टोपलाल अर्याल
गुल्मी, २५ फागुन । स्थानीय तह कार्यान्वयनसंगै पुर्वाधार विस्तारसँगै लगानी र आम्दानीको आकर्षण बनेका जिल्ला सदरमुकाम सुनसान हुन थालेका छन । सदरमुकाममा हुने चहलपहल स्थानीय तहका केन्द्रमा सरेको छ । जिल्ला सदरमुकाम सुनसान हुन थालेसँगै आर्थिक तथा व्यापारिक गतिविधि घटेका छन् । स्थानीय तहका केन्द्रमा सदरमुकामको झल्को दिने चहलपहल बढ्दै गएको छ ।
बिस्तारै एक्लिएको लाँकुरीमञ्च
लाँकुरीमञ्च, सदरमुकाम तम्घासको मुटु । जहाँ नेतादेखि कार्यकर्ता र हाकिमदेखि कर्मचारीको जमघट हुन्थ्यो । थुप्रैले भाषण गरे । धेरै पटक आन्दोलन र कोण सभा भए । जिल्लाको सवै भन्दा ठुलो विकासे अड्डा तत्कालिन जिविस नजिकै भएकाले पनि लाँकुरीमञ्चमा सवै खाले मानिस भेटिन्थे । अहिले लाँकरीमञ्च एक्लिएको छ । लाँकुरीमञ्च अगाडी जिल्ला समन्वय समितिसंगै जिल्ला प्रसासन कार्यालय छ । त्यस कारण नागरिता र राहादानीको सिफारिस माग्न आउने मात्रै लाँकुरीमञ्चमा देखिन्छन् ।
यो अवस्थाको कल्पना लाँकुरीमञ्चमा बस्नेलाई मात्र नभएर धेरैलाई थिएन नै । स्थानीय तह कार्यान्वयनसंगै अहिले जिल्ला सदरमुकामहरु सुनससान बन्दै गएका छन् । दैनिक सेवाग्राहीको चाँप हुने साविकको जिविस समन्वय समितिका रूपमा परिणत भएपछि सुनसान बनेको हो । ‘भवन मात्रै ठुला बजेट र योजना छैनन, निकै सुनसान भएको छ,’ जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले भने, ‘धेरै कर्मचारीहरू गाउँ गए केहि जाने क्रममा छन् ।’ पहिले भनसुन गरेर जिविसमा आउन चाहने कर्मचारीको दौडधुप पनि अहिले छैन । ‘करोडौंको बजेट चलाएका जिविसका कर्मचारी अहिले झोक्रिएका छन्,’तम्घासका व्यापारी जनक पन्तले भने, ‘योजना कार्यक्रम नभएपछि सेवाग्राही पनि आउने कुरै भएन ।’
आधा दर्जन कार्यालय सुनसान
अहिले जिल्लाका आधा दर्जन कार्यालय गाउँछन् । जिल्ला समन्वयपछि धेरै सेवाग्राहि आउने शिक्षा कार्यालय पनि सुनसान छ । केहि कर्मचारी स्थानीय तहमा गैसकेका छन् । भने कतिपयको प्रक्रिया शुरु भएको छ । अहिले तत्काल कक्षा ८ को परिक्षालाई सहजिकरण र एसइई परिक्षा संचालनको जिम्मेवारी भएकाले कर्मचारी पर्ख र हेरको स्थितीमा रहेको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले जानकारी दिए । जिल्ला समन्वय र शिक्षा कार्यालयको साथसाथै महिला तथा बालबालिका कार्यालय, जिल्ला बन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगायतका कार्यालयका सेवाग्राहिको उपस्थित ह्वात्तै घटेको छ । जसकार कारण सदरमुकामको जनजीवन एक्लिदै गएको छ ।
व्यापार घटेपछि व्यावसायीलाई चिन्ता
स्थानीय तहको कार्यान्वयनसँगै जिल्ला सदरमुकामको ब्यापार पनि घट्दै गएको छ । जिल्लाको ठूलो ब्यापारको केहि हिस्सा गाउँका ब्यापारिले लिन थाले । सरकारी सेवा र सुविधा पनि पहिले भन्दा सहज बन्दै गयो । त्यसैले मानिसहरु तम्घास निकै कम मात्रामा आउँछन । बिस्तारै सदरमुकामको ब्यापार पनि कम भैरहेको व्यापारी बताउँछन् । जिल्ला समन्वय समिति अगाडी मझेरी होटल संचालन गर्दै आएका सुवास मरासिनीले तत्कालिन जिविसमा नास्ता बेचेर मात्रै मासिक ६० हजारभन्दा बढी ब्यापार गर्थे ।’ अहिले चार÷पाँच हजारमा सिमित भएको छ । स्थानीय तह कार्यान्वयनले आफु मात्रै नभएर सदरमुकामका थुप्रै व्यापारीको व्यापार घटेर गएको उनले बताए । अहिले गाउँबाट धेरै सिफारिस लिन सदरमुकाम आउनु पर्दैन् ।
यातयातको सुविधा र गाउँमा बजार बिस्तार हुँदै गएपछि धेरै सामान किनमेल गर्न सदरमुकाम नै आउनु पर्दैन् । जसका कारण अन्य व्यापारीसंगै धेरै लगानी गरेर बनाएका होटेल व्यावसायीहरु पनि चिन्तामा छन् । ‘पहिले पहिले गाविसको सिफारिसका लागि पनि मानिस सचिव खोज्दै होटलमा आए,’लुम्बिनी होटेलका संचाक शालिकराम पन्थीले भने, ‘अहिले सबै गाउँकेन्द्रित हुनाले ब्यापारमा ह्रास आएको छ ।’ स्थानिय तह कार्यान्वयन भन्दा अगाडी मासिक ४०÷५० हजार आम्दानी हुने गरेकोमा अहिले अन्यन्तै न्यून रहेको उनको भनाई छ ।
फेरिदै गाउँको मुहार
पुर्कोटदह मदाने गाउँपालिको अस्थायी केन्द्र हो । सदरमुकाबाट सवारी साधनमा समेत तीनदेखि चार घण्टमा पुर्कोटदह पुगिन्छ । सोहि गाउँपालिकाको वडा नं १ अग्लुङका नागरिक सामान्य सिफारिसको लागि पनि आठ सय भाडा तिरेर सदरमुकाम आउँथे । अहिले धेरै काम गाउँपालिकाबाटै हुन्छ । सोझै बुटवलबाट बस पुर्कोटदहलाई छुट्छन् । बजार, बैङ्क, स्नातकतहसम्मको क्याम्पस र इलाका प्रहरी कार्यालय समेत रहेका छन् । ‘झण्डै आठदेखि १० कार्यालयको कामको लागि पहिले सदरमुकाममा पुग्थ्यौ,’स्थानीय बिमला भट्टराईले भनिन,‘अहिले गाउँपालिकामै सबै काम हुने भएकाले धेरैजसो सदरमुकाम जानु पर्दैन् ।’
सालझण्डी–ढोरपाटन सडक खण्डले समेत पुर्कोटदह र मदाने गाउँपालिकाका तीन वडाहरुलाई छोएर गएकाले गाउँपालिका अझ समृद्ध बन्ने वडा अध्यक्ष तोकम कुवंरले बताए । बैशाख लागेपछि ठुलो पानी परे यातयात बन्द हुने मालिका गाउँपालिकाका सवै गाउँहरुमा अहिले गाडी कुद्छन् । वडा वडामा एम्बुलेन्स थपिएका छन् । विभिन्न स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर स्थापना भैरहेकाले सुत्केरी गराउँन सदरमुकाम दौडाउनु पर्ने अवस्था समेत नरहेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।