हुमाकान्त पोखरेल
बिहान उठेर बाहिर हेरे । नेपाल प्रहरी एक सवारी साधनमा सवार थियो । गाडीमा रहेका प्रहरीहरुले बजारका मानिसहरुलाई घरभित्र जान आग्रह गरिरहेको थियो । मैले म बस्ने घरको छतबाट मानिसका क्रियाकलाप नियालिरहेको थिए । यत्तिकैमा मिलनचोकतिरबाट एकजना महिला उदिनढुङ्गा तिर आइन् । प्रहरीले गाडी रोक्यो र सोध्यो, कहाँ जाने हो ? मास्क खै ? महिलाले भनिन्, ‘घर जाने हो ।’ त्यसपछि पनि प्रहरी र महिलाले केहिबेर कुरा गरे । सबै मैले सुनिन । त्यसपछि महिला आफ्नो बाटो लागिन र प्रहरी पनि आफ्नो बाटो लाग्यो ।
त्यसको केहि बेरपछि उदिनढुङ्गा जिपपार्कबाट केहि शशस्त्र प्रहरी मुख्य सडकतिर निस्किए । त्यत्ति नै बेला एकजना होटलका साहु घर बाहिर निस्किए । उनले मुखमा मास्क पनि लगाएका थिएनन् । प्रहरीले सोध्यो, ‘कहाँ जान थालेको, मास्क खै ?’ ‘त्यहि पर । मास्क घर छ ।’ उनले ठाडै पाराले उत्तर दिए । मलाई अचम्म लाग्यो । प्रहरीले रिसाएको पारामा भन्यो, ‘मास्क लाएर हिँड्नु न, शान देखाएको हो र ?’ उनका परिवारका अन्य सदस्यहरु घरको सटरबाट बाहिर हेरिरहेका थिए । ‘ओए मास्क ल्याओ त !’ भन्दै दुई पाइला पछाडि गए । ‘मास्क ल्याओ न छिटो ।’ उनले फेरी परिवारका सदस्यलाई थर्काएको पारामा भने । अनि फेरी अगाडी बढे । अन्तत: उनी बिनामास्क सरासर आफ्नो बाटो गए । उनले प्रहरीले भनेको टेरेनन् । शशस्त्र प्रहरी पनि उनलाई केहि भनेन । सायद उनले माक्स प्रहरीका लागि लगाइदिनेजस्तो बुझे होलान् ।
शशस्त्र प्रहरी मुख्य बाटोमा निस्कनुभन्दा केहि पहिले मेरो एकजना साथिले मोटरसाईकल गुडाएको थियो । प्रहरी देखेपछि केहि पर उनले मोटरसाइकल रोके । अनि प्रहरी मिलनचोकतर्फ अगाडी बढ्यो । प्रहरी अलि अघि बढिसकेपछि उनले सवारी पुनःचलाउन सुरु गरे, त्यो पनि बिनाजुत्ता र बिनामास्क । त्यत्तिबेला उनी चिदिचौर पुगेर फर्केका रहेछन् । पछि मैले सोधे, ‘किन बाइक चलाएको नि ? प्रहरीले देखेन कतै ?’ ‘सानो कामले चिदिचौरसम्म गएर आएको, ट्राफिक चिनेका थिएँ, केहि गरेनन् ।’ उनले जवाफ फर्काए ।
मंगलबार साँझ मोटरसाईकलमा कुखुराको दाना लैजाँदै गर्दा प्रहरीले रोकेर सोधपुध ग¥र्यो । ‘कहाँ लैजान थालेको ? लकडाउनबारे थाहा छैन र ?’ ट्राफिक प्रहरीले सोध्यो । ‘दाना पनि विक्रि गर्नुप¥र्यो, कुखुरा बचाउनुपर्यो सर, लकडाउन बारे त था छ नि ।’ उनले जवाफ फर्काए । ‘कुखुरा ठुलो कि मानिसको ज्यान ठुलो ?’ प्रहरीले भने । अनि ति व्यापारीले ‘मैले राम्ररी बुझ्छु सर ! म पनि समाजसेवी हुँ । यो अभियानमा मेरो पनि साथ छ । आदि ।’ प्रहरीले उनको बिन्ति सुनेन । दाना फर्काएर उनको पसलमा पु¥र्यायो । व्यापारिले चित्त दुखाएपनि म भने प्रहरीको कामबाट खुसि भएँ।
यतिबेला कोरोना भाइरसबाट विश्व त्रसित छ । कोरोनाबाट बच्न विश्वका अधिकाशं मुलुकहरुले ‘लकडाउन’ घोषणा गरेका छन् । त्यसबाट बच्न नेपालले पनि मंगलबारबाट लागु हुनेगरी ‘लकडाउन’ घोषणा ग¥र्यो । त्यसलाई सफल बनाउन भन्दै गुल्मी जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) ले दिएको अधिकारअनुसार प्रयोग गरी निषेधाज्ञा जारी ग¥र्यो । तर मानिसहरुले निषेधाज्ञा वा लकडाउन उल्लघंन गर्दै घरबाहिर निस्किरहेका छन् । निषेधाज्ञा जारी भएकै दिन सदरमुकाममा मात्रै १७ मोटरसाइकल र एक स्कर्पियो गरी १८ सवारी नियन्त्रणमा लियो ।
मंगलबार भन्दा बुधबार बाहिर निस्कने मानिसहरु केहि कम भएतापनि निषेधाज्ञाको पूर्ण कार्यान्वयन भने भएको छैन । मंगलबार साँझ पनि सदरमुकाम तम्घासमा कतिपय मानिसहरु समुहमा नै बाहिर निस्केको देखियो । त्यो पनि ‘इभिनिङ वर्क’ जस्तै गरी बजार घुमेका । मानिसहरुले लकडाउन भन्ने नबुझेर हो वा बुझाउन नसकेर हो अथवा बुझेर पनि नबुझेझै गरेका ! कतिपय मानिसहरुले त यो लकडाउनलाई कुनै राजनीतिक दलले गरेको बन्द झै सम्झेर साँझ ५ बजेपछि खुल्ने झै गरेको पनि पाइयो । यससम्बन्धमा मानिसहरुलाई अझ बुझाउन जरुरी छ । बुझेर पनि नबुझेजस्तै गर्नेलाई कडाभन्दा कडा कारवाही आवश्यक छ । यसमा नागरिकको तर्फबाट पूर्ण साथ र सहयोग मिल्नेछ । बिनामाक्स यसरी लाहावरवाही तरिकाले यात्रा गर्दा हामीले ठुलो क्षति बेहोर्नुपर्ने छ । यसबारेमा कतिपय जिम्मेवार मानिसहरु समेत सचेत नभएको पाइएको छ ।
बाहिर ननिस्कने भनेपछि बोर लाग्नु स्वभाविकै हो । स्वास्थ्यकर्मिहरुले भनिरहेका छन् कि, ‘कोरोना तपाइलाई खोज्दै घरमा आउदैन तर तपाई पनि कोरोना खोज्दै बाहिर ननिस्किनुहोस् ।’ यो भनाई मलाई अत्यन्तै सान्दर्भिक लागेको छ । यो समयमा हामीले सरकारले भनेको मान्नुको विकल्प छैन । हामीले सरकारलाई नाका बन्द गर्न भन्यौ । सरकारले मान्यो । अन्तरष्ट्रिय उडान बन्द गर्न भन्यौ । सरकारले बन्द ग¥र्यो । लकडाउन गर्न भन्यौ । सरकारले त्यो पनि ग¥र्यो । हामीले भनेका काम सरकारले मान्दै आएको छ । तर सरकारले भनेको एउटा काम पनि हामीले मानेनौ भने त्यसले ठुलो दुर्घटना हुनसक्छ । सरकारले नागरिकको लागि कठोर कदम चालेको हो भन्ने कुरा बुझौ र सकेसम्म घरबाहिर कोहि पनि ननिस्कौ । यदि निस्किनुपर्ने बाध्यता भएमा सुरक्षित भएर मात्र यात्रा गरौँ ।
निराश नबनौँ, आत्मबल बढाऔँ
नेपालीमा एउटा उखान छ, ‘बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाओस् ।’ अहिले हामीलाई पनि मनको बाघले खाएको छ । मानिसहरु धेरै आत्तिएका छन् । मेरो विचारमा धेरै आत्तिनुपर्दैन तर सतर्क रहनुपर्छ । गुल्मीमा पनि कोरोनालाई लक्षित गर्दै केहि कामहरु भएका छन् । सदरमुकाम तम्घासमा १६ शैयाको आइसुलेशन हाउस निर्माण गरिएको छ भने स्वास्थ्यकर्मीलाई पीपीई प्रदान गरिएको छ । स्थानीय तहले संचार माध्यममार्फत सूचना प्रशारण गर्नुका साथै जनचेतनामुलक सामग्रीहरु प्रकाशन गरेका छन् । सबै स्थानीय तहले केन्द्रमा हेल्थ डेक्स संचालन गरी पैदल यात्रुको स्वास्थ्य अवस्था जाँच गरिरहेका छन् । देशका विभिन्न शहर तथा देश बाहिरबाट पनि नागरिकहरु घर आएकोले शहर भन्दा गाउँ जोखिममा छन् । तर स्थानीय सरकारले मानिसहरुलाई घरभित्रै बस्न आग्रह गर्नुका साथै सम्बन्धित स्थानीय तहका विद्यालयमा वेड निर्माण गर्ने, देशका विभिन्न शहर वा विदेशबाट आएको तथ्याङ्क लिने गरेका छन् । बजारमा प्रहरीले गस्ति गरी मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेको छ । त्यसैले निराश नबनौं, आत्मबल बढाऔं । कोरोनाबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
(लेखक गुल्मीमा विगत पाचँ बर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । हाल उनी रासस, राजधानी राष्ट्रिय दैनिक, जनता टेलिभिजन, लुम्बिनी सामुदायिक टेलिभिजन, रेडियो स्काई लगायतका मिडियामा आवद्ध छन् ।)