ३१ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको तम्घासबाट हरी कुमार श्रेष्ठले जानकारी दिएका छन् । कांग्रेस प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद चन्द्र भण्डारी, प्रदेश सभा सदस्य उम्मेद्वार धनेन्द्र कार्की, नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच टीका र फूलमाला लगाई नेपाली कांग्रेस पार्टी प्रवेश गराउनु भएको बताईएको छ ।
कांग्रेस छोडेर एमालेमा प्रवेश
चुनावी कार्यक्रमकै क्रममा बुधवार मालिका गाउँपालिका ६ अर्जेमा मेघनाथ अर्यालको नेतृत्वमा २० जना नेकपा एमालेमा प्रवेश गरेको धरातल अन्लाईनले समाचार प्रकाशित गरेको छ । उनीहरुलाई प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले पार्टीमा स्वागत गरेको उक्त समाचारमा बताईएको छ ।