gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी चुनावी समिक्षा: अन्तर्घातको पासोमा नेता…

टोपलाल अर्याल
गुल्मीमा प्रत्यक्ष तर्फको सवै मत परिणाम सार्वजनिक भएकाले बिजयी जुलुसले निर्वाचन क्षेत्र उकुसमुकस बनिरहेका छन् । गुल्मी २ मा एमालेले गठबन्धन पत्तासाप पर्‍यो । पुर्व सहकर्मी र दुई पार्टीका सचिव गोकर्ण बिष्ट तथा रामकुमारी क्राँक्री बिचको प्रतिस्प्रर्धा निकै पेचिलो थियो । देशभरको ध्यानाकर्षण गरेको गुल्मी २ मा एमालेले लालझण्डा फहराउन सजिलो थिएन ।

एमाले भित्रकै बरिष्ठ भन्नेहरु निर्वाचनको अन्तिम संघारसम्म पार्टी छोड्ने र फण्डाहरु बेच्ने काममा व्यस्त र मस्त थिए । आफ्नो पोल्टामा मत ल्याउन एमाले र गठबन्धनले गर्न र सकेसम्मका सवै उपायहरु अपनाए । मंसिर ४ गते निकै शान्तिपूर्ण रुपमा गुल्मी २ को मतदान सकियो । मंसिर ५ गतेदेखिको मतगणनाले जिल्लाकै ध्यान खिच्यो । किनभने गुल्मी १ को मतगणना रोकिएको थियो । गोकर्ण बिष्टको पालिका इस्माबाट सुरु भएको मतगणना र अग्लिएको मतान्तरले नै अन्तत: बिजयी बनायो ।

इस्माको मतले प्रदेशमा डिल्लीराज भुसाललाई समेत सांसद बनायो । किनकी भुसाललाई आफ्नै पालिका रेसुंगाका नागरिकले निकै कम मत दिए । फर्केर हेर्दा त्यहि इस्मा गाउँपालिका हो जहाँ हिरा एसी, बिमला खत्री र राजेन्द्र बिक्रम कुवंर जस्ता व्यक्तिहरुले स्थानीय तहमा पराजय व्यहोरे । यता एमालेको गण मानिएको मुसिकोटले फेरि सोचे अनुसार मत दिएन । स्थानीय तहमा प्राप्त मतका आधारमा मुसिकोट ३, ४ र ५ मा अन्तर्घात भयो । अरु वडामा पनि सोचे अनुसारको मत आफ्नो उमेद्वारलाई दिएनन् ।

धुुर्कोट रजस्थल र नयाँगाउँ तथा बाँझकटेरीमा एमाले माथि ठुलो धोका आफ्नै मान्छेले दिए । स्थानीय सत्ताका कारण आएको निराशाले पनि उम्मेदवार प्रभावित भए । गुल्मी २ मा मुसिकोट बाहेक अन्त स्थानीय तहको नेतृत्वमा एमाले थिएन । मुसिकोटमा एमालेलाई कम मत आएको कारण सत्ता हो । इस्मा, मालिका, धुर्कोट र मदानेमा नागरिकले सत्ताकै कारण मत परिवर्तन गरे । त्यो बिषयमा एमालेले ठुलो मुल्यांकन गरेर रणनीति बनाएको थियो । गुल्मी २ मा स्थानीय तहमा पत्तासाप हुँदाको पीडालाई कार्यकर्ताले अहिले बदला लिए ।

गुल्मी २ मा गोकर्ण बिष्ट परिचालनको पाटोमा निकै अब्बल छन् । उनको सूचनाको समपरिक्षण, जनसम्पर्क र फलोअप गर्ने बानीको धेरैले प्रसंसा गर्छन् । त्यो बाहेक बिष्टले बनाएको डिल्लीराज भुसाल र दिनेश पन्थीसहित आफ्नो चुनावी अभियानमा खट्ने सचिवालय र जिम्मेवारी दिने व्यक्तिहरुको बफादारिता राम्रो थियो । धेरै ठाउँमा सचिवालय र नेताहरुले निकालेका डाटाले मिस खाएन । बिबाद समाधानमा बिलम्ब भएन । आन्तरिक रणनीति, चुनावी अभियान र संचार परिचालनमा गुल्मी २ को व्यावस्थापन लोभ लाग्दो भएको गठबन्धनकै नेताहरु अहिले बताउँछन् ।

गुल्मी १ मा एमालेले एउटा राम्रो भविष्य भएका नेता प्रदिप ज्ञवालीलाई बिजयी बनाउन सकेन । गुल्मी १ मा एमालेले निकै आश गरेका ठाउँबाट मत सोचे अनुसार आएन । सुरुमै अग्रता लिएका ज्ञवालीले अन्तिमसम्म प्रतिस्प्रर्धी गठबन्धनका चन्द्र भण्डारीसंग पाँच पटक लुकामारी गर्ने स्थिती बन्यो । गठबन्धनको आडमा ज्ञवालीलाई सजिलै पराजित गर्ने प्रतिपक्षको दाउ थियो । उनले निर्वाचनको पछिल्ला दिनहरुमा गुल्मी २ भन्दा १ को आशा एमालेले गरेको हो । गठबन्धनलाई चुनावी अभियानमा ज्ञवाली परास्त गर्न निकै चुनौति बन्यो । ज्ञवालीले महसुस गरे वा गरेनन् । व्यक्त गर्लान वा नर्गलान् । तर, पार्टी नेताभित्रको अन्तर्घातको शिकार बन्नु परेको छ ।

कालिगण्डकीमा जनमोर्चाको आश एमालेलाई थियो । स्थानीय तहमा एमालेको बुइ चढेको माओवादी अहिले सहयोगभन्दा प्रतिस्प्रर्धामा थियो । त्यसैले कालिगण्डकीमै सोचे अनुसारको परिणाम आएन् । चन्द्रकोट गाउँपालिमामा गठबन्धन ठुलो मतान्तरको आश ब्रेक एमालेले गरेकै हो । तर, एमालेको पकड भनिएको सत्यवतिले एमालेलाई धोका दियो । उत्साह बोकेर खोला तर्नुपर्ने ज्ञवाली निराशा बोकेर उक्लिनुप¥यो । सत्यवतिमा एमालेकै नेताले खेलेको अन्तर्घातको खेल नेतृत्वले बेलैमा सम्हाल्न सकेन । रुरु एमालेको गण नै हो । स्थानीय तहको निर्वाचनमा ध्वस्त थियो संरचना । अहिले त्यो क्षतिपूर्ति भयो । तर, सोचे अनुसार त्यहाँ पनि भएन ।

अर्को एमाले पकड क्षेत्र छत्रकोट थियो । आफुहरुले छत्रकोट १ हुँगा बिगारेको भन्ने एमालेसंग मिथ्या विश्वास थियो । तर, कांग्रेसले एमालेकै नेता प्रयोग गरेर दिगाम बिगारेको पत्तो एमालेले पाएन वा त्यो रोकथामको उपाय खोजेन । रुरु र छत्रकोटका एमाले नेताको सवैभन्दा ठुलो आत्मघाती गोलकै कारण आज ज्ञवाली र फर्सुराम पाण्डेय पराजित बने । उमेद्वारको पेरिफेरीमा घुम्नेहरुको हराउ रणनीति र फेक डाटाको आशंका बेलैमा कसैले गर्ने फुर्सद भएन ।

एमाले १ को सवैभन्दा ठुलो गल्ती आफ्नो क्षेत्र सुरक्षित गर्ने भन्दा अर्काको क्षेत्रलाई बिचलित बनाउने खेलले आफु व्यवस्थित बन्न सकेन । आफ्ना विश्वास पात्रहरु काममा भन्दा अघिपछि देखिन रुचाउने गरेको कारण चुनाव प्रतिकुल बन्न सक्ने पुर्व संकेतलाई प्रदिपले बेलैमा चिन्न, बुझ्न र निर्मुल गर्न नसकेको आरोप अहिले एमाले भित्रकै नेता र शुभचिन्तकहरुले गर्ने गरिरहेका छन् । ज्ञवालीले टिममा कसैलाई चिढाउन रुचाउँदैनन्, औधी विश्वास गर्छन र कामको प्रचार कम मात्रै गर्छन् । उनले बलियो सचिवालय बनाउन नसक्नु, सहकर्मीहरुको मिथ्यांकको समपरिक्षण नगर्नु, आन्तरिक बिबादलाई निर्वाचन अघिनै व्यावस्थापन गर्न नसकेको बिषय अहिले चियागफहरुले आउने गरेका छन् ।

गठबन्धनका दुई सारथी समाजवादी र माओवादी जिल्लामा शुन्य भए । चन्द्र भण्डारी र धनेन्द्र कार्की बिजयी भए । कांग्रेसको बिजयी उत्सवमा माओवादी उभिएर फोटो खोज्ने हिम्मत छैन । प्रतिनिधी सभामा समाजवादीको केन्द्रिय सचिव रामकुमारी झाँक्री पराजित बनिन् । पार्टी अध्यक्ष श्रीराम महतले पार्टीबाट राजिनामा दिए । गठबन्धनको चुनावी यात्रा कांग्रेसको लागि सुखद भएपनि समाजवादी र माओवादी पत्तासाप हुँदा निकै पीडादायी बन्यो । रामकुमारीले मनको बह पोख्ने खास मान्छे चुनावी अभियानमा नभएको पक्का हो । किनकी पार्टीको संरचना नै थिएन । केहि युवाले सामाजिक संजालमा प्रतिपक्ष सरापेर मात्रै बसे । उनले बिगतमा कांग्रेस र माओवादीको अन्तर्घातको खेल एमालेमा रहेर बुझेकै थिइन् ।

गत स्थानीय तहमा एमाले आवेगका कारण बिचलित भएका अस्थिर मत जोडेर झाँक्री गठबन्दनसंग दौडिरहिन् । व्यवस्थित कुनै कार्यक्रम भएनन् । सवैभन्दा ठुलो रणनीति मतको भेरिफाइ र मतदान प्रक्रियासम्म उपस्थित गराउने बिषयमा गठबन्धन कम्जोर रह्यो । प्रतिनिधी सभा सदस्यको उमेदवार र पुर्वमन्त्री भएकाले चुनावमा सफल बनाउने भन्दा श्रोतको उपभोगका लागि मात्रै नजिक घुमेकाहरुलाई झाँक्रीले पनि बेलैमा चिन्न सकिनन् । विभिन्न आशा बोकेर झाँक्रीसंग कांग्रेस नेतृत्व दौडिँदा आफ्नो असल उमेदवार पराजित भएकोमा अहिले कांग्रेसीहरुलाई पीडा भएको बुझ्न सकिन्छ ।

आन्तरिक पार्टी भित्रको घातका कारण कांग्रेसको जग र शालिन व्यक्ति भुवनप्रसाद श्रेष्ठ पराजित बने । अझ बिडम्बना त रेसुंगा नगरपालिकामा ०७४ मा मेयरमा पराजित श्रेष्ठ पुन: डिल्लीराज भुसालसंगै हारे । ठुलो कांग्रेसी घातको पीडामा श्रेष्ठ छन् । उनी नगरबाटै डराएका थिए । किनकी नगरभित्र घात तथा अन्तर्घातको नराम्रो प्रतिस्प्रर्धा चल्छ । नगरबाट मत निषेध गर्दा पोल खुल्ने डरले इस्माबाट भुवन प्रसाद श्रेष्ठ पराजित भए । उनले मुसिकोटमा समेत आफुलाई राम्रोसंग उभ्याउने दाउ गरे । किनकी इस्माको मिथ्या सूचनाकै विश्वास श्रेष्ठमा थियोे । उनी स्थानीय तहमा पाएको मत यथावत भएर पार्टी अन्तर्घातको मिसाइल इस्मामा नपड्किएको भए रेसुंगाको मतले बिजयी बन्नेमा दुई मत थिएन् ।

बुद्धि जिसी माओवादीभित्र संभावना बोकेका मान्छे हुन् । धुर्कोट र मालिकामा स्थानीय सत्ता थियो । गुल्मी पश्चिममा केहि आश गर्ने संगठन पनि थियो । त्यो माथि कांग्रेसको मतमा बुद्धि जिसीले दौडमा सफलता खोज्नु स्वभाविक थियो । तर, आफ्नै संगठनको आत्मघाति रणनीतिको ब्रेक गर्न र कांग्रेस समाजवादीका नेताहरुले आफुहरुलाई मात्रै मत मागेका सूचनाको समपरिक्षण गर्न सकेनन् । वास्तविक धरातलको अवस्था मुल्यांकलन नगरेर पहिलेनै प्रतिस्प्रर्धीसंगको मतान्तर बताउने र ओभर कन्फिडेन्सकै कारण जिसीलाई क्षती भएको बिश्लेषण एमाले तथा माओवादीकै नेता तथा कार्यकर्ताहरुले गर्न थालेका छन् ।

एमालेले कम र माओवादीले बढि आशा गरेको गुल्मी २ प्रदेश २ एमालेले पछिल्लोे अवस्थामा जोडेको आशा हो । गठबन्धनभित्र सवैभन्दा ठुलो घात भो । माओवादीलाई सवैभन्दा धेरै कांग्रेसले नै मत नदिएको बिषय छताछुल्ल भएका छन् । जसको अर्को पीडा सुर्दशन बरालले भोगे । स्थानीय सत्ता भएकै ठाउँमा कार्यकर्ता जोगाउन सकेनन् । कांग्रेसले मत दिने संभावना कम रहेको स्थानीय तहबाटै प्रमाणित भएको बिषयलाई थप गृहकार्य नगर्ने माओवादी नेतृत्वप्रति पार्टीभित्रै आलोचना सुरु भएको छ ।

अहिले गठबन्धनको निकै कोलाहल मच्चिएको छ । प्रमुख प्रतिस्प्रर्धीभन्दा गठबन्धनकै आरोपप्रत्यारोपले सामाजिक संजाल रंगिएका छन् । यो अन्तर्घातको पासोमा प्रत्येक निर्वाचनमा नेताहरु पर्ने गरेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले समेत आधा करोडसम्म खर्च गरेको हल्ला नचलेका हैनन्, त्यसै अनुसार पालिका प्रमुखसहितको नेतृत्वले कति खर्च गरेका होलान कल्पना गरौँ । त्यस्तै प्रदेश र संघिय निर्वाचनमा आयोगको आँखा छलेर ५० लाख देखि सात करोड खर्च गरेको सूचना बजारमा सुनिने गरेका छन् । यो खर्चको भिडमा असल राजनैतिककर्मी देखि आडम्बरीहरु पनि छन् । तर, अन्तर्घातका कारण असल व्यक्तिको सम्पति र भविष्य सकिएको छ ।

(अर्याल नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष हुन् । उनी लामो समय देखी जिल्लामा रहेर कृयाशिल पत्रकारिता गर्दै आएका छन् ।)

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D