हुमाकान्त पोखरेल
गुल्मी, चैत्र २८ । जिल्लाको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटनामा भएको पूर्व सासंद रुद्रमणी शर्मा भण्डारीको निधनप्रति फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत धेरैले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार हुने अन्त्यष्ठीमा नेपाली कांग्रेसका सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका नेताहरु उपस्थित हुने कार्यक्रम तय गरिएको छ । बिहीवारै गुल्मीबाट निर्वाचित हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि फोनमार्फत समवेदना दिएको पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
नेता भण्डारीको अन्त्येष्टि शुक्रबार बिहान ११ बजे धुर्कोट गाउँपालिकाको धनार्जीमा गरिने भएको छ । जिल्ला पार्टीले धार्मिक स्थल रिडीमा अन्त्येष्टी गर्ने भनेपनि परिवारको आग्रह अनुसार कर्मथलो धनार्जीमै अन्त्येष्टि गर्ने निर्णय गरिएको काङ्ग्रेस नेता महेन्द्र भण्डारीले जानकारी दिए ।
भण्डारीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनका लागि नेपाली काङ्ग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार गुल्मी आउने भएका छन् । सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका नेताहरु शुक्रबार गुल्मी आउने कार्यक्रम तय गरिएको काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
काङ्ग्रेस गुल्मीद्धारा शोक सभाका कार्यक्रम सार्वजनिक
नेपाली काङ्ग्रेसका नेता एव्ं पूर्व सासंद भण्डारीको निधनप्रति काङ्ग्रेस गुल्मीले शोक सभाका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सबै तहका पार्टी कार्यालयहरुमा सात दिनसम्म पार्टीको झण्डा झुकाउने, एक हप्तासम्म पार्टीका औपचारिक कार्यक्रमहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै ५ औँ दिन देखि ११ औँ दिनसम्म क्षेत्र, नगर र गाउँ समितिले श्रद्धाञ्जली सभा गर्ने, १२ औँ दिनका दिन वैशाख ९ गते जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।
कुल १८ दुर्घटना, १३ को मृत्यु
गुल्मीमा यस आर्थिक बर्षको श्रावणदेखी चैतसम्म नौ महिनाको अवधीमा कुल १८ दुर्घटना भएका छन् । दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ । जसमा पुरुष छ जना, महिला चारजना तथा बालबालिका तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोहि दुर्घटनामा परि ३० जना सख्त घाइते भएका छन् भने १३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्व सासंद रुद्रमणी शर्मा भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुनिवासी तत्कालिन क्षेत्र नम्बर ३ का सासंद ७१ बर्षिया रुद्रमणी शर्मा भण्डारी, मालिका गाउँपालिका १ का ८ बर्षिया ओसर विक र मालिका गाउँपालिका २ की कौशिला थापाको निधन भएको हो । सासंद भण्डारी र विकको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।
मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा परेको थियो । जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । जीपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिए । घाइतेलाई उद्दार गरि पाल्पास्थित प्रवास अस्पतालमा उपचार भइरहेको छ ।
बुबा उमाकान्त र आमा कौशिला भण्डारीको कोखबाट वि.स. २००४ साल कार्तिक १५ गते धुर्कोट गाउँपालिका ५ वस्तुमा नेता भण्डारीको जन्म भएको थियो । ने.वि.संघको स्थापनासँगै २०२८ सालबाट नेपाल विद्यार्थी संघबाट उनले राजनीतिक यात्रा सुरु गरेका थिए । बिचमा केहि समय बाग्लुङमा समेत अध्यापन गराएका नेता भण्डारीले पञ्चायतविरुद्धको आन्दोलनको क्रममा दुई महिना जेल जिवन समेत व्यक्तित गरेका थिए । ०४८ सालको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाको निर्वाचनमा विजयी भएका नेता भण्डारीले नेपाली काङ्ग्रेसमा ०५७ देखी ६० सम्म पार्टी सभापतिको भूमिका समेत निर्वाह गरेका थिए । नेता भण्डारीको निधनप्रति नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।
पार्टी सभापति भुवन प्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भण्डारीको निधनले पार्टीमा गम्भिर एवम् अतुलनिय क्षति पुगेको जनाइएको छ । त्यसका साथै भण्डारीको निधनले गुल्मी जिल्लामा मात्र नभई सिङ्गो राष्ट्रमै क्षति पुगेको काङ्ग्रेस गुल्मीले जनाएको छ । बिहिबार साँझदेखी शुक्रबार बिहानसम्म उनको पार्थीव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बि.पि. स्मृति भवन तम्घासमा राखिने सभापति श्रेष्ठले जानकारी दिए ।