टोपलाल अर्याल
गुल्मी, २० भदौ । घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विभिन्न विकृती र बिसंगती फैलिरहेको छ । जसका कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना गुल्मीमा बढ्दै गएका छन् ।
सोहि कुरालाई मध्ये नजर गर्दै इस्मा गाउँपालिकाले घरेलु मदिरा उत्पाद र बिक्री वितरणलाई प्रतिबन्द लगाउने निर्णय गरेको थियो । सोहि निर्णय कार्यान्वयनको क्रममा इस्मा गाउँपालिका ४ दोहलीका केहि मदिरा पसलमा जनप्रतिनिधी सहितको प्रहरी टोलीले छापा मारेको छ । इस्मा गाउँपालिकाका वडाध्यक्ष गनु प्रसाद अधिकारी र इस्मा प्रहरीचौकीबाट खटिएको प्रहरीले टोलीले दोहलीको छेडा बजार, आसपासका पसल र घरहरुमा खानतलासी गरेको थियो ।
सो क्रममा दुई सय १० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (कोदोको पास) र आठ लिटर तयार भएको मदिरा बरामद गरेको प्रहरी चौकीका प्रहरी हबल्दार खीम बहादुर विकले बताए । वडाअध्यक्ष अधिकारी, प्रहरी टोली, दोहली महिला विकास समिति, बुद्ध ज्योति युवा क्लवका प्रतिनिधि र स्थानीय सरोकारवालाको रोहबरमा मदिर नष्ट गरिएको हबल्दार विकले बताए । सोहि स्थानमा राखिएका केहि गाँजा पनि फडानी गरेको प्रहरीले जनाएको छ । शुरुको चरण मदिरा मात्र बरामद गरी सुझाव र निर्देशन दिएको भएपनि पुन बिक्री वितरण भएको पाइएमा कानुन अनुसार कारबाहि गरिने वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए ।
‘घरेलु मदिरा उत्पाद, सेवन र बिक्री वितरणका बिषयमा थुप्रै फोरमा छलफल भएको छ, निशेषित गरेरै छोड्छौ’, उनले भने, ‘अरु धेरै पसल निगरानीमा भएकाले झुक्याएर छापा मार्छौ ।’ इजाजत प्राप्त गरेका पसलहरुको लागि पनि अहिले इस्मा गाउँपालिका सवै वडाहरुमा नियम बनाइएको छ । ‘वडाहरु आफै लागेका छन, निश्चित समय, व्यक्ति र एरिया समेत किटान भएको छ’ गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोख्रेलले भने,‘ हामी पनि छडके अनुगमन गर्छौ ।’ जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख भएका घटना हेर्ने हो भने पनि अधिकाँश घटना घरेलु मदिराकै कारण भएको भेटिन्छ । त्यसैले पनि यो समाजका लागि निकै चुनौतिको बिषय बनेको छ ।