-सुनिता कँडेल
होली हिन्दु नेपालीजनको विभिन्न चाडपर्वहरुमध्ये प्रिय र विशिष्ट चाड हो । वसन्त ऋतुमा प्रकृतीको बहारसँगै हर्ष उल्लास बोकेर आउने रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होली बालक देखि बृद्धसम्मका सबैको रमाइलो चाड हो । यो दिन आफन्तजन र साथिसङ्गी सङ्ग उत्साह सद्भाव र स्नेहका साथ रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ । रङ्गिन पर्वको रुपमा मनाइने होलीमा पुराना मनमुटाव र दुस्मनी बिर्सि रङमा रङ्गिएर उल्लासपूर्वक एक आपसमा मिलेर रङ्गहरुसँग सद्भाव साट्दै मनाउने गरिन्छ ।
हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर एक अर्कालाई रङ्गिन बनाएर मनाउने प्रचलन रहेको छ ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । पछिल्लो समय यता त युवा युवतीहरू बिभिन्न समुह बनाएर बिभिन्न खालका गीतहरु गाउँदै नाच्दै होली खेल्ने गरेको पाइन्छ । यो दिन साथिसङ्गी मिलेर रमणिय स्थल घुम्न जाने रमाइलो गर्ने पनि चलन छ ।
यस दिन साना बालबालिकाहरुले निकै नै रमाइलो मान्छन । होलि आउनुभन्दा अघिबाटै बाँसको पिचकिरी बनाएका हुन्छन । बजारमा पाइने पिचकिरी रङ्गहरु र बेलुन किनेर केही दिन अघिबाटै उत्साहीत भएका हुन्छन । पाकापुस्ता अथवा अग्रज वृद्धहरुले आफ्नो पुराना कहानी सुनाउदै पहेलो केशरी र अबिर लगाइदिदै यस दिन आसिक दिने गर्नुहुन्छ । त्यो आशिकको पनि ठूलो महत्व रहेको छ ।
बयस्कको लागि होलि रङहरु अनि भातृत्व र साहसको पर्व हो । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । तर होलीको नाममा एसको महत्व भन्दा माथी उठेर शुद्ध रङ्गहरुको पर्वलाइ मानिसका गलत क्रियाकलापले दुर्ग्न्धित बनाइरहेको उदाहरण हाम्रै समाजमा ब्याप्त छन ।
रङमा बिभिन्न अन्य प्रयोगबिहिन रङ्गहरुको प्रयोग गर्ने, फोहोर पानीले छ्याप्ने, दुर्घन्धित बस्तुले हान्ने, लुकेर अन्डा फ्याक्ने जस्ता केहि गलत क्रियाकलापहरु गाउँ सहरमा देखिन्छन । यसले होलीको उत्सव नभएर केहि तनावहरु र एकआपसमा झैझगडा नित्याएको पनि छ । अझ एउटा गम्भीर पक्ष त होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई जवरजस्ती बिभिन्न रङ्गहरु दल्ने गरिेएको पनि पाइन्छ । तर यसो गर्नु गलत हो । यसले मान्छेहरुलाइ घरबाहिर निस्कन समेत समस्या भएको छ । पर्वको नाममा कसैको इच्छा विपरित रंग र लोला हान्नुले यसको महत्वभन्दा पनि बिकृतिलाइ बढावा दिन्छ । यसका सम्बन्धित पक्षले बुझनु जरुरी छ ।
होली पर्व नेपालमा एकै दिन मनाउनु पर्छ भन्ने आवाजहरु आउने गरेका छन् । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, यसले हामी भित्र रहेका पहाडी र तराई बिचको अन्तर सम्बन्धलाई गाढा बनाउछ भन्ने सुन्नमा आउँछ । तर पहाड र तराइमा छुट्टाछुट्टै दिन होलि मनाउनु नराम्रो भने पक्कै होइन ।
पछिल्ला बर्षहरुमा होली मनाउने क्रममा विभिन्न विकृति बढ्दै गएको पाईन्छ । खासगरी होलीमा अण्डाले हिर्काउने, कालो मोबिल दल्ने, फोहोर पानी छ्याप्ने, गाडीमा सवारहरुलाई लोला हान्ने लगायतका क्रियाकलापहरु बढ्दै जान थालेका छन् । होलिमा लुकेर जबर्जस्ती घरको छतबाट बाटोमा हिँड्ने यात्रुलाई लोला हान्ने, फोहोर पानीले छ्याप्नु जस्ता क्रियाकलापको अन्त्य हुनु जरुरी छ । होली सबैले आफनो रुचीले मनाउनु राम्रो पक्ष हो । होली खेल्दीन भन्नेहरुलाई पनि जवरजस्ती रङ दलेर दुःख दिने प्रवृतिले होली प्रतिको मानविय सोच नकारात्मक बन्दै गएको छ ।
चाडपर्वले हामी माझ एउटा धार्मिक, साँस्कृतिक महत्व बोकेका हुन्छन् । होली पर्व सद्भाव र भ्रातृत्वको प्रतीक पनि हो, तर हामीले समाजमा यसको मर्म र उदेश्यलाई नबुझ्दा यसको महत्वलाई विकृतिले छोप्न थालेको छ । विकृतिले छोपेको पर्व होलीलाई हामीले सभ्य मर्या्दित र मौलिक तरिकाले मनाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ । होलीको नाउंँमा विकृति ल्याउनेहरुलाई सरकारको तर्फबाट कडा कारवाही हुनुपर्ने देखिन्छ । होलीका नाममा देखिने नकरात्मक पक्षलाई सबैले त्याग्नु जरुरी छ । सँस्कृतिको संरक्षणमा ध्यान दिएर मर्या्दित रूपमा होलि मनाऔ। होलिको कृपाले भातृत्व र सदाचारमा वृद्धि होस । जीवन रङ्गिन बनोस,हर्ष उल्लास र उमङ्ग छाओस । सबैलाई होलीको शुभकामना ।
-तम्घास, गुल्मी ।