टोपलाल अर्याल
गुल्मी, १४ बैशाख । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदाने गाउँपालिका ७ को पुर्कोटदहमा एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । शिविरमा तीन सय २१ जना महिला र एक सय ८९ जना पुरुष गरि पाँच सय १० जनाले नागरिक लिएका छन् । त्यस्तै दुई सय २३ महिला र एक सय ९१ पुरुषले फोटोसहितको मतदाता नाम दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । त्यस्तै दुई सय ५५ जनाले कृषि सम्बन्धि सेवा लिएका छन् ।
आर्युवेद कार्यालय मार्फत एक सय १४ जना र पशु सेवा कार्यालय मार्फत एक सय ९३ जनाले सेवा लिएको पाण्डेयले बताए । त्यस्तै घुम्ति शिविरमा नेपाल बिद्युत प्राधिकरण मार्फत नि:शुल्क मिटरवक्स प्रदान गरिएको थियो । जसका कारण नागरिक अत्यन्तै खुसी भएका थिए । ‘बुढो मान्छे घरमा बिमारी तम्घास जान नसकेर बक्ति बालेकी छैन, गाउँमै पाए खुसी छु,’ ७५ बर्षीय सावित्रा रोकाले भनिन् ‘,गरिवको पैसा पनि जोगियो ।’
शिविरमा तीन सय ७४ जनाले नि:शुल्क रुपमा मिटरवक्स लिएको कार्यालय प्रमुख नारायण अर्यालले बताए । उनले एउटा मिटरवक्स लिन सदरमुकाम पुग्दा सामान्य पनि तीन हजारदेखि पैतिस सय खर्च हुने भएकाले नागरिकलाई गाउँमै पाउँदा धेरै राहत भएको बताए । त्यस्तै नेपाल टेलिकमले शिविर माफृत तीन सय जनालाई सिम कार्ड वितरण गरेको छ । भने घरेलु मार्फत तीन जनाको व्यावसाय दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका चार स्थानमा घुम्ति शिविर गर्ने योजना रहेको छ । जस अनुसार तीन स्थानमा शिविर सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
कालीगण्डकी गाउँपालिकामा २२ र २३ फागुन तथा चन्द्रकोट गाउँपालिकामा ७ र ८ चैत्रमा शिविर सकिएको छ । दुवै शिविरमा पाँच सय ३७ महिला र तीन सय ३१ पुरुषले नागरिकता पाएका छन् । त्यस्तै छ सय ४३ जनाले मतदाता परिचयपत्र लिएको थिए । भने चार सय ४४ जनालाई कृषि सम्बन्धी परामर्श र निःशुल्क बिउबिजन वितरण गरिएको थियो । गुल्मी अस्पताल मार्फत करिव पाँच सय बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । अव अन्तिम पटक मालिका गाउँपालिकामा घुम्ति शिविर संचालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले मालिकाका गाउँपालिकाको नेटा दर्लिङ्ग लक्षित गरेर एक दिन र अरु वडालाई मध्येनजर गरेर दुई दिन गरि तीन दिन शिविर संचालन गरिने बताए ।
गाउँगाउँमा शिविर संचानल गर्दा सवैभन्दा बढि गरिव तथा बिपन्न व्यतिmलाई फाइदा हुने मदाने गाउँपालिकाका प्रमुख दान बहादुर केसीले बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालय र मदाने गाउँपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई समेत गरिएको थियो । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले गाउँपालिकाका प्रमुख गतिविधिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मदिरा नियन्त्रण हुन नसकेको, बिद्युत महसुल बुझाउन समस्या भएको, गाउँगाउँमा पोलहरु अलपत्र भएको, बजार अनुगमन नभएको लगायतका गुनासा स्थानीय नागरिकले गरेका थिए । नागरिकको गुनासाको जवाफ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी प्रमुख दिपक कुमार बस्नेत, बिद्युत प्राधिकरणका प्रमुख नारायण अर्याल लगायतले दिएका थिए । कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, जनप्रतिनिधी र राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको थियो ।