भाद्र २२ । पहिरोले कुलो बगाइदिएपछि जिल्लाकै खाद्यान्न उत्पादन हुने प्रमुख फाँटमध्येको चन्द्रकोट गाउँपालिका ७ रूपाकोट दमुकाको ५ सय ५० रोपनी खेत बाँझिएको छ ।
असार पहिलो साता गएको पहिरोले दमुका सोता सिँचाइ कुलोको रामकोटमा ७० मिटरभन्दा बढी बगाइदिएको हो । पहिरो क्षेत्रमा उपभोक्ताले पाइप राखेर पानी ल्याउने प्रयाससमेत असफल भएपछि उपल्लो दमुकामा मात्र १ सय ९८ उपभोक्ताको खेत पूरै बाँझो छ । २ किलोमिटरभन्दा बढी लम्बाइको कुलोबाट सिँचाइ भएर दमुका फाँटमा बर्खे धान मात्र २६ सय मुरी उत्पादन हुने गर्छ । ३ सय १२ उपभोक्ताले त्यही कुलोबाटै सिँचाइ गरेर चैते र बर्खे धान रोप्दै आएका थिए ।
‘सबै बाँझोमा परिणत भयो,’ उपभोक्ता कृष्ण खरेलले भने, ‘९० मुरी धान फल्ने २८ रोपनी खेत बाँझो हुँदा मन खिन्न भएको छ, के गर्नु सहनैपर्ने रहेछ ।’ खाद्यान्न उत्पादनका लागि अन्यत्र जग्गा नभएकाले उनको ५ जनाको परिवारको खाद्यान्न र आम्दानीको मुख्य स्रोत नै यही खेत हो, जुन पूरै बाँझो छ । खेत बाँझो भएपछि खाद्यान्न उत्पादनसँगै गाईभैंसीको घाँसका लागिसमेत संकट आइलागेको उनले बताए । चैतअघिदेखि नै कुलो मर्मत गर्ने कार्य भइरहेकाले यसपटक उपभोक्ताले चैते धानसमेत रोप्न पाएनन् ।
दमुका सोता सिँचाइ कुलो परियोजनाका अध्यक्ष स्थानेश्वर भण्डारीले पहिरो ठूलो गएकाले उपभोक्ताले यो वर्ष मर्मत गर्नैनसक्ने अवस्था आएपछि पूरै फाँट बाँझो राख्नुपरेको बताए । उपभोक्ताले सिँचाइ कुलोलाई बहुउपयोगी गराउने गरी विद्युत् निकाल्नेसमेत तयारी गरेका थिए । कुलो मर्मतसँगै विस्तारको समेत काम भइरहेकाले पनि उपभोक्ताले चैतेधान समेत रोप्न नपाएको समितिले जनाएको छ । ‘बर्खे धान रोप्न पानी ल्याउने गरी कुलो विस्तारको काम भइरहेको थियो,’ उनले भने, ‘असार पहिलो साता नै ठूलो पहिरो गएर अस्तव्यस्त बनाइदिएपछि पूरै फाँट नै बाँझियो ।’ कुलो मर्मतका लागि उपभोक्ताको स्रोतले नभ्याउने भएकाले गाउँपालिकासँग बजेट माग गरिएको उनले बताए । कम्तीमा २० लाख रुपैयाँ पहिरो हटाउनै खर्च हुने उनले बताए ।
कुलोका ८० प्रतिशत उपभोक्ता खेतको उत्पादनमै आश्रित छन् । कुलो बगेपछि सिंगो गाउँ नै खाद्यान्न उपयोगमा प्रभावित भएको छ । ‘सिंगो गाउँ नै चामल किन्नुपर्ने बाध्यतामा पर्यो,’ अर्का उपभोक्ता कृष्ण भण्डारीले भने, ‘गाउँका कसैले पनि धान रोप्न पाएका छैनन् ।’ पूरै फाँटमा धान हरियाली हुने बेला झार पलाएर उराठ लाग्दो देखिएको उनले बताए ।
वडाध्यक्ष लक्ष्मी भण्डारीले समयमै मर्मत र कुलो विस्तारको काम गर्न नसक्दा पूरै फाँट बाँझो हुने अवस्थामा पुगेको बताए । ‘अबको चैतेधान रोप्न मिल्ने गरी पानी ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘उपभोक्ताको भेला राखेर स्थानीय श्रमदानसमेत प्रयोग गर्ने गरी मंसिर–पुसमा कुलोमा पानी ल्याउने सहमति भएको छ ।’ -कान्तिपुर दैनिकबाट