gulminews logo
बिहीबार, २०८१ बैशाख २७

प्रदेश ५ : सभामुख बन्ने दौडमा माओवादीका बराल र घर्ती

प्रदेश ५ मा एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएपछि सभामुख माओवादीले पाउने भएको छ । प्रदेश सभामा एमालेका ४१ र माओवादीका २० सांसद छन् । केही दिनमै सभामुख बन्ने नेताको टुंगो लाग्ने माओवादी प्रदेश ५ का इन्चार्ज वर्षमान पुनले बताए ।

‘एमालेले मुख्यमन्त्री लिएपछि माओवादीले सभामुख पाउँछ,’ उनले भने, ‘उम्मेदवारका विषयमा पार्टी अध्यक्षले पनि सुझाब दिनुहुन्छ । त्यसपछि दलको बैठक बसेर प्रदेशकै एकाइले सभामुख बनाउने नेताको नाम टुंगो लगाउँछ ।’

प्रदेश सभाको बैठक २१ माघमा बोलाइएको छ । सम्भव भए २० नभए २१ माघमा माओवादीले संसदीय दलको नेता चुन्ने नेता पुनको भनाइ छ । दलको नेता चयनपछि पार्टीको प्रदेश कमिटीले उपयुक्त नेतालाई सभामुखको उम्मेदवार बनाउने उनले बताए ।

सोनाम दलको नेता !
प्रदेशका वरिष्ठ नेता कुलप्रसाद केसी सोनामलाई माओवादीले संसदीय दलको नेता बनाउने तयारी गरेको छ । सिनियर नेता सोनामको नाम सभामुखका लागि चर्चामा रहे पनि उनलाई दलको नेता बनाउने तयारी माओवादीले गरेको बुझिएको छ । पार्टीका तर्फबाट दलको नेताको टुंगो लाग्ने र सभामुखको निर्वाचन भएपछि एमालेसँग छलफल गरेर सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउने तयारी माओवादीको छ ।

जेष्ठ सदस्यको सुविधा
जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई संसद भवनका रूपमा प्रयोग गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघको हलमा एउटा कोठा कार्यकक्षका रूपमा उपलब्ध गराइएको छ ।

मर्यादापालकलाई तालिम
प्रदेश सभामा खटिने मर्यादापालकलाई तालिम दिन थालिएको छ । रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीका अनुसार १५ जना मर्यादापालकलाई तालिम दिइएको छ । जसमा पाँच महिला र १० पुरुष छन् ।

पुरुष मर्यादापालकलाई दौरा सुरुवाल, कोट र महिला मर्यादापालक साडी, ब्लाउज र कोटसहितको पोसाकमा रहनेछन् । प्रहरी निरीक्षक होमबहादुर चौधरीको टोली खटिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सांसद तथा प्रदेश प्रमुख, मुख्य मन्त्रीसहित मन्त्रालयहरूमा आवश्यकताअनुसार सुरक्षाको प्रबन्ध गर्दै लगिने जानकारी दिए ।

प्रदेश सभाको अभ्यास गरिँदै
प्रदेश सभाको अनुभव नयाँ भएकाले पहिलो बैठक बस्नुभन्दा अगाडि अभ्यास गरिने भएको छ । संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालका अनुसार प्रदेश सभाको पहिलो बैठकको अघिल्लो दिन शनिबार अभ्यास गरिने भएको हो ।

यी हुन् माओवादीमा सभामुखका दाबेदार
प्रदेश सभामुखका लागि गुल्मी १ (क) बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती मुख्य दाबेदार देखिएका छन् ।

घर्ती माओवादीको प्रदेश ५ का संयोजक हुन् । खस–आर्य समुदायबाट पोखरेल मुख्यमन्त्री भएपछि जातीय सन्तुलन मिलाउन पनि अर्को समुदायका नेतालाई सभामुख बनाउन माओवादीभित्रै दबाब छ । यस्तोमा घर्ती र बराल मुख्य दाबेदार देखिएको माओवादी स्रोत बताउँछ । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुख वा मन्त्रीका लागि दाबी गरेका छन् ।

के भन्छन् दाबेदार ?

इमानदार सिपाही हुँ सुदर्शन बराल
पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको छु । मलाई यही चाहिन्छ भनेर दाबी गरेको छैन । पार्टीले जिम्मेवारी दिएमा पूरा गर्न तयार छु । सभामुखको सवालमा पार्टीका नेताहरूले प्रस्ताव ल्याउनु भएको छ । केन्द्रीय सांसदको अनुभव भएको र कानुनको विद्यार्थी भएको हिसाबले मलाई सभामुख बनाउँदा उपयुक्त हुन्छ भन्ने उहाँहरूको भनाइ छ ।

म पनि योग्य छु पूर्ण घर्ती
मेरो आफ्नै दाबी र रुचिले मात्रै पनि हुँदैन, यसमा पार्टीले नै अन्तिम निर्णय गर्छ । पार्टीमा हामी धेरै सिनियर साथी छौँ । धेरै दाबेदार छन् । मेरो पनि सभामुखका लागि दाबेदारी छ । को सभामुख बन्ने भन्ने विषयको टुंगो दुई दिनमै लगाउँछौँ ।

सभामुख माघभित्रै
प्रदेश ५ को सभामुख चयन माघभित्रै हुने सम्भावना छ । प्रदेश सभाको पहिलो बैठकले सभामुख चयनको मिति तोक्नेछ । संसद् सचिवालयबाट आएका सहसचिव सुरेन्द्र अर्याल पहिलो बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाइने बताउँछन् । त्यस्तै, ज्येष्ठ सदस्यले शुभकामना र बधाई दिएपछि आगामी बैठकको सञ्चालनसम्बन्धी मस्यौदा पारित गरिनेछ । राष्ट्रिय सभाको निर्वाचन रहेकाले सभामुखको निर्वाचन केही दिन पर सर्ने बताइएको छ ।

यसरी बन्दै छन् सभामुख र उपसभामुखका कार्यालय
सभामुख र उपसभामुखका कार्यकक्षको व्यवस्थापनमा संसद् सचिवालयको टिम जुटेको छ । प्रदेश सभा हलको भवनसँगै रहेको अर्को भवनमा सभामुख तथा उपसभामुखको कार्यकक्ष राखिने भएको छ । बुटवल उद्योग वाणिज्य संघको सभाहल प्रदेश सभा हलका रूपमा परिणत गरिएको छ । संघकै अर्को भवनमा संसद् सचिवालय राखिनेछ । यसै भवनमा सभामुख तथा उपसभामुखको कार्यकक्ष राखिने भएको छ ।

सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रूपन्देहीका प्रमुख सुरेश ठाकुरसहितको टोलीले संघको सचिवालय रहेको भवन सभामुख र उपसभामुखको कार्यकक्षका लागि उपयुक्त रहेको ठहर गरेपछि तयारी थालिएको छ । यही भवनमा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलको कार्यकक्ष बनाइएको छ ।

सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्य सभामुखको भूमिकामा रहने भएकाले उनलाई तत्कालका लागि कार्यालय उपलब्ध गराइएको हो । संघका महासचिवको कार्यकक्षमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले आवश्यक फर्निचरको व्यवस्था गरिदिएपछि पोखरेलले त्यहीँबाट कार्य सञ्चालन गर्दै आएका छन् ।

यस्तो छ सभामुखको कार्यकक्ष रहने भवन
बुटवल उद्योग वाणिज्य संघले बनाएको तीन तलाको भवनको लागत डेढ करोडभन्दा बढी रहेको छ । संघका अध्यक्ष खिमबहादुर हमालका अनुसार यो भवन दुई चरणमा निर्माण भएको हो । पहिलो चरणमा दुई तला र पछि थप एक तला बनाइएको थियो ।

भवन संसद् सचिवालयसहित सभामुख तथा उपसभामुखका लागि उपयुक्त मानिएको छ । संघको भवन परिसरमा अन्य कुनै भवन नभएपछि भएकै कोठामा सभामुख र उपसभामुखका लागि कार्यालय बनाइँदै छ । दोस्रो तलामा संघको सचिवालय रहेकोमा सचिवालयलाई पहिलो तलामा सार्ने काम भइरहेको छ ।

हाल जेष्ठ सदस्यले प्रयोग गरेको कार्यकक्षलाई उपसभामुखको कार्यकक्ष र संघका अध्यक्षले प्रयोग गर्दै आएको कक्षलाई सभामुखको कार्यकक्ष बनाउने सोचअगाडि सारिएको छ । तयारीका क्रममा केन्द्रीय संसद् सचिवालयबाट आएका सहसचिव सुरेन्द्र अर्याल प्रदेश सभाको पहिलो बैठकमा सभामुख चयनको मिति तोकिने सम्भावना रहेकाले सोहीअनुसार तयारी भएको बताउँछन् ।

प्रदेश सभामा यी कार्यकक्षको पनि व्यवस्था गरिँदै
सभामुख र उपसभामुखको कार्यकक्ष मात्रै तय गरेर पुग्दैन, यहाँ प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि संसदीय दलको कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ । ‘सचिवालयका शाखा प्रशाखा एकाइका लागि १२ देखि १५ वटासम्म कक्ष आवश्यक पर्दछन्, त्यस्तै समितिका लागि हल आवश्यक पर्दछ । सचिवालय, मुख्यमन्त्रीका लागि कक्ष, विपक्षी दलका नेताका लागि कक्षको पनि व्यवस्था गर्नुपर्ने हुन्छ,’ सहसचिव अर्यालले भने ।

निवासका लागि भाडाका घर खोजिँदै
सभामुख र उपसभामुखको निवासका लागि भाडाका घर प्रयोग गरिने भएको छ । सभामुख, उपसभामुख तथा मन्त्रीहरूको निवासका लागि भैरहवास्थित लुम्बिनी भूमिगत जल परियोजनाका भवनहरू तथा गहुँबाली अनुसन्धानको भवनसमेत उपयुक्त मानिएको छ । तर, तत्काल ती भवनमा मर्मत सम्भारदेखि अन्य तयारी गर्नुपर्ने देखिएपछि भाडाका घर खोज्न लागिएको हो । -नयाँपत्रीकाबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D