गोरखा, २३ साउन । सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रमअन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।
समूहले सामूहिक रुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका बिहीबार इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भने । उनले घरधनी अधिकारीलाई ऋण लागेर बेपत्ता भएकाले पालन पोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताए । उनले भने, “प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका पशु चाैपायसमेत लिलाम गरी समूहको ऋण बुझायौँ ।”
वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट १४ हजार ४ सय जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको बताए । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करिब ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताएका छन् ।
“बाेकाकाे लागि तीन हजार बराबरको बिमा गरिदिएका छौँ”, सास्केले भने, “पाल्न नसक्ने भए पनि हामी अर्काे किसानलाई वितरण गर्थ्याैँ उनीहरुले हामीलाई खबर गरेनन् ।” रासस