टोपलाल अर्याल
गुल्मी, चैत २८ । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीस्थित देउराली निमाविको नयाँ भवन निर्माणकार्य अलपत्र हुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । कक्षाकोठाको अभाव भएपछि कक्षा एकदेखि तीनसम्मका विद्यार्थीलाई खुला चौरमा पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार विद्यालयमा कक्षा एकदेखि आठसम्म गरेर जम्मा एक सय २८ विद्यार्थी छन् ।
वि.सं. ०१८ मा स्थापना भएको देउराली निमावि दोहलीको सबैभन्दा पुरानो प्राथमिक विद्यालय हो । विद्यार्थीको चाप र जीर्ण भवनमा पठनपाठनमा निकै मुस्किल परेपछि ०७१ सालमा शान्ति मन्त्रालयबाट क्रमागत रूपमा १२ लाखको नयाँ दुईकोठे भवनका लागि योजना पर्याे । अभिभावकले स्थानीय स्रोत थप्ने गरी तीनकोठे भवनको प्रस्ताव गरे । सुरुको दुई वर्ष तीन–तीन लाखका दरले बजेट आए पनि भवन निर्माणको काम भने पूरा नभएको प्रध्यानाध्यापक रिजालले बताए ।
समयमै मूल्यांकन नहुँदा बजेट फ्रिज
गत वर्ष लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख रुपैयाँले विद्यालय ढलानको काम भएको थियो । असार मसान्तको चापले गर्दा इन्जिनियरले विद्यालयको मूल्यांकन समयमा नगरिदिएकाले बजेट फ्रिज भएको इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए । काम गरेको रकम नपाएपछि निर्माण व्यवसायीले ढलानका टेकासमेत निकालेका छैनन् । झ्याल–ढोका, प्लास्टर र फर्निचरलगायतका काम अझै बाँकी छन् । निर्माणाधीन भवनको अलपत्र अवस्थाले विद्यार्थीमा जोखिम बढाएको छ ।