gulminews logo
शनिबार, २०८१ बैशाख १५

अधुरै रहनेभए घोषणापत्रका प्रतिबद्धताहरु

हुमाकान्त पोखरेल
गुल्मी २८ मंसिर । नेपाली काङ्ग्रेस सत्यवती गाउँपालिकाले गाउँपालिकाको निर्वाचनअघि आप्mनो पार्टी निर्वाचित भए पालिकाको आम्दानीको स्रोत बढाउन खानी उत्खनन् गर्ने वाचा गरेको थियो । रुद्रावती लगायतका नदिमा जलविद्युत उत्पादन गर्न सकिन्छ कि भनेर अध्ययन गर्ने वाचा पनि गरेको थियो ।

कांग्रेसले दुई वडासहित गाउँपालिका अध्यक्ष जित्यो । तर वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर रानाका अनुसार अहिलेसम्म यी दुवै कामका लागि सम्भाव्यवता अध्ययन समेत भएको छैन । सत्यवतीभित्र रिङरोड बनाउने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको थियो । त्यसका लागि सुरुको बर्ष ३० लाख रुपैयाँ छुट्याइएको थियो । तर भौगोलिक अवस्थाका कारण देखाउदै यो काम रोकिएको छ ।

सत्यवतीका एउटा वडामा एउटा पुस्तकालय बनाउने, गरिबका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने काँ्ग्रेसको चुनावी वाचा पनि वाचामै सिमित भएको छ । उक्त कुरा न त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, न त त्यसका लागि बजेट नै छुट्याइएको छ । निर्वाचनका बेला प्रत्येक वडामा कम्तिमा एउटा कोल्डस्टोर बनाउने वाचा पनि वाचामै सिमित भएको छ । सत्यवतीमा अहिलेसम्म एउटा पनि कोल्डस्टोर बनेको छैन ।

नेकपा एमाले, रेसुङ्गा नगरपालिकाले चुनावी घोषणापत्रमा पाँच बर्षमा तम्घासदेखि प्रत्येक वडाको केन्द्रसम्मको सडक कालोपत्रे गर्ने उल्लेख गरेको छ । सबै वडालाई समेट्ने रेसुङ्गा चक्रपथको निर्माण गरी कालोपत्रे गर्ने उल्लेख छ । निर्वाचनमा चार वडाध्यक्षसहित मेयर र उपमेयर एमालेले जित्यो । तर अहिलेसम्म रेसुङ्गाका २ वडा कार्यालयसम्म मात्रै पक्कि सडक पुगेको छ । बाँकी १२ वडा कार्यालय जोड्ने सडक कालोपत्रे भएको छैन ।

एमालेको घोषणापत्रमा नगर बस संचालन गर्ने र निःशुल्क शिक्षा नीति लागू गर्ने कुरा उल्लेख छ । अहिलेसम्म नगरपालिकामा एउटा पनि नगरबस संचालन गरिएको छैन भने तम्घासका निजि र सामुदायिक विद्यालय गाभ्नेतर्फ पनि नगरपालिकाले पहल गरेको छैन । उल्टो सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना, कम्युटर र अङ्ग्रेजी शिक्षाको नाममा चर्को शुल्क असुलिरहेका छन् ।

प्रत्येक वडामा युवा सूचना केन्द्र र ई–लाइब्रेरी स्थापना गरिने एमालेको घोषणापत्रमा उल्लेख भएपनि हालसम्म त्यसको एक प्रतिशत काम पनि भएको छैन । त्यसैगरी रेसुङ्गा र अर्जुनसम्मको क्षेत्रमा व्यवस्थित पार्क, विश्रामस्थल बनाउने कुरा उल्लेख छ । गड्जुरा र उनायचौरमा पशुपंक्षी संरक्षण केन्द्रसहितको आकर्षक पार्क बनाउने, बन्जीजम्प र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने वाचा गरेको भएपनि केही काम भएको छैन ।

वडाका सबै स्वास्थ्य चौकीमा चौविसै घण्टा बर्थिङ सेन्टर संचालन र सबै वडामा एम्बुलेन्स सेवा संचालन गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । हालसम्म एउटा वडामा मात्रै बर्थिङ सेन्टर संचालन भएको छ भने नगरपालिका मातहतमा एउटा पनि एम्बुलेन्स नभएको स्वास्थ्य संयोजक बोम अर्यालले बताए । फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएपनि स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकेको छैन । दलित तथा विपन्न समुदायका बालबालिकाहरुले उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर्ने वाचा गरिएको थियो । तर अहिलेसम्म नगरपालिकाले निःशुल्क शिक्षाका लागि कसैलाई पनि सिफारिस नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । सभागृह बनाउने वाचा पनि एमालेले गरेको थियो ।

नगरपालिकाकी उपमेयर सीता भण्डारीले बनाउने ठाउँ नपाएर सभागृह नबनाएको तथा गड्जुरामा पार्क बनाउन सात करोडको टेन्डर आह्वान गरिएको पनि उनले बताइन् । निःशुल्क शिक्षा, नगरबस लगायतका चुनावी एजेन्डा भने कार्यान्वयन गर्न नसकेको उनले स्वीकार गरिन् । पालिकामा सिमित स्रोत, साधन, दक्ष जनशक्तिको अभाव, प्रदेश तथा केन्द्रमा राजनीतिक अस्थिरता लगायतले काममा बाधा पुगेको उनले बताइन् ।

सत्यवती र रेसुङ्गा मात्रै होइन गुल्मीका १० गाउँपालिका र दुई नगरपालिकामध्ये अधिकाशं मा विजयी भएका दलले आफ्नो घोषणापत्र फर्केर नहेर्दा आपूmले गरेका वाचा पूरा गर्नेतर्फ काम भएको छैन । काङ्ग्रेस गुल्मीदरबार र कालिगण्डकीले घोषणा पत्र नबनाईकन मौखिक प्रतिवद्धताका आधारमा चुनाव जितेका थिए । रुरुक्षेत्र, मदाने, धुर्कोट लगायतका पालिकामा पनि सम्बन्धित दलको प्रतिवद्धताअनुसार काम भएका छैनन् । चुनावपछि चुनावमा विजयी दलले आप्mना चुनावी वाचा के भए भनेर नहेर्दा ती वाचा फोस्रा सावित भएका छन् ।

०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा एमाले इस्मा गाउँ कमिटीले आफ्नो घोषाापत्रमा गाउँपालिका मातहतमा रहने सरकारी कार्यालयहरुका भौतिक संरचना निर्माण गर्ने उल्लेख छ । त्यस्तै महत्वपूर्ण सडकहरु पाँच बर्षभित्र कालोपोत्रे गर्ने, सबै वडाहरुलाई जोड्न रिङरोड, कम्तिमा एक हजार जना अट्ने सुविधासम्पन्न हल र बस पार्क बनाउने उल्लेख छ । तर यी काम नभएकाले उनीहरुको घोषणापत्रले नै जनप्रतिनिधि र सिङ्गो एमालेलाई प्रश्न गरिरहेको छ ।

एमालेले इस्मालाई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने वाचा गरेको थियो । एमालेको नेतृत्वमा बहुमतको सरकार बन्यो तर उक्त योजना थालियो मात्र, सम्पन्न भएको छैन । प्रत्येक वडामा खेलमैदान बनाउने वाचा पनि एमालेले गरेको थियो । तर रामदलचौरमा बन्दै गरेको खेलमैदान पनि बजेट नभएर रोकिएको छ । गाउँपालिकाका आवश्यक स्थानमा कृषि उपज तथा दुग्ध संकलन केन्द्रको स्थापना र कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने वाचा एमालेले गरेको थियो । पर्यटकीय स्थानसम्म पुग्न व्यवस्थित पदमार्ग, पार्क र भ्युटावर बनाउने प्रतिवद्धता एमालेले गरेको थियो । तर अहिले ति सबै वाचा बिर्सिइएका छन् ।

इस्मा गाउँपालिकामा एक घर एक धारा, इस्माकोट मन्दिरको पुर्ननिर्माण तथा खरका छानामुक्त अभियान भने तिब्र गतिमा अगाडी बढेका छन । सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याइदिने भनिएको थियो तर संघीय सरकारले यस्तो भत्ता बैंकीङ्क प्रणालीमार्फत भुक्तानी गर्ने नीति लागु गरेपछि कतिपय नागरिकहरु यस्तो भत्ता लिन तम्घाससम्म धाउनुपरेको छ ।

मुसिकोट नगरपालिकामा विजयी भएको नेकपा एमालेले मुसिकोटमा दुईवटा चक्रपथ निर्माण गर्ने वाचा गएको चुनावमा गरेको थियो । छ ठाउँमा पक्की पुल र आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल, प्रत्येक वडामा खेलमैदान, र ग्वादीका चौरमा क्षेत्रीय स्तरको रंगशाला बनाउने एमालेको चुनावी वाचाले गर्दा एमालेले युवाहरुको भोट तानेको थियो । सबै वडाहरुमा दुई÷दुईवटा बालउद्यान, आँपचौरदेखि वामीसम्म र दोभानदेखि राक्सेसम्म नमूना वस्ती, डम्पिङ साइट, बृद्धाश्रम, ५० शैयाको अस्पताल बनाउने, पालिकाभित्रै स्नातकोत्तर सम्मको पढाइको व्यवस्था गर्ने एमालेका मुख्य वाचा थिए ।

चक्रपथ बनाउन सुरुका दुई बर्ष काम भएपनि अहिले काम रोकिएको छ । छ मध्ये एउटा मात्रै पक्की पुल बनेको छ भने बाँकी तीनओटा निर्माणाधिन छन् । तीनवटा झोलुङ्गे पुल बनेका छन् । सबै वडामा खेलमैदान भएपनि व्यवस्थित नभएको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले स्वीकार गरे । नगरपालिकाले अहिलेसम्म एउटा पनि बालउद्यान बनाएको छैन । नमुना बस्ती, बृद्धाश्रम र डम्पिङ साइट एमाले मुसिकोटको लागि चुनाव जित्ने नारा मात्रै बन्यो, काम भने भएको छैन । नगरपालिकामा ५० शैयाको अस्पतालको लागि ठेक्का प्रक्रिया शुरु भएको काफ्लेले बताए ।

एमाले छत्रकोट गाउँपालिकाले १२ कक्षासम्मको पढाई निःशुल्क गर्ने, रोजगारमुलक शिक्षा प्रदान गर्ने, सबै वडामा बालविकास केन्द्रको स्थापना गर्ने, प्राविधिक विद्यालयको स्थापना गर्ने लगायतका वाचा गरेर विद्यार्थी एवम् उनका अभिभावकको भोट लियो । सबै वडामा प्रसुती केन्द्रको स्थापना गर्ने, एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, छ÷छ महिनामा सबैको स्वास्थ्य परीक्षण गराउने, लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने एमालेका चुनावी वाचा हुन् । त्यस्तै सार्वजनिक शौचालय बनाउने, १ बर्षभित्र पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने, सबै सडक कालोपत्रे गर्ने, गाउँपालिका भित्र सार्वजनिक यातायात चलाउने, सबै ठाउँमा स्टिल पोल राख्ने, सुचना केन्द्रको स्थापना गर्ने वाचा पनि एमालेले गरेको थियो ।

प्रत्येक वडामा पशु सेवा केन्द्रको स्थापना, जे.टि.ए.को व्यवस्था, शित भण्डार र दुध चिस्यान केन्द्रको स्थापना, कृषि उपजको बजारीकरणको ग्यारेन्टी, खाद्यान्न भण्डार र कृषि तालिम केन्द्रको स्थापना पनि एमालेको तर्फबाट नागरिकलाई दिइएका आश्वासन हुन् । यस्तै, जेष्ठ नागरिकका लागि बृद्धाश्रमको व्यवस्था, पहिरो गएका विभिन्न स्थानहरुमा तारजाली र बृक्षारोपण, प्याराग्लाइडिङ, पार्क, होमस्टेको स्थापना, सबै वडामा पुस्तकालय, वाचनालय, संग्राह्लय, सुविधा सम्पन्न सामुदायिक भवन, हाटबजार स्थलको निर्माण र प्रत्येक वडामा वैङ्क शाखा खोल्ने एमालेको चुनावी प्रतिवद्धता हो । यिनै प्रतिवद्धताका आधारमा गाउँपालिकामा मधुकृष्ण पन्थको नेतृत्वमा रहेको समुह विजयी भयो । तर अहिलेसम्म जनप्रतिनिधिले आपूmले के वाचा गरेका थियौँ भनेर हेरेका छैनन् । छत्रकोटमा हर्दिनेटा लगायतका स्थानमा एम्बुलेन्स सुविधा समेत छैन भने कतिपय स्वास्थ्य संस्थाका आफ्नै भवन समेत छैनन् । यसले गर्दा सेवा प्रवाहमा कठिनाई भएको छ ।

नेकपा एमाले मालिका गाउँपालिकाले प्रत्येक वडामा वित्तिय संस्थाको स्थापना गर्ने, रेमिट्यान्सको रकम सबै वडाहरुबाट झिक्न मिल्ने, दुई बर्ष भित्र सबै वडामा विद्युतिकरण गर्ने र काठका पोल भएका ठाउँमा स्टिलका पोल राख्ने प्रतिवद्धता जनाएको थियो । अहिलेसम्म तीनओटा वडामा वित्तिय संस्था पुग्न सकेका छैनन भने सबै वडामा स्टिल पोल पनि राखिएको छैन ।

एमालेले गाउँपालिका भित्रै रेडियो संचालन गर्ने कुरा घोषणापत्रमा उल्लेख गरेपनि उक्त बिषय गाउँपालिकाको नीति तथा कार्यक्रममै परेको छैन । विपन्न परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम संचालन गर्ने कार्यक्रम राखेपनि निर्वाचित प्रतिनिधिहरुले त्यसलाई संस्थागत गर्न सकेका छैनन् । निर्वाचनका बेला पालिकाभित्रै बहुमुखी क्याम्पस स्थापना गर्ने एमालेको प्रतिवद्धता हो । तर एमालेकै नेतृत्वमा सरकार गठन भएको चौथो बर्षमा गाउँपालिकाले बार्षिक दुई लाखमा रेसुङ्गा बहुमुखी क्याम्पससँग स्नातक स्तरमा मालिकामा जागिर गर्ने विद्यार्थी अध्ययन सम्झौता गरेको छ । गाउँपालिकाभित्र कम्तिमा २० शैयाको अस्पताल निर्माण गर्ने भनेपनि छापहिलेमा लिएको जग्गामा अस्पताल बनाउन नसक्दा जग्गा अलपत्र परेको छ । स्थानीय धनु गिरी, चुुम्ब गिरी, मदन गिरी लगायतको अनुदानमा लिएको जग्गा छोडेर अर्खबाङ्गमा अस्पतालको शिलन्यास गरेपछि उनीहरुले आफ्नो जग्गा फिता पनि लिन सकेका छैनन ।

संस्कृती र पर्यटन विकासको लागि गाउँपालिकाले अर्खबाङ्गमा केबुलकारको सम्भाव्यवता अध्ययन गर्ने भनेपनि अहिलेसम्म अध्ययन गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले स्वीकार गरे ।

खामलेकमा भ्यूटावर निर्माण गर्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म टावर निर्माणको काम सुरु भएको छैन । विद्यालयमै बक्सिङ, कराते, फुटबल र भलिबल खेलको तालिम संचालन गर्ने एमालेको चुनावी घोषणा पत्र हो । तर अहिलेसम्म न तालिम संचालन भएको छैन । त्यसका लागि गाउँपालिकाले खेल शिक्षक नियक्त गरेको प्रवक्ता गिरीले बताए । एमालेले प्रत्येक वडामा बर्थिङ सेन्टर संचालन गर्ने चुनावी वाचा भने पूरा गरेको छ । त्यस्तै जस्ता पाता लगाउने र एक घर एक धारा कार्यक्रम पूरा गर्ने चरणमा रहेको छ । राति पनि अवतरण गर्न सक्नेगरी हेलिप्याडको निर्माण गरेको छ ।

नेपाली काङ्ग्रेस चन्द्रकोटले पनि चुनावी वाचा गरेको छैन । बाँकी रहेको कार्यकालमा पनि पूरा गर्ने कुनै सङ्केत छैन । विपन्न परिवारका बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने काङ्ग्रेसको प्रमुख चुनावी वाचा हो । सार्वजनिक पुस्तकालय बनाउने काङ्ग्रेसको वाचा पनि पूरा गर्न काम थालिएको छैन । काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दोर्ण खत्री शैक्षिक व्यक्ति भएकोले शिक्षासँग सम्बन्धित महत्वपूर्ण योजना अगाडी सारेपनि निर्वाचनपछि योजनाहरु संस्थागत गर्न नसक्दा ती वाचामै सिमित भएका छन् । अक्सिजनसहितको एम्बुलेन्स संचालन र युवाहरुलाई कुलतबाट फसाउनबाट जोखिने तालिम संचालन गर्ने काङ्ग्रेसको योजना पनि विफल जस्तै भएको छ । पालिकाभित्र बृद्धाश्रम निर्माण गर्ने, देश–विदेशमा रहेका पालिकाका नागरिकहरुसँग सम्पर्क गर्नको लागि विभिन्न सम्पर्क समाज गठन गर्ने, प्रत्येक वडामा फराकिला खेलमैदान र मिटिङ हल बनाउने काङ्ग्रेसको चुनावी वाचा पनि फोस्रा सावित भएका छन् । चुनाव घोषणापत्रमा उल्लेख गरिएको पशुपक्षिंको बीमा गर्ने कार्यक्रमअन्तरगत गाउँपालिकाले वडा नम्बर २ का सौभाग्य शाहले पालेका बाख्राको ५० प्रतिशत अनुदानमा बिमा गराइदियो । बिमा गरेको १५ दिनपछि बाख्रा फर्ममा आगलागि हुँदा समेत अहिलेसम्म शाहले बिमाबापतको क्षतिपूर्तिको रकम पाएका छैनन् ।

सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले भौगोलिक कारणले धेरै योजना पुरा गर्न नसकेको प्रतिक्रिया दिए । खनिज उत्खनन्, रिङरोड, हाइड्रो लगायतका योजना पुरा गर्न प्रयास गरेपनि सम्भव नभएको उनले बताए । अहिलेसम्म तीनओटा सार्वजनिक शौचालय बनाएको, अधिकांश ठाउँमा शाखारहित बैङ्किक सेवा पुगेको उनले दाबी गरे । प्रत्येक वडामा खेलमैदान बनाएको र वडा वडामा रनिङ्ग शिल्ड संचालन गरेको उनको दाबी छ । कोल्डस्टोरका लागि धेरै लागत लाग्ने तथा संचालन गर्न गर्न कठिन हुने भएकाले यो काम नभएको उनले बताए । एक करोड ६० लाख लागतमा विपन्नका २३ घर बनेको, ०७६ साउनको पहिरोबाट क्षति भएका परिवारलाई अन्त बसाएको, दुध, मासु र अण्डामा आत्मनिर्भर भएको जस्ता बिषय घोषणापत्रमा उल्लेख गरेभन्दा पनि बढी काम गरेको उनले दाबी गरे ।

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले निर्वाचनमा बोलेकामध्ये ७५ प्रतिशतभन्दा बढी काम भएको दाबी गरे । रिङरोडका लागि यो बर्ष ट्र्याक खोलेर सकिएको, कृषि उपज संकलन केन्द्र छल्दीमा बनाउदैँ गरेको, भ्यू टावरका लागि बजेट बिनियोजन गरिएको जस्ता काम भएको उनले बताए । वडा नम्बर ३ र ४ मा भौगोलिक अवस्थाले साथ नदिएर खेलमैदान नबनाएको तर प्रत्येक वडामा हेलिप्याड बनाएको उनले बताए । कालोपत्रे सडकको लागि बर्तमान सरकारले योजना कटौति गरेकोले सम्भव नहुने उनले बताए । पालिकाको केन्द्र विवादले बस पार्क लगायतका अन्य भौतिक संरचना बन्न नसकेको उनले स्वीकार गरे । बाख्रापालन, हेलिप्याड बनाउने, औधोगिक ग्राम बनाउने बिषयमा घोषणापत्रमा नभएपनि आवश्यकता भएकाले यी काम गरेको उनले बताए ।

मालिका गाउँपालिकाका प्रवक्त शोभाखर गिरीले स्टिल पोलको लागि प्रदेशले बजेट बिनियोजन गरेको बताए । रेडियो र क्याम्पसको लागि सम्भाव्यवता अध्ययन गरेपनि गाउँमा चल्न नसक्ने भएकोले स्थापनातर्फ नलागेको प्रतिक्रिया उनले दिए । छापहिलेमा बन्ने भनिएको अस्पताल तत्कालिन संघीय सरकारको लाहापरवाहीले बन्न नसकेको उनले बताए । घोषणापत्रमा उल्लेख गरिएकामध्ये कतिपय काम सुरु नै नगरिएको, कतिपय निर्माणाधिन रहेको उनले बताए ।

घोषणापत्र सैद्धान्तिक बिषय हो ः जिसस प्रमुख

जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले निर्वाचनताका लेखिएका घोषणापत्र सैद्धान्तिक बिषय रहेको बताए । घोषणापत्र जस्ताको तस्तै लागु नगरेपनि केही प्रतिवद्धता भने पुरा भएको पराजुलीले बताए । ‘संविधानले समाजवादमा जाने उल्लेख गरेको छ, त्यसको लागि सिढीँ नभएर आधार तयार भएको छ ।’ उनले भने, ‘कर्मचारी व्यवस्थापन, स्रोत साधनको कमी लगायतका समस्या भए पनि स्थानीय सरकारले काम गरेका छन् ।’ पाँच बर्षमा केही उपलब्धि भए पनि ठ्याक्कै देखिने काम नभएको उनले बताए । त्यसका साथै पालिका अध्यक्षहरुले अधिकार आफुमा मात्रै केन्द्रित गर्न खोजेको बताए ।

घोषणापत्र जनमत तान्ने माध्यम मात्रै बने ः पाण्डे

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले राजनीतिक दलका घोषणापत्र जनमत आफुतिर तान्ने माध्यम मात्रै भएको तर चुनाव जितिसकेपछि दलले प्रतिवपद्धता पत्र थन्काउने गरेको आरोप लगाए । घोषणापत्रअनुसारको काम नहुदा जनतामा निराशा छाएको उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D