जनार्दन घिमिरे
गुल्मी । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरु मध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चराहरु भेटिएका छन् ।
गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुंगा जंगल र मदाने जंगल क्षेत्रमा कुलमध्ये २३ प्रतिशत विभिन्न प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ ।
रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षण अन्र्तगत चरा सर्बेक्षण सम्बन्धी जानकारी आदानप्रदान कार्यक्रमा रेसुंगा वन क्षेत्रमा २ सय ८ र मदाने क्षेत्रमा २ सय ७ प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।
विश्वमै दुर्लभ प्रजातिको रुपमा रहेका चराहरु मध्ये रेसुंगामा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द र डंगर गिद्द गरी चार प्रजाति र मदाने वन क्षेत्रमा लोभी पापी गरुड, गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द र कालीज प्रजातिको चिर गरी पाँच प्रजातिका चराहरु रहेको बताइएको छ ।
नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुंगा र मदाने दुवै वन क्षेत्रमा पाइने भन्दै अति संकटापूर्ण अवस्थामा रहेका चराहरुको वासस्थानलाई जोगाई राख्नका लागि त्यस क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
सन २०१५ देखि गुल्मीको रेसुंगा, वलीथुम, पराल्मी र जुभुङ्गमा संभावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डिभिजन वनकार्यालय गुल्मीसँग सहकार्य गर्दै चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आइरहेको छ ।