जनार्दन घिमिरे
गुल्मी, फागुन १४ । गुल्मीमा पाँच सय रुपैयाँको नक्कली नोट भेटिएको छ । सोमबार सदरमुकाम तम्घासको ग्लोबल आइएमई बैंकले नोटको सर्टिङ्ग गर्ने क्रममा नक्कली नोट फेला पारेको हो ।
स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा एक थान पाँच सय रुपैयाँको नक्कली नोट फेला परेको बैंकका प्रवन्धक योगेन्द्र रायमाझीले बताउनु भएको छ ।

फेला परेको ९४६७९६ नम्बरको नक्कली नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्काउन सजिलो बनाउनका लागि तारलाई बीच–बीचमा काटेर नोटमा टाँसिएको छ । नोटमा टाँसिएको तारलाई सहजै रुपमा कोट्टाएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ्ग गर्ने क्रममा नोट अलि मोटो भएकोे पाएपछि अनुसन्धानको क्रममा नोट नक्कली भएको पत्ता लागेको हो ।
बैंकमा पहिलो पटक यस्तो नक्कली नोट भेटिएको बैंकका प्रवन्धक योगेन्द्र रायमाझीले बताउनुभयो । कर्मचारीको सावधानीका कारण नक्कली नोट पत्ता लगाउन सफल भएको उहाँले जानकारी दिनुभयो । बैंकमा जम्मा गर्न पठाएको रकममा फेला परेको नक्कली नोट कारोबारको क्रममा आफूले बजारको स्थानीय समुन्द्र मैत्रीबाट प्राप्त गरेको र यसबारे आफूलाई कुनै पनि जानकारी नभएको बैंकमा नोट जम्मा गर्न आएका पाण्डेले बताउनुभयो ।
जिल्लामा पछिल्लो समयमा भित्रिएका यस प्रकारका नक्कली नोटहरु सहजै रुपमा बैंकमा पनि भित्रिएको अवस्थामा व्यवसायीहरु पनि सजक हुनु पर्ने अवस्था सिर्जना भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो ।






