घनश्याम गौतम
गुल्मी । चुनाव खर्चिलो बनेपछि उम्मेदवारले प्रचार शैली फेर्न थालेका छन् । ठूला सभा र कार्यकर्ताको भीड घटाउँदै गएका छन् । त्यसको साटो नियमित घरदैलो एवं भेटघाटले उम्मेदवारको खर्च कम र मतदातासित निकटता बढाएको छ ।
वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार दिनेश पन्थीसँग प्रचारप्रसारमा दैनिक ४ कार्यकर्ता रहन्छन् । एउटै जिपमा बस्छन् र भेटघाटमा निस्कन्छन् । खेतबारीमा पुगेर मत माग्छन् । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार छन्दबहादुर पहराईको पनि यस्तै शैली छ । पहराईले झन्डै २५ हजारको खर्चमा पहिलो चरणको घरदैलो अभियान सकेर दोस्रो चरणको भेटघाटलाई निरन्तरता दिँदैछन् । त्यही क्षेत्रमा प्रतिनिधिसभाका गठबन्धनका उम्मेदवार गोकर्ण विष्टको प्रचार शैली अझै फरक छ । जिपमा कम र पैदलै बढी हिँड्ने गरेका विष्ट धान, कोदो काटदै गरेका मतदातासँग बारीमै पुगेर भोट माग्ने गरेका छन् ।
‘पहिलाजस्तो ठूलो भीड लिएर हिँड्दा मतदाता भेट्नै मुस्किल पर्यो,’ उनले भने, ‘धेरै मतदातालाई चुनावभन्दा कामको चटारो छ ।’ त्यसले पनि पैदलै हिँडेर मतदाता जहाँ छन्, त्यहाँ पुगेर भोट माग्नुको विकल्प नरहेको उनले बताए । ‘त्यसले खर्च पनि निकै कम गराएको छ,’ उनले भने । ४३ वडामध्ये आधाभन्दा बढी वडामा उनी पैदलै हिँडेर पुगिसकेका छन् । क्षेत्र नं. १ मा पनि कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार चन्द्र भण्डारीले पनि ठूला सभा कतै आयोजना गरेका छैनन् । उनले आफ्नो क्षेत्रका ५० वडामध्ये २० वडाको घरदैलो र भेटघाट सकेका छन् । उनले पनि अहिले धेरै कार्यकर्ता परिचालन गरेका छैनन् ।
‘म एउटा जिपमा मात्र हिँडेको छु,’ उनले भने, ‘कामको चटारोले मतदाता भेट्न खेतबारीमै पुग्नुपर्छ,’ उनले भने, ‘त्यसले गर्दा पनि धेरै पैदल थोरै जिपको यात्रा भएको छ ।’ कार्यकर्ता कम परिचालन हुँदा खर्चमा पनि मितव्ययिता भएको उनले बताए । एमाले सचिव प्रदिप ज्ञवालीको प्रचार शैली झन भूमिगतजस्तै छ । प्रदेशसभाका गठबन्धनबाट उम्मेदवार माओवादीका सुदर्शन बरालसँगै हिँडेका ज्ञवाली मतदाताको घरमा पुगेर मकैभट्ट खाँदै घरघरै पुगेका छन् । ज्ञवालीको पनि सभाका मतदाता आउनै नखोज्ने र भाषण सुन्न नखोज्ने मनोविज्ञान रहेकाले घरदैलो नै प्रभावकारी हुने देखेर सम्भव भएका स्थानसम्म घरदैलो र भेटघाटमै रहेको बताए । ‘मतदाता भाषण सुन्ने मुडमै छैनन्,’ उनले भने, ‘ठूला सभा गरेर आफ्ना प्रतिबद्धता सुनाउन नपाए पनि मतदातासँगको निकटतामा जोड दिएको छु ।’ आफनो योजना र प्रतिबद्धता छुट्टै प्रकाशन गरेर मतदाताको हातमा पुर्याउने उनले बताए ।
स्थानीय निर्वाचनमा टोपी, टिसर्टदेखि झन्डाले रंगिएका गाउँसहरका घर यसपटक चुनावको रौनकता आएजस्ता देखिन्नन् । कार्यकर्ता सामान्य झन्डामा चुनाव प्रचारमा खटिएका छन् । उम्मेदवारले धेरै प्रचार सामग्री प्रयोग नगर्ने र ठूला सभा र गीत घन्काउने कार्यक्रम नगर्दा चुनाव आएजस्तो नै नभएको माओवादी केन्द्रका चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका कार्यकर्ता कृष्णबहादुर थापाले बताए । ‘प्रचार सामग्री धेरै नभएरै होला खासै चुनाव आएजस्तो देखिन्न,’ उनले भने, ‘उम्मेदवारले धेरै खर्च गरेका छैनन् ।’ कार्यकर्ताको दौडधुपसमेत नहुँदा चुनाव भूमिगतरूपमै भएजस्तो देखिएको उनले बताए । प्रतिनिधिसभामा कांग्रेसका चन्द्र केसी, प्रदेश एमालेका खड्ग केसी, कमल श्रेष्ठ, कांग्रेसका प्रदेशसभाका उम्मेदवार शालिक पन्थीको प्रचार शैली सामान्य छ । अधिकांश उम्मेदवारले दुईभन्दा बढी जिप प्रयोग गरेका छैनन् ।