टोपलाल अर्याल
गुल्मी, ३१ साउन । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पहिरो प्रभावितको पुनर्स्थापनाको चुनौती तीन तहको सरकार मार्फत पूरा गरिने बताए । उनने मन र भूगोल मिल्ने ठाउँमा जग्गा खोजी भैरहेकाले छिटोभन्दा छिटो ब्यावस्थापन गरिने बताए । उनले यो बिपत्तिमा पीडित परिवार एक्लै नभएको बताउँदै उद्वार, राहत र पुनर्स्थापनामा राज्यसंगै सयौं सस्थाबाट सहयोग र सद्भाव रहेको बताए ।
मन्त्री ज्ञवालीले सबैभन्दा बढी क्षती भएको सत्यवती गाउँपालिका ३ को ठुलोलुम्पेकका पहिरो प्रभावितको अवस्थाका बारेमा जानकारी लिएका थिए । पहिरोले बढी प्रभावित लुम्पेकको सिङदिका ६४ घर परिवारलाई सत्यवती गाउँपालिका १ अस्लेवाको देउडाडामा अस्थायी आवास निर्माण गरि ब्यावास्थापन गरिएको छ । भने बाकी बिस्थापित परिवार धर्मपुर माबी सहितका विभिन्न बिधालयमा राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
मन्त्री ज्ञवालीले अस्थायी आवासमा बसोबास गर्ने पीडित परिवारको स्वास्थ अवस्था, खाना तथा खानेपानीको विषयमा गम्भीर बन्न स्थानीय प्रशासन र स्थानीय तहलाई निर्देशन समेत दिए । मन्त्री ज्ञवालीले शुक्रबार रोटरी क्लब अफ बुटवलले पहिरो प्रभावित परिवारलाई उपलब्ध गराएको राहत सामग्री पीडितलाई प्रदान गरे । रोटरी क्लबले बिस्थापित परिवारलाइ अत्यावश्यक पर्ने किचन किड बक्स, टेन्ट र खाट उपलब्ध गराएको क्लब अध्यक्ष तुल्सी घिमिरेले बताए । गत साउन ६ गतेको प्राकृति बिपत्ति पश्यात मन्त्री ज्ञवाली ३ पटक प्रभावित क्षेत्रमा आएका छन । उनी यसअघि दुई पटक राहत लिएर आए । फर्कदा घाइतेलाई समेत उद्वार गरेका थिए ।
सत्यवती ३ को ठुलोलुम्पेकमा मात्रै अझै पनि तीन सय परिवारका साढे १२ सय जना घर बाहिर रहेको वडा अध्यक्ष रुक बहादुर रानाले बताए । सत्यवती गाउँपालिका वडा न २,३ र ४ वडामा गरेर १३ जनाले ज्यान गुमाएका थिए । भने पहिरोले करोडौंको भौतिक संरचना, कृषिबाली, सडक र सिचाइमा क्षती पुराएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।