चैत ३ । कृषि विकासमन्त्री चक्रपाणि खनालसहितको नेपाली टोली चीन पुगेको छ । चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा पाँच दिनसम्म चल्ने एक कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन उडेको हो ।
मन्त्री खनालको २० सदस्यीय टोलीमा भने अधिकांश कृषी क्षेत्रका भन्दा पार्टीका नेता कार्यकर्ता रहेको नागरिक न्युज डटकमले खुलासा गरेको छ । मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुईजनाले मात्र प्रतिनिधत्व गरेको र चिया किसान तथा चिया व्यवसायीको कोटामा मन्त्री आबद्ध नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला तहका कार्यकर्ता धेरै रहेको समेत रेडियो एनआरएनले जानकारी गराएको छ ।
चिया व्यवसायीको कोटामा तत्कालीन माओवादी केन्द्रका गुल्मी जिल्ला सचिव बुद्धि जिसी, गुल्मी नेकपा जिल्ला तहका नेता मधुकृष्ण पन्त, धुर्कोट गाँउपालिका अध्यक्ष भूपाल पोखरेल, गुल्मी छत्रकोटका तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे चीन गएका हुन् ।
चिया तथा कफी विकास बोर्डबाट विजय मिश्र र राम एकवाल यादव पनि सोही टोलीमा चीन गएका छन् । आयोजकले चिया विकास बोर्डलाई निमन्त्रणा पठाएको भएपनि बोर्डका अध्यक्षलाई नै नलगेर मन्त्री आफै गएको भन्दै धेरै असन्तुष्टी जनाएका छन् ।