gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चिनारी ब्लग : ‘माघे सक्रान्ती’ र रुरु क्षेत्र ‘रिडी’

सुनिता कंडेल
पुस २९ गुल्मी । माघ १ गतेलाई माघे संक्रान्ति भनेर पर्वको रुपमा मनाउने गरिन्छ । माघे संक्रान्तिलाई नेपालमा विशेष पर्वको रुपमा मनाइने गरिन्छ । यो दिन खिचडी खाने पर्वको रुपमा समेत मनाउने गर्दछन् । यो पर्वमा खिचडी घिउ, चाकु, तिलको परिकार, तरुल खाने चलन छ । यो खानाले त्रिदोष नाश हुने शास्त्रमा उल्लेख छ । हरेक चाडपर्वको आ–आफ्नै महत्व रहेको छ । धार्मिक आस्थासँग जोडेर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ ।

माघे माघेसक्रान्तीको अबसरमा गुल्मीको रिडीमा ठूलो मेला लाग्ने गर्दछ । गुल्मीकै प्रबेशद्धारमा रहेको रुरु क्षेत्र जुन धार्मिक, ऐतिहासिक एबंम पर्यटकिय महत्वले भरिपूर्ण गुल्मी जिल्ला धार्मिक ऐतिहासिक पर्यटकिय क्षेत्रले धनि जिल्ला हो । गुल्मी सदरमुकाम तम्घासबाट ४५ किलोमिटर र बुटवलबाट ७० किलो मिटरको पक्की बाटो भएर रुरुक्षेत्र रिडीमा पुग्न सकिन्छ ।

रिडी मेला ।

गुल्मीको सिमाना र अन्य जिल्लाबाट आउनेहरुको प्रबेशद्धारका रुपमा रुरु रिडी पर्दछ । यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा मान्छेअनुसार केही मतभेद रहेको पाइएको छ । रुरु नामको मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनिएको हो । तिनै कन्याले यहाँ कठोर तपस्या गरेकी हुनाले यस ठाउँको नाम उनै कन्याको नामबाट रहन गएको मान्यता छ । रुरु कन्याले तपस्या गरेर बिष्णु भगवान प्रर्कट गराएकोले यस क्षेत्र पबित्र भूमि बनेको हो । जसलाई रुरुक्षेत्र भनिन्छ । रुरुक्षेत्रलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ ।

‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो । जसमा ‘री’को अर्थ धमिलो र ‘डी’ को अर्थ पानी भन्ने हुन्छ । अर्थात धमिलो पानी बग्ने क्षेत्र भएकाले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क रहिआएको छ ।

ऋषिकेश मन्दिर

तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीको महत्व र चर्चा परिचर्चा धेरै छ । गुल्मी तर्फ रुरु गाउँपालिका वडा नम्बर १, स्याङजा तर्फ कालिगण्डकी गाउँपालिका वडा नम्बर १ र पाल्पा तर्फ तानसेन नगरपालिका वडा नम्बर १४ मा रुरु क्षेत्र पर्दछ । रुरु क्षेत्रमा गुल्मी तर्फ एक दर्जन वढि मन्दिरहरु छन् । रुरु कन्या मन्दिर,देवदत्त पार्क,बिष्णु मन्दिर,भिमसेन मन्दिर,दुर्गा मन्दिर, शिवालय मन्दिर,कृष्ण मन्दिर, भैरव मन्दिर, गोलभूते गुफा,अचम्मेश्वर जस्ता मन्दिर गुफाहरु पर्दछन् । जहाँ बिभिन्न समयमा मेला लाग्नुका साथै पूजा हुने गर्दछ । मन्दिरहरुसँगै २ वटा आश्रम रहेका छन । जहाँ करिव ४० जना जति बृद्धहरु बस्ने गर्दछन् । स्याङजा तर्फ हनुमान थान, भृगुतुङ्गेश्वर जस्ता मन्दिरहरु छन् । जहाँ बिभिन्न समयमा पूजा हुने गर्दछ ।

पाल्पा तर्फ हृषीकेश मन्दिर,शिवालय,पुरानो पाटी जस्ता मन्दिरहरु रहेका छन् । रुरु क्षेत्रको हृषीकेश मन्दिरमा नेपालकै सबैभन्दा ठुलो भगवानको मूर्ति पनि रहेको छ । मन्दिरसँगै एउटा आश्रम पनि रहेको छ, जुन मूर्ति पाचँ सय बर्ष पुरानो हो । जहाँ बृद्धहरु बस्ने गर्दछन् । हाल पनि करिव १५ जना बृद्धहरु आश्रममा बस्दै आएका छन् । पाल्पा तर्फ पर्ने मन्दिरमा पशु वलि दिइदैन् । जहाँ नरिवल मात्रै चढाउने गरिन्छ । रुरु क्षेत्रमा संस्कृत पढाउने पाठशाला रहेको छ ।

रिडी मेला।

यसले पनि हाम्रो भाषा संस्ृकतिलाई जोगाउन र बचाइ राख्न मद्दत गरेको छ । पाल्पा तर्फ रहेको हृषीकेश मन्दिरमा गायत्री गुरुकुल रहेको छ । त्यहा कर्मकाण्डसँगै शास्त्रीसम्मको अध्ययन गराउदै आएको छ । संस्कृत अध्ययनका लागि गुल्मीसँगै बिभिन्न स्थानबाट आउने गर्दछन् । रुरु क्षेत्र धार्मिकताको एउटा पाटोको रुपमा उभिएको छ । जुन स्थानबाट अध्ययन अध्यापन गराउनुले यसक्षेत्रको महत्व बढ्दै आएको छ ।

रुरु क्षेत्र कालिगण्डकी र रिडी खोलाको संगम स्थलमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, लगायत नेपालका बिभिन्न स्थानबाट शब ल्याउने गर्दछन् । मान्छे मरेपछि पार्थिव शरिरलाई अन्त्यष्टि गर्न बिभिन्न स्थानबाट ल्याउने गर्दछन् । जुन स्थानमा अन्त्यष्टि गर्नाले स्वर्गमा बास हुन्छ भन्ने मान्यता रहि आएको छ । रुरु क्षेत्र रिडी भएर बग्ने कालिगण्डकी नदिको एउटा महत्व रहि आएको छ । यो नदि मुक्तिनाथ क्षेत्रबाट बग्दै रुद्रावति गंगा मिस्सिएर रुरु क्षेत्रमा आएर रिडी नदि समेत मिसिएको छ । कालिगण्डकी नदी शालिग्रामसँगै यसको महत्व बिभिन्न धर्म शास्त्रमा रहि आएको छ । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक एबं पर्यटकीय महत्वले गुल्मी जिल्ला परिचित छ ।

गुल्मी जिल्लाको पर्यटन क्षेत्रलाई अगाडी ल्याउन रुरु क्षेत्रले एउटा महत्वपूर्ण हिस्सा ओगटेको छ । सरकारले पनि गुल्मी जिल्लामा रहेका रुरु रेसुङ्गालाई एकै पटक बिकास गर्नका लागि रुरु रेसुङ्गा क्षेत्र पर्यटन बिकास समिति नै गठन गरेर धेरै बिकासका कामहरु र यसको महत्वलाई अगाडी ल्याउन बिशेष भूमिका खेलेको छ । यो सँगै स्थानिय तह,रुरु फ्रेण्ड्स क्लब,विभिन्न संघसस्था, आमा समुहले पनि केही हदसम्म भूमिका खेलेको छ । क्लवले रुरु क्षेत्रलाई प्रचार–प्रसार गर्न केहि वर्ष यता बिशेष मेला नै आयोजना गर्ने गरेको छ । मेलालाई धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण मानिने रुरुक्षेत्रको महत्व र बिकासका कुरा गर्ने हो भने धेरै लामो इतिहास छ ।

बिभिन्न धर्मशास्त्रमा रुरु क्षेत्रको ठूलो महत्व रहि आएको उल्लेख छ । यसक्षेत्रमा धेरै ऋृषि महर्षिहरुले तपस्या साथै अबलोकन गरेको जस्ता महत्वपूर्ण भनाइहरु रहि आएका छन् । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी यसको महत्व र ऐतिहासिक पृष्ठभूमिको निकै महत्व छ । रिडीमा मुख्य गरी माघेसक्रान्तीमा ठूलो मेला लाग्ने गर्दछ । त्यस बाहेक कार्तिकको ठूली एकादशी ,वैशाखे संक्रान्ति लगायतका पर्वहरुमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

माघे सक्रान्तिको पहिलो दिन १ गतेलाई जेठी सक्रान्ति, २ गतेलाई माइली सक्रान्ति र तेश्रो दिनलाई कान्छी सक्रान्ति भन्ने गरेको स्थानिय बताउछन् । भगवान बिष्णुको प्रतीक मानिने शालिग्राम पनि कालिगण्डकी किनार रिडीमा पाइन्छ । त्यसैले यस क्षेत्रको महत्व पनि धेरैे छ ।

माघे सक्रान्ति देखि तीन दिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मनोकांक्ष पुरा हुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरु रिडीमा जमघट हुने गर्दछन् । गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, बाग्लुङ लगायत नेपालका बिभिन्न स्थानबाट रुरु रिडीमा नुहाउन तथा अबलोकन गर्न आउने गर्दछन् ।

चार धाममध्यको एक धाम प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेलामा भक्तजनको घुइचो लाग्ने गर्दछ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भिड लाग्दछ । रुरु रिडी क्षेत्र कालिगण्डकी र रिडी नदिको संगम स्थल हो ।

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सोहि अबसरमा श्रद्धालुहरुको भिड लाग्ने गर्दछ । माघेसक्रान्तीमा रिडीमा आप्mना पितृहरुलाई पिण्ड दिनेहरुको अत्याधिक भिड लाग्ने गर्दछ । रुरु क्षेत्र रिडीमा आफ्ना पितृहरुलाई सम्झेर तिथी श्राद्ध गर्नाले काशीगया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । जसका कारण यस क्षेत्रको महिमा नेपालवाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा प्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।

सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्म चल्ने गर्दछ । मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिने गरिदै आएको छ ।

माघे संक्रान्तिको अवसर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामाग्रीहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु बिभिन्न ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेला भर्न प्रत्येक वर्ष रुकुम ,रोल्पा,जुम्ला र सल्यानबाट राडिपाखी को ब्यापार गर्न हिड्दै आउने गर्दछन् । रुकुम रोल्पाबाट ल्याएका राडिपाखी बेचेको पैसाले रिडीबाट अन्य सामाग्री किनेर लैजाने गर्दछन् । हातले बुनेका राडिपाखी बाँस तथा निगालोबाट बनेका सामाग्रीहरु र गुल्मीमा उत्पादन हुने बिभिन्न कृषिजन्य सामाग्रीहरु माघे सक्रान्तिमा पाउनुले यस क्षेत्रमा लाग्ने मेलाको अर्को महत्व दर्शाएको छ ।

माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिनसम्म संचालन हुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । मेला अबधीभर लामाचौपारी को बिष्णु मन्दिर, हृषीकेश मन्दिर,भृगुतुमेश्वर महादेव को दर्शन गर्ने गर्दछन् । यस धार्मिक ऐतिहासिक पर्यटकीय रुरु क्षेत्रको संरक्षण संबद्धनमा विभिन्न निकायले पहल गरेमा यो क्षेत्र पर्यटकीय गन्तब्यको रुपमा देश बिदेशमा अझ वढि प्रख्यात हुनेछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D