बुटवल, असार २२ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार र कर्मचारीकबीच दूरी रहेकै कारण सरकारको काम प्रभावकारी हुन नसकेको बताएका छन् ।
शनिबार नेकपाको गुल्मी-रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नयाँ परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा र पुरानै ढाँचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको बताए ।
सधैंभरि अस्थिरतामा खेल्न बानी परेका तत्वहरु छट्पटाइरहेको भन्दै उनले सरकारले जनताको भावनाअनुसार नै काम गरेको दाबी गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यसमेत रहेका उनले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भएको भन्दै पोलिटब्यूरो गठन नहुन पनि सक्ने बताए ।
पोलिटब्यूरो नहुँदैमा पार्टी सन्चालनमा समस्या नआउने उनको भनाइ छ ।
सबै गुठी सन्चालनलाई एकैडालोमा राखेर नियमन गर्न खोज्दा सरकारले समस्या भोग्नुपरेको भन्दै मन्त्री ज्ञवालीले केही व्यक्तिले एकै तीरले दुई शिकार गर्न खोज्दा सरकार पछाडि हट्न बाध्य हुनुपरेको स्पस्ट पारे ।