युव मगर
गुल्मी, १७ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको जिल्लामा चुनाबी रौनक ह्वात्तै बढेको छ । राष्ट्रिय राजनीति मै चर्चामा रहेका हाइप्रोफाइल नेताहरुको यसपटक पनि गुल्मीमा रोचक प्रतिस्पर्धा हुँदैछ । एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कांग्रेस नेता चन्द्र केसी लगाएतका नेताहरु चुनाबी मैदानमा छन् । यसमध्य क्षेत्र नम्बर १ को चुनाबमा ज्ञवाली र भण्डारीबीच कडा टक्कर हुने अनुमान गरिएको छ । ज्ञवाली नेकपा एमाले र माओवादी केन्द्र सहितका दलहरु मिलेर बनेको बाम गठबन्धनबाट उठेका हुन् भने भण्डारी कांग्रेसबाट एक्लै भिड्दैछन् ।
एमाले सचिव ज्ञवाली र कांग्रेसका केन्द्रिय सदस्य भण्डारीबीच यो तेस्रो पटकको चुनाबी लडाईँ हो । यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभा चुनाब, र २०७० सालको दोस्रो संबिधानसभा चुनाबमा यी दुई नेताहरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा दुबै नेताले १/१ पटक जीत हासिल गरेका छन् ।
पहिलो संविधानसभामा दुई क्षेत्र माओवादीले जित्दा ज्ञवालीले कांग्रेसका भण्डारीलाई २ हजार १ सय ५२ मतले पछि पारेका थिए । तर, केन्द्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका ज्ञवालीमाथि जिल्लाको विकास निर्माणका योजनामा ध्यान नदिएको आरोप लाग्यो । त्यसैको परिणाम दोस्रो संविधानसभामा उनी भण्डारीसँग २ हजार ६ सय २९ मतको अन्तरले पराजित भए । यो मतान्तर ०६४ सालको भन्दा ४ सय ७७ ले धेरै हो ।
त्यसअघि ज्ञवालीले २०५६ सालको संसदीय निर्वाचनमा कांग्रेस नेता चन्द्र केसीलाई ६ सय ५० मतले जितेका थिए । नेता केसी अहिले एमालेका अर्का केन्द्रिय सचिव पूर्वमन्त्री गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्दैछन् ।
स्थानीय चुनाबको अङ्क गणितमा को बलियो ?
स्थानीय तहको मत विश्लेषण गर्दा गुल्मीमा बाम गठबन्धन बलियो देखिन्छ । त्यसैले पनि बाम गठबन्धनको जित सहज रहेको धेरैको अनुमान छ । क्षेत्रनम्बर १ मा बाम मत बलियो र क्षेत्र नम्बर २ मा बिष्टका प्रतिस्पर्धी तुलनात्मक रुपमा कमजोर देखिएकाले आफूहरुको जित सुनिश्चित रहेको एमाले अथवा बाम पक्षधरको दाबी छ । त्यसो त यही स्थानीय चुनाबको हिसाब किताब देखाएर बाम उम्मेदवार प्रदिप ज्ञवालीले जित्ने जिकीर पनि गर्न थालेका छन् ।
स्थानीय तहको चुनाबमा यस क्षेत्रको प्रदेश १ मा एमालेले १४ हजार ३ सय मत ल्याएको छ । माओवादीको ३ हजार ९ सय छ भने कांग्रेसले १२ हजार ३ सय मत ल्याएको छ । प्रदेश २ मा एमालेको मत १७ हजार १ सय छ । माओवादीको २ हजार ७ सय र कांग्रेसको १२ हजार ३ सय मत छ । गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता छन् ।
त्यसो त दोस्रो संविधान सभामा कांग्रेसले प्राप्त गरेको मतलाई हेर्ने हो भने कांग्रेस वा लोकतान्त्रिक शक्तिलाई पनि कमजोर ठान्ने अबस्था छैन । २०५१ देखि लगातार कम्युनिष्ठको लालकिल्लाका रुपमा स्थापित गुल्मीलाई २०७० को संविधान सभा चुनावमा आएर क्षेत्र नम्वर २ मा कांग्रेस नेता चन्द्र भण्डारी र र तत्कालीन क्षेत्र नम्वर १ मा कृष्ण छन्त्यालले जितेर लालकिल्ला भङ्ग गरी कांग्रेसको विरासत फर्काएका थिए । अहिलेको नयाँ संघीय संरचनामा पहिलेको १ र २ को करिब आधाआधा क्षेत्र मिलेर प्रतिनीधि सभा चुनाबको क्षेत्र नम्बर १ बनेको छ ।
स्थानीय चुनाबको अङ्गगणितको आंकलनले ज्ञवालीलाई चुनाब जित्न सहज छैन । किन भने २०७० सालमा कांग्रेसले किल्ला ढालेको घामजस्तै छर्लङ्ग छ । कांग्रेस नेता चन्द्र भण्डारी बिकास प्रेमी नेताका रुपमा परिचित छन् । उनले जिल्लाको बिकासका लागि बिभिन्न योजना पार्न महत्वपूर्ण पहल गरेका छन् । धेरै योजनाहरु अहिले पनि निर्माणधिन अवस्थामा छन् । जिल्लाको बिकास समृद्धिलाई नै नारा बनाएर उनी चुनाबमा होमिएका छन् । यति मात्र होइन भण्डारी कार्यकर्ता लेबलमा पनि प्रिय छन् । उनले ब्यक्तिगत बिषयलाई पनि चासोका साथ लिन्छन् र हरसम्भव समाधान वा सम्बोधन गरिदिन्छन् ।
जागिरका लागि होस वा कतै अध्ययनकालागि छात्रबृत्तिका लागि, अथवा क्लव संघ संस्थाको लागि योजना वा बजेट र सहयोग जुटाउन पनि भण्डारीले राम्रो सहयोग गर्छन् । हुन त भण्डारीले कामभन्दा बढी फेसबुक प्रचार गर्ने गरेको प्रतिपक्षका नेता कार्यकर्ताहरुको आरोप छ तर उनी त्यही कारण कार्यकर्ता लेबलमा प्रिय छन् । अहिले पनि समृद्धि र गुल्मीको समग्र बिकासको नारा लिएर चुनाबी मैदानमा बाम गठबन्धन बिरुद्ध एक्लै च्यालेन्ज गरेर प्रतिस्पर्धामा उत्रिएका छन् ।
यता राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको भए पनि बाम उम्मेदवार ज्ञवालीको कार्यकर्ता लेवलमा क्रेज छैन । उनले कहिल्लै पनि ब्यक्ति गत वा छुट्टै गाउँ बिशेषका मागमा ध्यान दिँदैनन् । चुनाब जितेपछि गाउँ नफर्कने गरेको उनीमाथिको मुख्य आरोप हो । जिल्ला जाँदा सदरमुकाम बस्ने र फर्कने गरेको एमाले कै स्थानीय स्तरका नेताहरुको गुनासो छ । बिगतका चुनाबमा उनका लागि टाउको फोर्ने र रगत बगाउनेहरुलाई ज्ञवाली चिन्दैनन् । बेरोजगार युवा र भोको गरिबको ज्ञवालीलाई मतलब छैन । राष्ट्रिय राजनीतिमा योगदान छ भन्ने ढ्वाङ पिटिरहेका छन् अहिले पनि ज्ञवाली ।
हुन त युद्धरत नेकपा माओबादी केन्द्रलाई आजको अवस्थामा ल्याउन वा शान्तिप्रक्रियामा ज्ञवालीको ठूलो योगदान छ तर जनता त्यसबारे जानकार छैनन् । यतिमात्र होइन मूलुकको राजनीतिक परिवर्तनमा केन्द्र स्तरमै कै उनको सहभागिता छ तर ब्यवस्था परिबर्तनमा उनले गरेका काम के के हुन् भन्नेबारे एमाले कै स्थानीय नेतालाई समेत हेक्का छैन मतदाताले कसरी बुझुन् । उनी मन्त्री हुँदा शुरु गरेको रेसुङ्गा बिमानस्थल आज पनि अलपत्र अबस्थामा छ । गुल्मीका खानेपानी यातायात लगाएतका धेरै समस्या छन् गाउँलेले ती समस्या समाधान होस भन्ने चाहेका छन् तर एकएक सम्बोधन गर्न ज्ञवाली सक्दैनन् त्यसैले गर्दा अघिल्लो चुनाब हारेका हुन् भन्नेहरु धेरै छन् । हुन त ज्ञवाली बोद्धिक र नेपाली राजनीतिमा खारिएका नेता हुन् ।
स्थानीय तहकाे चुनाब कै कुरा गर्ने हाे भने पनि तालमेल भएकै अाधारमा सबैठाउँ चुनाब जितेका रेकर्ड छैन । धेरै पूराना किल्ला ढलेका छन् त्यसैले पनि यही अबस्थामा चुनाबी नतिजा यही नै हुन्छ भन्न सकिन्न । बाम तालमेलले फाइदा भैहाले पनि मतान्तर धेरै नहुनेमा दुइमत छैन । तर ज्ञवालीले गुमेकाे बिरासत फर्काउलान् या भण्डारीकै पक्षमा अनअपेक्षित नतिजा अाउला चुनाबले बताउला, चन्द्रभण्डारी ज्ञवालीका बलिया प्रतिस्पर्धी हुन् चुनाबी रिङमा कस्ले कसलार्इ पल्टाउला निकै चासाेकाे बिषय बनेकाे छ ।
गुल्मीको समृद्धि नै चुनाबी नारा
गुल्मीको समृद्धि नै चुनाबी नारा बनाएर नेताहरु चुनाबी मैदानमा छन् । कालीगण्डकी करिडोर, बुटवल सालझण्डी तमघास ट्रयाक जस्ता योजना दुबै नेताले उठाएका छन् यसपटक पनि । कालीगण्डकी करिडोरमा ज्ञवाली र सालझण्डी तमघास सडक भण्डारीले आफ्नो पहलमा भएको दाबी गर्छन् । चुनाबी प्रचारमा जुटेका नेता भण्डारीले अधिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरु केहि पुरा भएको र केहि पुरा हुने अबस्थामा रहेकाले पनि अब पुन फेरी आफु जनतामाझ आएको बताएका छन् ।
शुक्रबार सदरमुकाम तमघासमा उनले गुल्मी जिल्लालाई अबको ५ वर्षभित्र नमुना गुल्मी जिल्ला बनाउने गरि योजनाहरु राखेको बताए । अब जनताले यो बिकासमा बजेट चहियो भन्नु पर्ने छैन् नेता भण्डारीले भने ‘सबैखाले बिकासले गति लिइरहेको छ सबै पुरा हुँदा जनताले बिकासको अनुभुती हुनेगरि काम हुनेछन् ।’ जनताले बिकास चाहेका छन् हामी जनताको र देसको बिकास गर्नको लागी नै तत्पर छौं उनले भने काम गर्नेलाई मत दिन्छन् । बिकासको निम्ती गुल्मीमा धेरै ठुला बिकासका आयोजनाहरु आएपनि समयमै निर्माणले गति नलिएको भण्डारीको भनाईछ ।
६ सिटका लागि ३८ जनाकाे उम्मेदवारी
दाेस्राे चरणमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गुल्मीका सात राजनैतिक दल र स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गरेका छन । दोस्रो चरणको निर्वाचन अन्तगरगत मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभामा गुल्मीमा ३८ जनाको उम्मेद्धारी परेको छ । प्रतिनिधिसभामा २ सिटको लागि १४ जना र प्रदेश सभामा ४ सिटको लागि २४ जनाको उम्मेद्धारी परेको हो । जिल्लामा ७ दलको तर्फबाट २८ तथा १० जनाले स्वतन्त्र उम्मेद्धारी समेत दिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । -बिगुल न्यूजबाट