प्रेम सुनार
असार १ । ५ नम्वर प्रदेश अन्तर्गत रुपन्देहीमा केहि दिन अघि एक युवा जवरजस्ती विवाहको अर्को दिन विहान मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर–७ अमुवा हिरागञ्जका ३२ वर्षिय कर्णबहादुर बुढाथोकीलाई स्थानिय अन्दाजी ३२ वर्षिया रुकमणी खवाससंग माया प्रेम रहेको भन्दै उनको समुदायले जेठ २४ गते विवाह गराएका थिए । त्यस विवाहलाई बुढाथोकीका परिवारजनले जवरजस्ती भनेका छन् ।
लामो समय देखि उनिहरु बिच प्रेम सम्वन्ध रहेको भन्दै ति युवतीका परिवारजनले बुढाथोकीको छिमेकमै आई उनलाई विवाह नगरे ज्यान मार्ने सम्मको धम्की दिई जवरजस्ती विवाह गराईदिएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताए । ‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै मानेका थिएनन्’, उनले भने, ‘ केटी पक्षको ठुलो जमात आई ज्यान मार्ने सम्मको धम्की दिए पछि विवाह गर्न बाध्य भएका थिए उनी ।’
जवरजस्ती विवाह भएका कारण घरमा बस्न नचाहेर बुटवलको दोस्ती रेष्टुरेन्ट एण्ड लजमा उनिहरु दुवै जना बस्न गएका थिए त्यस रात । त्यस लजका सञ्चालक किरण पाण्डेसंग सम्पर्क राख्दा उनले भने, ‘उनिहरु त्यस्तै साँझ ६ वजे तिर आएका थिए । १०८ नम्वर रुम बुक गरेका थिए । उनिहरुसंग एक महिला सहित ८-९ जना मानिसहरु पनि आएका थिए । अरु मानिसहरु राती साढे दश वजे सम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । केहि विवाद जस्तो पनि पाईन्थ्यो तर हामी त्यता पट्टि लागेनौ । उनिहरु सवै जना राती हिडे पछि उनिहरु दुई जना रुममा सुत्न गएका थिए ।”
पाण्डेले थपे, “विहान त्यस्तै साढे ६ वजेतिर उनिहरु दुवै जना कोठाबाट निस्केर ढोका खोल्न लगाए । हाम्रो स्टाफले ढोका खोलेपछि नवदुलही सामान किन्न भन्दै वाहिर निस्कीईन । त्यस पछि वेहुला कोठा भित्र गए । उनि करिव २० मिनेटमा फर्किईन । कोठामा जाँदा चुक्कुल लगाएको देखे पछि स्टाफलाई बोलाएर ढोका हानेर खोल्दा उनि झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई फोन हानेर बोलाएका हौ ।”
मृतक बुढाथोकीका परिवारजन उनको मृत्युलाई रहश्यमय भन्दै छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् । झुण्डिएको काठको ढोका खोल्दा चुक्कुल अडाउने किलाहरु नभाँचिनु, सेतो तन्नाको डोरी बनाएर पंखाको हुपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका परिवारजनलाई पहिला थाह नदिई केटी पक्षका मानिसहरुलाई बोलाई शव उठाउन, करिव डेढ घण्टा पनि नहुँदै लुम्बिनी अञ्चल अस्पतालमा शव पुराए पछि मात्र आफुहरुलाई खवर गरिनुले उनको मृत्यु घटना रहश्यमय रहेको मृतकका परिवाजनको भनाई छ ।
रोई रोई जोडेको नाता पाईयोः डिएसपी भट्टराई
घटनाका सम्वन्धमा वुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी केशव भट्टराई संग सम्पर्क राख्दा उनले परिवारजनले जवरजस्ती विवाहको दावी गरे पनि अनुसन्धानको क्रममा त्यस्तो नखुलेको बताए । उनले भने, ‘ति महिलासंग बुझ्दा राजखुशी विवाह गरेको खुलेको छ ।२४ गते दिउँसो छिमेकीमा ति युवतीका आफन्तले स्थानियको एक घरमा केटा ति युवासंग भेट गराएको उनले बताएकी छन् ।”
उनले भनेकी छन् ‘हामी दुई जना संगै एक्लै कोठामा बस्यौं । विगतको माया-प्रेमको कुरा सम्झेर दुवै जना धेरै वेर सम्म रोयौं । दुवैले विहे गरेर संगै बस्ने हामीले निर्णय गरेपछि सवैले ताली बजाएर स्वागत गरे ।
त्यहाँबाट हामी शिद्धवावा तिर आएर साँझ सम्म बस्यौ र होटलमा सुहागरात मनाउन भन्दै गएका थियौं । डिएसपी भट्टराईका अनुसार ति दुई जना होटलमा गई सकेपछि मात्र चार पाँच जना उनका आफन्त त्यस होटलमा पुगेका थिए । घटनाको गम्भीर ढंग संग अनुसन्धान भईरहेको र ति होटलमा पुगेकाहरुसंग सोधपुछ हुदै गरेको डिएसपी भट्टराईलेबताए ।
विवाह पछि हाँसीखुशी थिएः प्रत्यक्षदर्शी
विवाहको साँझ होटलमा पुगेका बुढाथोकीका साथी कमल भट्टराईले त्यस दिन साँझ उनिहरु हाँशी खुशी रहेको बताए । उनले भने–‘ उनि र म थुप्रै वर्ष देखि निर्माण क्षेत्रमा संगै काम गर्दै आएका थियौं । उ मेरो मुटु थियो । ति केटी थारु समुदायकी हुन् । १२–१५ वर्ष देखि उनि संग माया प्रेम थियो । तर गत एक वर्ष देखि उनिहरुको सम्वन्ध टाढिए पछि त्यहाँको समुदायले पटक-पटक उनिहरुलाई भेट गराउन खोजे ।
केटीले समुदायले भेट गराउने आश मारेर आफै केटाको छिमेकमा आएर विवाह गरेका हुन । त्यो समुदायले हामी नजिकको साथी भएकोले मलाई पनि विवाहका लागि सकरात्मक बनाउन खोजेका थिए । होटलमा हाँशी खुशी कुराकानी गरियो । भन्न त उसले भनेको थियो त्यहाँका दिदी वहिनीहरुले विवाहका लागि दवाव दिए भनेर ।
मृतक पक्षका नैनबहादुर लोकचन भन्छन– भट्टराई र मृतक पहिल्लै देखिका मिलनसार साथी र निर्माण सेवा कम्पनीमा समेत पार्टनर थिए । तर पहिला जस्तो उनिहरुको सम्वन्ध राम्रो थिएन ।
पहिला ति युवती संग विवाह नगर्न सुझाउने मान्छे भट्टराई थिए । तर पछि विवाह गर्न दवाव दिने मध्येका उनै हुन पुगे । यस विषयमा हामीलाई थुप्रै खाले आशंका छ । मृतककी आमा हिमकुमारी बुढाथोकीले विवाहका लागि पटक पटक दवाद दिदै आएको बताईन ।
उनले भनिन विवाह नगरे मेरो छोरालाई ज्यान मार्ने सम्मको धम्की दिएको थियो । त्यसका वावुजुद पनि छोराले विहे गर्न मानेकै थिएन । उनले थपिन–‘ मेरो छोराले आफै ज्यान हाले कै होईन कसैले ज्यान लिएको हामीलाई आशंका छ । ’
उनि सहित मृतकको आफन्तले यतिका दिन देखि सञ्चार माध्यमा समेत यो घटना गापचुप पारिएको गुनासो गरे । बुढाथोकी र भट्टराई सुशिला निर्माण सेवा प्रा.लि संयुक्त रुपमा सञ्चालन गरी ठेक्का पट्टा गर्दै आई रहेका थिए । मृतक बुढाथोकीको पुर्खेयौंली घर बाग्लुङ्गको बुर्तिबाङ्ग हो ।