कार्तिक, ३० कार्तिक । ग्रामीण क्षेत्रका मतदाताले उम्मेदवारलाई पत्याउन छाडेका छन् । वर्षौंदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको दैनिकी परिवर्तन गर्ने आश्वासन दिन्छन् । रोजगार, शिक्षा, स्वास्थ्यको सुविधा मिल्ने र गाउँमा विकास बढ्ने विश्वासले धेरै पटक भोट हाले । तर आश्वासन नारामा सीमित भए । जिताएर पठाएका नेता विकास ल्याउनुको साटो आफैं राजधानी बसाइँ सरे ।
दलका उम्मेदवार विकासे आश्वासन बोकेर भोट माग्दै पुन: घरदैलोमा पुग्न थालेका छन् । आफू विजयी भए गाउँमा सडक, स्वास्थ्य, खानेपानी, बिजुली पुर्याउने दाबी दोहोर्याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा झन्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् । कुनै सुविधा नपाएका दुर्गमका मतदाता तिनका कुरामा विश्वास गर्दैनन् । यसरी पुग्ने मतदातासित सर्वसाधारणको एउटै आग्रह ‘फेरि ढाँट्ने गरी कोही नेता गाउँमा नआओस्’ भन्ने छ । यस्तो आश्वासनको सिलसिला चल्न थालेको २६ वर्ष बित्यो । जिल्लाको पूर्वी कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट, फोक्सिङ, खड्गकोटका बासिन्दालाई नेताले सडक, सञ्चार, स्वास्थ्य सेवा पुर्याएर सुगम बनाउने आश्वासन दिए । अहिलेसम्म त्यहाँ भरपर्दो सडक, स्वास्थ्य र सञ्चार सुविधा पुगेको छैन । उक्त क्षेत्रको किनमेल केन्द्र पूर्तिघाट बजारमा अहिले पनि कुनै सञ्चार सुविधा छैन ।
भोट माग्न आउँदा मात्र विकास गर्ने त्यसपछि आफूले गरेका वाचा भुल्ने गरेकाले अहिलेसम्म गाउँको विकास हुन नसकेको कालीगण्डकी ५ फोक्सिङका ८६ वर्षीय मनबहादुर रानाले बताए । ‘अहिले त झन् ढाँट्न पो थाले,’ उनले भने, ‘जति पटक भोट दिए पनि हाम्रा दु:ख बुझ्ने कोही भएनन् ।’ अहिलेका नेताका कुरा पत्याउनै मुस्किल हुने उनले बताए । जितेपछि नेताको घर व्यवहार सुध्रिने तर जनताले सधैं दु:ख मात्र पाउने गरेको उनले दुखेसो पोखे । कालीगण्डकी जिल्लाकै दुर्गममध्येको गाउँपालिका हो । कालीगण्डकी करिडोरको ट्रयाक खुलेपछि गत वर्षदेखि नियमित यातायात सञ्चालन हुने गरेको छ । तर अहिले पनि भरपर्दो स्वास्थ्य सेवा उपलब्ध छैन । फोन गर्न टावरको नेटवर्क कुर्नुपर्छ । बिरामी परे पाल्पा/बुटवल पुर्याउनुपर्छ । समयमा सवारी साधन पाइँदैन । यस पटक भोट माग्दै गाउँ पुगेका नेताले भने कालीगण्डकी करिडोर नियमित सञ्चालनमा आएसँगै आवश्यक भौतिक पूर्वाधार ल्याउने आश्वासन दिएका छन् ।
‘सधैं यस्तै आश्वासन दिन्छन्, कसरी पत्याउनु ?’ कालीगण्डकी २ अर्वेनीका ७४ वर्षे हरिलाल न्यौपानेले भने, ‘अहिलेसम्म ५ पटक भोट दिएँ, गर्ने कोही आएनन्, अब भोट नै दिन्नँ ।’ २०४८, ०५१, ०५६, ०६४ र ०७० मा भोट दिएर जितेका कुनै नेता त्यसपछि गाउँ नफर्केको उनले बताए । ०४८ मा कांग्रेसका झकबहादुर पुन विजयी भएका थिए । जितेपछि उनी गाउँ फर्केनन् । ०५१ मा एमालेका रामनाथ ढकालले जिते, त्यसपछि उनी यहाँबाट रूपन्देही झरे । ०५६ मा एमालेकै फटिकबहादुर थापा विजयी भए । प्राध्यापन पेसा छाडेर उम्मेदवार हुन आएका उनी पनि विजयी भएपछि काठमाडौं नै बस्छन् । ०६४ मा माओवादीका सुदर्शन बराल विजयी भए । साविकको क्षेत्र १ मा विजयी भएर गाउँमै बस्ने नेता उनीमात्र हुन् ।
०७० मा कांग्रेसबाट कृष्णबहादुर छन्तेल बिजयी भएपछि गाउँ नफर्केको गाउँलेले बताए । तिनले विकासमा योगदान नपुरयाएको आरोप लाग्दै आएको छ । साविकको क्षेत्र १ अहिले पनि दुर्गम क्षेत्र मानिन्छ ।
एमाले पूर्वजिल्ला अध्यक्ष कमलराज श्रेष्ठ त्यस क्षेत्रमा पञ्चायतकालदेखि विजयी हुनेहरू बसाइँ सर्दै आएको बताउँछन् । त्यसले गर्दा पनि मतदातामा गुनासो र अविश्वास छ । पञ्चायतदेखि अहिलेसम्म त्यस क्षेत्रबाट विजयी भएर मन्त्री हुनेको संख्या ६ छ । एक जना मन्त्रिपरिषद्मा नियुक्त भएका सहित ७ जना मन्त्री बनेका छन् । पञ्चायती व्यवस्थाको सुरुमा गिरिप्रसाद बुढाथोकी विजयी भएर मन्त्री भए । उनी काठमाडौंमै बसे । पछि उनकै छोरा श्रीप्रसाद बुढाथोकी विजयी भए, मन्त्री पनि भए तर क्षेत्र फर्केनन् । श्रीपछि उनका भाइ भीमबहादुर बुढाथोकी र दयानिधि शर्मा पनि मन्त्री बने तर क्षेत्र र जिल्लाको विकासमा योगदान गरेनन् । बहुदल आएपछि विजयीले पनि चासो नदिएको गुनासो छ ।
तत्कालीन राजाको शासनकालमा धर्मबहादुर पाण्डे गृह र खिलराज रेग्मीको पालामा हरि न्यौपाने कानुनमन्त्री बने । दुवै त्यही क्षेत्रकै हुन् । त्यसपछि अहिले सुवर्ण ज्वारचन मन्त्री छन् । ‘सातजना मन्त्री बन्दा पनि पूर्वी क्षेत्रको विकास हुन सकेको छैन,’ उनले भने, ‘नेता हुने विकास नहुने भएपछि अविश्वास गर्नु स्वाभाविक नै हो ।’ तर अहिलेको प्रतिस्पर्धामा केन्द्रमा प्रभाव राख्ने र मन्त्री बन्ने सम्भावना पनि भएका नेता भएकाले पुरानो पुस्ताले अविश्वास गरे पनि नयाँ पुस्तामा आशा जगाएको उनले बताए ।
आधा जिल्लामा सेवा पुग्ने र जिल्लाकै व्यस्त मानिने रिडी–रुद्रवेणी–बामीटक्सार सडक सञ्चालनमा
आएको ३५ वर्ष पुग्न थाल्दा पनि कच्ची नै छ । गत वर्षदेखि कालोपत्रेको प्रक्रियामा छ । ०७० को संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको जिल्लामा अहिले पुरानो २ का केही वडा गाभेर नयाँ क्षेत्र नम्बर १ बनेको छ ।
प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले सचिव प्रदिप ज्ञवाली र कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् । मत माग्न दुर्गम गाउँका मतदातालाई प्राथमिकता दिएका दुवै नेताले अहिले पनि विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । ज्ञवालीले कालीगण्डकी करिडोर कालोपत्रे, गाउँपालिका जोड्ने साना सडकको कालोपत्र र रुद्रवेणी–बामीटक्सार सडक कालोपत्रेलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यसपछि स्वास्थ्य र शिक्षाका लागि पहल गर्ने उनको भनाई छ ।
सडकको स्तरोन्नति आर्थिक समृद्धि प्रमुख मेरुदण्ड भएकाले पनि त्यसमा पहिलो प्राथमिकता राखिएको उनले बताए । कांग्रेस नेता भण्डारीले पूर्वी क्षेत्र लामो समयदेखि विकासमा पछि परेकाले अहिले पनि मतदातालाई विश्वास दिलाउनै गाह्रो परेको बताए । ‘कुनै कुराको विकास भएको छैन,’ उनले भने, ‘विश्व कहाँ पुगिसक्यो, हाम्रा मतदाता अहिले पनि सडक, औषधि चाहियो भन्दै छन्, अब त्यसरी हुँदैन ।’ जनतामा रहेको अविश्वास हटाउने गरी विकासको योजना र खाकासहित आफू मतदातासमक्ष पुगेको बताए । नेता भण्डारीले पनि सडक पूर्वाधार, पुल निर्माण, खानेपानी, सञ्चारलगायत क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । -कान्तिपुर दैनिकबाट