gulminews logo
शनिबार, २०८१ बैशाख ८

१३ जिल्ला विशेष निगरानीमा

टपेन्द्र कार्की
काठमाडौं । दोस्रोे चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये १३ जिल्लालाई विशेष निगरानीमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ ।२१ मंसिरमा सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षाकर्मीहरू मतदानस्थल जाने क्रममै ती जिल्लालाई संवेदनशील जिल्लाका रूपमा लिई विशेष निगरानीमा राखेको हो ।

भारतसँग सीमा जोडिएका जिल्लामा सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त गस्ती बढाएका छन् । ४५ जिल्लामा करिब २ लाख ८० हजार सुरक्षाकर्मी खटिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् । सुरक्षा व्यवस्था कडा बनाउने सरकारी नीतिअनुसार ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् । निर्वाचन सुरक्षामा सेना र सशस्त्र प्रहरी पनि परिचालन भइसकेका छन् ।

मतदान सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक तथा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा बलियो बनाउन मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा २१ मंसिरमा निर्वाचन हुँदै छ ।

त्यसैगरी, प्रदेश ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत, प्रदेश ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, प्रदेश–६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा निर्वाचन हुँदै छ ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएदेखि गृह मन्त्रालयले विशेष कार्यायोजना बनाएर आवश्यक सुरक्षा प्रबन्ध गर्दै आएको थियो ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि केन्द्रित सुरक्षा नीतिअनुसार नै जिल्लास्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र जसअनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइएको छ ।

मतदानको बेला कुनै पनि अप्रिय घटना र अपराधजन्य क्रियाकलाप रोक्न मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नै सबै नाका बन्द हुनेछन् । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीका अनुसार चीन तथा भारतसँग सीमा जोडिएकाले सीमामा क्षेत्रमा एक महिनाअघि देखि नै विशेष निगरानी बढाइएको छ ।

‘सीमा क्षेत्रमा अहिलेसम्म सामान्य देखिएको छ, निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएकाले अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू प्रयत्नशील छन्,’ मन्त्रालयका प्रवक्ता दुवाडीले भने । उनले निर्वाचनका बेला सीमा अपराध नियन्त्रण, अवैध हातहतियार ओसारपसारलगायत गतिविधि नियन्त्रणमा पनि केन्द्रित हुन सुरक्षा निकायहरूलाई निर्देशन दिइएको बताए । उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने भएकाले नाका बन्द गरिएको हो ।

‘अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालिम प्राप्त कुुकुर परिचालन गरिएको छ,’ दुवाडीले भने ।

nepal election imageनेपाली सेनाका प्रवक्ता सहायक रथि नैनराज दाहालका अनुसार नेपाली सेनाले चुनाव अवधिभर पैदल गस्ती गर्नेछ । तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गरिरहेको सेनाले जनाएको छ । ‘आवश्यकताअनुसार सबै प्रकारका पेट्रोलिङ तथा पैदल गस्ती भइरहेका छन्, मद्दती सुरक्षा फौज पनि तैनाथ छ,’ प्रवक्ता दाहालले भने ।

मतदान केन्द्रमा बाक्लो सुरक्षा उपस्थितिसँगै नियमित चेकजाँच, गस्ती, उम्मेदवारको सुरक्षा व्यवस्था र भूमिगत शैलीमा राजनीति गर्दै आएका केही राजनीतिक पार्टीमाथिको निगरानीसँगै सुरक्षा व्यवस्था कडा बनाएको नेपाल प्रहरीले जनाएको छ ।

मतदाता तथा उम्मेदवारहरूको सुरक्षाका लागि मतदानस्थलमा मात्र नभई गाउँबस्ती, सार्वजनिक स्थल, सवारीसाधनका नियमित सुरक्षा जाँच र गस्ती बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले बताए ।

उनका अनुसार उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको समेत सुरक्षालाई ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको हो । सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रत्येक मतदानस्थलमा प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा मतदान सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसको बाहिरी घेरामा प्रहरी निरीक्षकको छुुट्टै टोली खटिएको छ, त्यसबाहिर सशस्त्र प्रहरी र सेनाको गस्ती रहेको छ ।

सीमा बन्द

दोस्रो चरणको निर्वाचनमा सरकारले ७२ घण्टाभन्दा बढी सीमा नाका बन्द गर्ने भएको छ । गृह मन्त्रालयले १८ देखि २१ मंसिरसम्म चीन र भारतसँग सीमा जोडिएका देशभरका साना–ठूला सबै भन्सार÷नाका, चेक प्वाइन्ट बन्द गर्न लागेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नरायणप्रसाद शर्मा दुवाडीले १८, १९ २० र २१ मंसिरसम्म सबै नाका बन्द गर्न निर्देशन दिइएको बताए । ‘पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा ७२ घण्टा नाका बन्द गरिएकोमा दोस्रो चरणको निर्वाचन अलि संवेदनशील भएकाले केही घण्टा बढ्न सक्नेछ,’ मन्त्रालयका प्रवक्ता दुवाडीले भने ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D