gulminews logo
शनिबार, २०८१ बैशाख १५

प्रदिप ज्ञवालीलाई एक नियमित मतदाताको ‘गुनासो पत्र’

प्रिय कमरेड प्रदिप !

तपाईको नामार्थ दिप हो, प्रकाश हो । प्रकाश जस्तो तेज्, गतिशिल अरु चिज यो धर्तीमा छ जस्तो मलाई लाग्दैन । प्रकाशमा रशिला आँतहरु सेकाउने न्यांना किरण अनि भिजेका सपना सुकाउने तागत हुन्छ । तपाइँ भित्रको त्यहि प्रदिप र किरणले गुल्मीका खुल्ला फाँट र टारहरुलाई बादलले छोपेकै हो त भन्ने कुराको निस्कर्षमा पुगेँ । गुल्मेली माया र सद्भावले तपाईलाई २०५६, २०६४ र २०७४ को चुनाबले राजनैतिक उचाईको शिर्ष बिन्दुमा र पार्टिको अग्रस्थानमा पुर्याएकै हो ।

आज तपाइँलाई सिंगो देशले ओझिलो र निष्ठावान नेता भनेर चिन्छ । हामिलाई त्यस कुराले गर्भानुभुत पनि हुन्छ । तपाइँ माथि गुल्मेलीको निक्कै ठुलो अपेक्षा थियो तर हाम्रो दुर्भाग्य हो या यहांको राष्ट्रिय राजनीति र पार्टि भित्रको किचलो र हानाथापले, हाम्रा आशा माथि कुठाराघात भएकै हो । बच्चाका कलिला सपना तुहाउने, पाना दिएर कलम नदिने सधै आश्वाशनले थोपर्नेलाई बुवा भन्न मिल्दैन, जन्म दिनु र अबिभावकत्व निभाउनु फरक कुरा हो । एउटै सपनाबाट बारम्बार थिचिएर नयाँ सपना कहिल्यै देख्न नसक्ने गरि थला पर्यौ । किशोरावस्था देखि नै राजनीतिमा होमिएको तपाई जस्तो व्यक्तित्व, तपाईकै शब्दमा गुल्मीलाई काँचुली फेर्ने भनेर पटक पटक बिजयी गराएर तपाइँले आफ्नो पद र उचाई जति फड्को मार्नु भयो त्यति फड्को के गुल्मीलाई पुर्याउनु भएकै हो त ? कमरेड, जोसँग बढी भरोसा र अपेक्षा हुन्छ त्यसैसंग बढि बितृष्णा र चिड्चिडाहट पनि हुनेरहेछ ।

भुवन गौतम

२०४६ साल देखि संचालनमा आएको जम्मा ४७ किमि लामो रिडी–वामी मोटरबाटोलाई फर्केर हेर्नुपर्ने होइन र ? त्यहि हिलाम्मे धुलाम्मे बाटोमा कष्टकर यात्रा गरि तपाइँलाई भोट हाल्न हिँडियो र त्यहि बाटोको नाराले तपाइँलाई पटक पटक सदनमा लग्यो, पटकपटक मन्त्री पनि बनायो । के सधै कागजी अड्चन, ठेकेदारको बदमाशी, टेन्डर लफडा देखाएर बाटो बनेन भनेर पन्छिन मिल्छ र ? तपाइँका घोषणापत्र पढ्न नजान्ने, तपाइँका भाषण बुझ्न नसक्ने र पार्टिको सिद्दान्त थाहा नहुने, त्यो छेउ बस्तिका सर्बहारा जनताका मुजा परेका हातले तपाईलाई बारम्बार जिताएर पठाउनु के तिनीहरुको अभिषाप हो कमरेड ? आज उल्लिखोलाको त्यो लेते खोलाको अबस्था र सवारी साधन के कसरी चलेका छन् जगजाहेरै छ । तपाईलाई हामीले हाम्रो भूगोल सुम्पेका थियौ, बिकासका मूल फुटाउने भनेर भोट दिएका थियौ, तर तपाई हाम्रा सपना थाँती राखेर पार्टी र राष्ट्रिय राजनीतिमा शिर्ष स्थानमा उदय हुनुभो, केन्द्रमुखी हुनुभो तर हाम्रो खप्पर फुट्यो । तपाईले अरुलाई दोष देखाउने थुप्रै ठाँउ भेटिएलान तर हामीले कसलाई दोष देखाउने, सुनाउने र कसले सुन्ने ?

चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विसं २०६३ मा तपाईले सिलान्यास गरेको रेसुंगा विमानस्थल अझै संचालनमा आएको छैन । पहिले त संरचना पूरा नभएर रोकिएकोमा चित्त बुझाएका थियौँ, अहिले पनि उडान नभएपछि अब यो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि भन्ने सन्देह बढ्न थालेको छ ।आम गुल्मेलीलाई प्रत्येक दशैँमा जहाज उड्छ भनेर झुक्काइएको वर्षाैँ भएको छ । कालिगण्डकी कोरिडोर, मध्ये पहाडि लोकमार्गको अबस्थाले हामीलाई समग्र बिकासमा टेवा पुर्याउला भन्ने कुरा पनि विचाराधीन अबस्थामा नै छ । गुल्मीलाई बिकाशको गति दिँदा तपाइको राजनैतिक जहाज पक्कै पनि दुब्दैनथ्यो होला ।

कमरेड ! अब चुरो कुरा गरौ । म गुल्मिदरबार गाउँपालिका जुभुंङ घोराहाको बासिन्दा हुँ । हाम्रो भेगलाई समेटेर गाउँपालिकाको केन्द्र समग्रमा मजुवा या दमुका भएको भए कस्तो सहज र सुलभ हुने थियो । यो बिषय बोकेर तपाईलाई भेट गर्न टिम मिलेर म स्वयं तपाईसामु पनि पुगेको थिएँ । आज हामीलाई रिँडी पुग्न पौने घण्टा लाग्छ भने हाम्रो गाउँपालिका केन्द्र गौँडकोट पुग्न सबा घण्टा लाग्छ, तपाई आफै भन्नुस हामीलाई पायक पर्यो र ? म भोट हाल्न योग्य भएदेखि तपाईको नियमित मतदाता हो । तपाईको पार्टिको कुनै सदस्यता लिएको त छैन तर लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सुनिक्षित रहेकाले आम नागरिकको प्रतिनिधित्व हुने गरि बिचार, प्रतिक्रिया समेट्ने प्रयास मात्र हो । जुभुङ्ग, घोराहा जहाँ तपाईको मावली घर पनि हो, जहाँ तपाईलाई शत प्रतिशत भोट खस्ने ठाँउ हो ।

आजसम्म तपाईको पार्टि बाहेक अरु कोहि भोट माग्न आउन पनि नसकेको ठाँउ हो, तपाई मामाघर जाँदाखेरी घरै अगाडीको त्यो जिर्ण काठको पुल देख्नु भएको छ ? सयौं भाईबहिनाको उज्ज्वल भबिष्य बोकेको त्यो पुलमा कति बच्चाले खुट्टा अड्काए, दुर्घटित भए, कति त्रासपूर्ण यात्रा गरेको कहिल्यै देख्नु भएको छ ? समृद्द नेपाल र सुखी नेपालीको नारा घन्काउँदा अझै हामी मक्किएको काठको पुलमा यात्रा गर्नु पर्ने हो र ? त्यहि बढिगाढ खोलामा तटबन्धि नभएर खोलाले बस्ति तिर बाटो सोझ्याउदै छ, खोलामा पानीको बहाब अलिकति बढ्यो भने त्राहि त्राहि हुन्छौं । खानेपानी पल्लो गाँउ रुपाकोटबाट आफ्नै लगानीमा अस्थाई रुपमा चलाई रहेको यहालाई थाहा नै छैन होला । त्यो पनि कहिले सम्म हो टुंगो छैन ।

अब कुरा गरौ बिजुली बत्तिको: आकाशमा कालो बादल देखिएपछि बत्ति जान सुरु गर्छ । म दावाका साथ भन्दछु यो क्षेत्रमा दैनिक ५ पटक र पानी परेको बेला दैनिक २७ पटक बत्ति आउने-जाने गर्छ । भारि बर्षा भयो भने लगातार ३ दिन बत्ति आउँदैन । हामीले सम्बन्धित निकायमा सम्पर्क गरेपनि कर्मचारीले फोन घुमाउछन तर समाधान हुदैन । हामी आफै घुम्छौ, हिस्स हुन्छौ, समाधान त परै जाओस चित्त बुझ्दो जवाफ पनि आउँदैन । लगातार ३ घण्टा बत्ति गयो भने मोबाईलमा टावर टिप्दैन, कसैसंग सम्पर्क नभई बस्नु पर्छ । अब तपाई आफै भन्नुस म शहर छोडेर गाउमै फर्केर केहि गर्छु भन्दा मलाई कुनै बिकासका साधनले साथ दिदैन भने, को गाँउ फर्किन्छ होला र कमरेड ?

गुल्मिदरबारको सबैभन्दा ठुलोे फाँट हो मेरो गाँउ, जहां कृषिको प्रचुर सम्भावना छ, तर भण्डारणको समस्या र बजार अभाबले कृषि लगानी नै उदेकलाग्दो भैसकेको छ । कथंकदाचित, यो मेरो दुखेसो तपाईको मोबाइल सम्म पुग्यो र पढ्नु भयो भने तपाइँ कुन धरातलमा आएर सोच्नु हुन्छ या पार्टिको पटक पटक मन्त्री र गरिमामय पद सम्झिनु हुन्छ, म कन्फ्युजनमा छु । यति लेख्दै गर्दा तपाईलाई अन्याय हुन्छ जस्तो लाग्दैन । तपाई उम्मेदवार उठेदेखि तपाईलाई नै भोट दिने भेगले गुनासो पनि तपाई सामु नै राख्नु हाम्रो अधिकार हो ।

परको कुरा छोडौ तपाइँ आफै जन्मेको ठाउँ र तपाईले उठाएको बलेटक्सार, रानीबास र चौताराको रिङ्गरोडको हालत र तस्बिर मैले तपाईलाई मेसेन्जर मा पठाउनु उचित होला र ? तपाईको योग्यता, निष्ठा र शालिनतामाथि कहिल्यै प्रश्न गर्ने ठाउ छैन र गर्ने दिन पनि नआओस । यसो भन्दै गर्दा सबै समस्या र गुनासा तपाईलाई मात्र थोपर्न खोजेको पक्कै होइन तर समृद्दिका लामा कुरा गर्दा, देशको काचुली फेर्ने कुरा गर्दा, यहाँले उठाएका आफ्नै मुद्दा सम्बोधन भए जस्तो लाग्छ ? यी माथिका समस्या कुनै ठुला योजना बनाउन पर्ने खालका छन् र ? झिना, मसिना समस्या र आधारभूत आबस्यकताका कुरा पनि पुरा भएनन् भन्ने मात्र हो ।

हामीले महत्वकांक्षी बिकासको अपेक्षा गरेका पनि थिएनौ। एउटै सपनाका लागि हिजो बुवाले तपाईलाई भोट दिनुभयो, आज म तपाईलाई भोट दिएं र भोलि मेरा सन्तानले पनि तपाईलाई नै भोट हाल्नु पर्ने अनि तपाईको फिस्स हासो भित्र हामि सधै अल्झिरहनु पर्ने हो ? पटक पटक मन्त्री हुँदा हर्षले छाती पिट्ने हामी, अब रुने कि हास्ने ? यति पाको उमेरको मान्छे, बौद्दिक मान्छे, यतिका बर्ष सम्म राजनीति गर्दै गर्दा एउटा कुनै सक्षम युवाले अवसर नपाउने नै हो त ? तपाईहरु आफुले जित्नको लागि नानाथरी पार्टीसंग गठबन्धन र सांठगांठ गर्न हुने, सिद्दान्त र चिन्ह फेर्न हुने तर हामी जन्मिदै एमाले र सधै सुर्य चिन्हको झोले हुनु पर्ने हो र कमरेड ?

अन्त्यमा मेरो एउटै आग्रह छ, तपाई यदि आफ्नो लागि मात्र सपना नदेखेर अरुको पनि सपना बोकेर हिड्नु भएको छ भने पुरा गरिदिनुस, होइन भने हामी सधै तपाइको बिरासत बन्न जरुरि छ जस्तो लाग्दैन । अब हाम्रो भेगलाई चुनाब “नखाउं दिनभरिको शिकार, खाउं कान्छा बाउको अनुहार” बनाउनु भएको छ । अहिले समय आएको छ, तपाईले भने जस्तै सुर्य भोलि फेरी उदाउला भनेर बस्ने दिन पनि नआउला । सुर्यका किरण नपुगेका ठाँउमा पनि फुल र पल्लबीहरु फहरिरहेका हुन्छन ।

पत्रलाई बिट मार्दै गर्दा, मलाई थाहा छ, यी कुरा तपाईलाई सिकाईरहनु पर्दैन, तै पनि एउटा मतदाताको प्रतिनिधिको आवाज राख्ने जमर्को हो । फेरी पनि अपेक्षा छ प्रदिप ज्ञवाली बोल्दा, जनताले आफ्नो आवाजको महसुस गरुन, जननेताको आभास गर्न सकुन ।

भुवन गौतम
गुल्मिदरबार गाउँपालिका – २ जुभुङ्ग (घोराहा)
हाल : काठमाडौँ

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D