बिचार

सरापेहरु

टोपलाल अर्याल
गुल्मी, ५ फागुन । घर परिवार र समुदायमा सरापेहरुको बिगबिगी बढेको छ । सरापेहरुले ठाउँ फेरेका छन् । पहिले चोक, गल्ली र चौतारामा भेटिन्थे । अहिले फेसबुकमा । सरकारपछि गाउँको आक्रोश पोख्नकै लागि फेसबुक खोलिएका छन् । दिनरात त्यसैमा डिउटी गर्छन । देशको व्यवस्था र कार्यशैली प्रती स्वभाविक असन्तुष्टि बढेका छन् । तर अस्वभाविक आक्रोश फैलिएको छ । थुक्क सरकार ! थुक्क जनप्रतिनिधी ! कठै मेरो गाउँ । कठै मेरो देश…………….।

चिनमा कोरोनाको भन्दा नेपालीहरुमा सराप्नेको संक्रमण बढि फैलिएको छ । गाउँमा खेतबारी बाँझो राखेर घर–घर र चोक–चोेकमा महङ्गी र अभाव देखाएर जनप्रतिनिधी र सरकार सराप्ने काका–काकी बग्रेल्ती छन् । बिद्यार्थीले नपढ्ने अनी शिक्षक, बिद्यालय र शिक्षा नीति सराप्ने । शिक्षकले गुणस्तरिय शिक्षा दिन नसक्ने तर स्कुल र बिद्यार्थी देखाएर सराप्ने । ठेकेदारले सम्झौता अनुसारको काम नगर्ने चिल्ला गाडीमा हिँडेर सरकार सराप्ने । गाउँका नेताले सकेसम्म आफ्नो स्वार्थपूर्ति गर्ने नपाए सराप्ने । जनप्रतिनिधीले पनि न जान्ने न भनेको मान्ने अनि कर्मचारी सराप्ने । कर्मचारीले पनि सेवाग्राही भन्दा भित्ताको घडि हेरेर काम गर्ने त्यसपछि जनप्रतिनिधी, नेता र सरकार सराप्ने । पत्रकारले देखेको जति लेख्न पाउँदैन । लेखेको जति देख्न पाउँदैन । त्यसपछि सरकार वा व्यावस्था सराप्ने । सरापेहरुको दर गाउँपछि सदरमुकाम, राजधानी हुँदै बिदेशमा चौगुणा बढेको छ ।

गाउँको झुपडिबाट इण्डिया हुँदै खाडी वा युरोप पुगेको लाहुरेले शहरमा घडेरी किनेर घर बनाएको छ । गाउँ अब पक्कै आउँदैन । तर बिर्सिएको गाउँको झुपडी फेसबुकमा राखेर टीन खोइ भनेर सराप्ने । घर नजिक मिल खोज्ने तर पानी घट्ट लोप भएकोमा सराप्ने । परदेश पस्नेले घर छोडेको तीन महिनामै गाउँ परदेश जस्तै बनेको देख्न खोज्ने अनि सराप्ने । त्यसैले संजालमा उनीहरुका गाउँ प्रतिको आक्रोश छताछुल्ल छन् । लाहुरे दाईले दशैमा घर आउँदा सडकमा परेको खाल्डो मोवाइल खिचेका छन् । पैदल हिँड्ने जमनामैै गाउँ छोडेकाहरु त्यपसपछि फर्केका छैनन् । बर्खे भेलामा झोलुङ्गे पुल तरेर सिटामोल खान सदरमुकाम आएकै दिमाग छ । कोदाको गुन्द्रुक, पीठो र आटो बोकेर क्याम्पस पढेको दिमागमा छ । खरे घरमा धिपधिम बल्ने टुकी दिमागमा छ । पर्सेम्ला पन्छाएर पानी बोकेको पनि बिर्सेका छैनन् ।

बाँसको चित्राले बारेको स्कुलमा कक नन सिकेर शहर छिरेका कैयन अंकलहरु मन्त्रालय र बिभागका खरिदार, सुब्बादेखि सचीव छन् । उनी बसाई सरेको पनि बर्षौ भए । आफु फेरिए तर गाउँको चित्रे स्कुल फेरिएको छैन् । उनैले फेसवुकमा लेख्छन्, कठै मेरो स्कुल । मेरा जनप्रतिनिधी । मेरो देश । उनी कहिल्यै त्यो स्कुलमा टीन लगाउन गाउँ आएनन् । गाउँकै आटो ढिडोसंग छाप्रे स्कुलमा पढेका दाजै पनि अहिले शहरमा डाक्टर साप बनेका छन् । तर बैगुनी दाजै कहिल्यै शिविर लिएर गाउँ आउँदैनन् । उनी सानो हुँदा पटुकामा काफल लुकाएर ल्याइदिने गाउँकी बजै अहिले दमले थला परेकी छन् । त्यहि काफल खाने डाक्टर साप अहिले संजालमा गाउँको फोटो राखेर सराप्छन्: थुक्क मेरो गाउँ । तल्लारे बाले हलो बनाएर पढाएका जिक्री अहिले इन्जिनियर छन् । ठाउँ–ठाउँका फोटा देख्छु । यो सडक सर्भे, त्यो पुल डिजाइन, योे इस्टिमेट गरिदै, त्यो इस्टिमेट गरिदै । तर गाउँकै टेडो परेको स्कुल, ग्रेड नमिलेको बाटोको फोटो खिचेर इन्जिनियर साप फेसबुक स्टाटस ठोक्छन्: थुक्क मेरो गाउँ ।

त्यसैले

गाउँ आउ काका । आफ्नै जन्मभुमी नसराप दाजै । त्यो खाल्डो पुरिएको छ । घाट–घाटमा झोलुङ्गे होइन पक्की पुलमा गाडी कुद्छन् । ल्यावसहितका स्वास्थ्यचौकी गाउँमै छन् । बर्षौ मोतियाबिन्दुले संसार नचिहाएका बाआमाले गाउँमै आँखा देखेका छन् । ५४ बर्षसम्म खसेको पाठेघर बोकेर हिँडेकी ७६ बर्षकी आमाले उपचार पाएकी छन् । डाक्टर साप महिनामा सकिदैन भने बर्षमा एक पटक शिविर लिएर गाउँ आउ । थलिएकी काकीले आर्शिवाद दिनेछन् ।

घरछेउमा क्याम्पस छ । खयर टेडो नै होला । इन्जिनियर साप त्यस्तै टेडा र ग्रेड नमिलेका बाटाले तिमीलाई खोजेका छन् । एक पटक स्वयंसेवी भएर गाउँ फर्क । मोवाइल र दिमागका खरे घर डिलिट गर । अहिले त्यो घर टीनले छाएको छ । टीनले छाएको झुप्प्रे घरमा कुप्प्रे आमाले बिजुली बालेकी छन् ।

मन्त्रालय र बिभागहरुमा काम गर्ने खरदार सुब्बादेखि सचीव सापहरु गाउँको शिक्षा कसरी सुधार्ने ? पर्यटन विकास कसरी गर्ने, स्वास्थ्य, खानेपानी र पुर्वाधार विकासको योजना कस्तो बनाउने ? गाउँको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको मोडल तपाईहरु लिएर गाउँ आउनुस् । सरकार र सरकारका मन्त्री अस्थायी हुन् । सरकार वा मन्त्री अहिले वा भोली जो बन्ला वा जसको बन्दा केहि छैन् । स्थानीय सरकारमा जो निर्वाचित होला केहि फरक पर्दैन । तर गाउँको समुचित र स्थायी विकास हुनुपर्छ । उम्केर र खुम्चेर होइन । चिडेर होइन, भिडेर गाउँको विकासमा एक मत र एक जुट बनौ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D