अनिल खत्री
१२ जेठ, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या भएपछि बोरिङबाट पानीको व्यवस्था गरिएको छ । सुख्खा समय सुरु भएसंगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पानीको ब्यवस्था गरिएको हो ।
केहि दिन अघि रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाल्ने काम सफल भएपछि अरु वडाहरुमा पनि पानीको ब्यवस्था गरिएको छ । नगरपालिका भित्र तम्घासमा पहिलो पटक परिक्षण सफल भएपछि नगरको वडा नम्बर ८ मा पनि बोरिङबाट पानीको ब्यवस्था गरिएको खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्ष बालसिंह काउछाले बताउनु भयो ।
तम्घासको खानिगाउँमा केहि वर्ष अघिबाटै लिपटिङ्गबाट पानी ल्याउने कि बोरिङ्गबाट गर्ने छलफल भइरहेको खानिगाउँ खानेपानी उपभोक्ता समिति सचिव कृष्ण भण्डारीले बताउनु भयो । उहाँले अहिले खानेपानीको चरम समस्या भएपछि त्यसलाई तत्कालै समाधान गर्नको निम्ति बोरिङबाट खानेपानीको व्यवस्था गरिएको भण्डारीले बताउनु भयो । तमघासको बसपार्क नजिकैबाट ७५ मिटर गहिराइबाट पानी निकालिएको हो ।
खानिगाउँ खोनपानी उपभोक्ता समितिमा आबद्ध ३ सय ५० घरधुरीलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको अध्यक्ष काउछाले बताउनु भयो । बोरिङबाट खानेपानीको व्यवस्था गर्न रेसुङ्गा नगरपालिकाबाट १६ लाख रुपैयाँ र प्रदेश सरकारबाट २५ लाख गरि ४१ लाखमा निकालिएको हो ।
नगरबाट थोरै रकमले सम्भव नभएपछि खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्षले प्रदेश सरकारसँग बजेटको व्यवस्था गर्न पहल भएको उपभोक्ता समिति सचिव भण्डारीले बताउनु भयो । यस वर्ष प्रर्याप्त पानी नपर्दा छिट्टै मुहानहरु सुक्न थालेपछि खानेपानीको लागि समस्या वढेको हो ।
बोरिङबाट निकालिएको पानी तत्कालै बितरण टंकीमा लगिएको र सोमबारबाट बितरण गर्न लागिएको सचिव भण्डारीले बताउनु भयो । जमिनमुनिबाट पानी निकाल्ने यो प्रबिधि तम्घासवासिको निम्ति नौलो प्रबिधि हो ।
तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताउनुभयो । मज्याङ्गबाट लिफ्ट गरिने पानी नै तम्घासवासीको लागि दिर्घकालिन खानेपानीको समधान रहेको भुसालको भनाई छ ।
उक्त योजना केन्द्रिय योजना अन्र्तगत रहेकाले सर्वे लगायतमै लामो समय लाग्दै आएको छ । लिफ्ट गर्न धेरै रकम लाग्ने भएकालेपनि योजना तत्कालै सम्पन्न हुने अबस्था छैन । खानेपानीको समस्या भएपछि रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा ५ सय २१ घरधुरीहरुलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको छ । बोरिङबबाट पानी निकाल्नको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तम्घासको प्राबिधिक सहयोग गरेको छ ।
तम्घासमा पिउने पानीको समस्या हुदै गएपश्चात नगरपालिकाले ट्याङकरबाट दैनिक रुपमा पानी बितरण गरिरहेको छ । बिभिन्न स्थानबाट ल्याएर ढुवानी खर्च उठने गरि मात्रै रकम लिएर पानी बितरण गर्दै आएको छ ।
अघिल्लो वर्षको तुलनामा तम्घासमा भएका मुलहरु सुक्दै जान थालेसँगै यस वर्ष तम्घासमा खोनपानीको चरम समस्या देखिएको छ । तम्घास बजारमा बिशेष गरि वडा नम्बर ९ र ८ मा वढि मात्रामा खानेपानीको समस्या देखिएको छ । भने अरु वडाहरुमा पनि अघिल्लो वर्षको तुलनामा समस्या वढदै जान थालेको छ ।