पर्यटनबिचार

सम्झनामा बन्दिपुर !

हुमाकान्त पोखरेल
गत माघ १ गते ५ नम्बर प्रदेशको गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिका र गण्डकी प्रदेशको तनहुँ जिल्लामा पर्ने बन्दिपुर गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्ने कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । म धुर्कोट गाउँपालिकाको समुह सदस्यको रुपमा बन्दिपुर पुगेको थिए । माघ १ गते हुने कार्यक्रमको लागि हामी पौष २९ गते धुर्कोटबाट हिँड्यौ । म गाउँपालिका अध्यक्षले प्रयोग गर्ने स्कर्पियो गाडीमा थिएँ । गुल्मी क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित सासंद दिनेश पन्थी, गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, नेपाली काङ्ग्रेसका नेता छन्द बहादुर पहराई, केहि वडाध्यक्षहरु गरी कुल नौजना गाडीमा बस्यौ ।

गाउँपालिका उपाध्यक्ष सहित केहि कर्मचारी सहित जनप्रतिनिधि गरी सातजना अर्को डबल क्याब गाडीमा र अन्य अन्य २८ जना जति बसमा सवार थियौँ । स्वभावैले स्कर्पीयो छिटो गुड्ने भएकोले हामी अन्य दुई सवारीसाधन भन्दा अगाडी थियौ । झण्डै दुईबर्ष अगाडी बन्दिपुर पुगेकोले मेरो लागि बन्दिपुर नौलो त थिएन । तर त्यत्तिबेला त्यहाँ करिब दुई घण्टा मात्र बस्ने मौका मिल्यो, धेरै समय बिताउन पाइएन । त्यसैले त्यहाँको रहन–सहन, कला–सँस्कृति, आर्थोपार्जन तथा जिविकोपार्जनका विषय भने मेरा लागि अत्यन्तै नौलो थिए । साथै विभिन्न संचारमाध्यममा बन्दिपुर पर्यटकिय स्थल भएको, होमस्टेको सुविधा रहेको जस्ता समाचारले मनमा बन्दिपुरबारे निकै खुलदुली लागिरहेको थियो ।

पौष २९ गते रातिको करिब ८:३० बजे हामी तनहुँको डुम्रे पुग्यौँ । त्यहाँ हामिलाई स्वागत गर्न गाउँपालिका अध्यक्ष पूर्णसिहं थापा आएका थिए । त्यहाँबाट आठ किलोमिटर उकालो गाडीमा सवार भइसकेपछि हामी बन्दिपुर सामुदायिक होमस्टेमा पुग्यौ । त्यत्तिबेला रातिको करिब ८:५० भइसकेको थियो ।

हामि बन्दिपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बन्दिपुर सामुदायिक होमस्टे लेखिएको व्यानरबाट करिब दुईसय मिटर पर पुगेका थियौँ । हातमा माला लिएर केहि महिला तम्तयार अवस्थामा हामिलाई होमस्टेमा स्वागत गर्न उभिएका थिए । सुरुमा सामान्य परिचय कार्यक्रम भइसकेपछि होमस्टेका महिलाहरुले हामिलाई टिका र मालाले स्वागत गरे । साथै आलुबाट बनेको एक प्रकारको परिकार खान दिए । थोरै तथा धेरै स्वादिलो । त्यसपछि हामिलाई खान र बस्नको लागि भनी चार÷पाचँ जनाको समूहमा विभाजन गरी विभिन्न घरमा पठाइयो । हामि गयौँ । म सँगै वडा नम्बर ६ का अध्यक्ष कृष्ण नेपाली, वडा न. ७ का सचिव गगां पन्थी, कार्यालय सहायक धरणीधर पन्थी र चालक चन्द्र कुँवर पनि सँगै थिए ।

४० हजार सम्म बचत

औषतमा वैदेशिक रोजगारीबाट मासिक २५ देखि ३० हजारसम्म आम्दानी हुन्छ । तर बन्दिपुरमा होमस्टेबाट मासिक औषतमा ४० हजारसम्म बचत गर्दा रहेछन् । हामि पाचँ जनाको समुह घर न. १८ मा गयौँ । त्यहाँ बढीमा सातजनासम्म पाहुना राख्न सक्ने क्षमता रहेछ । मैले होमस्टे संचालनको तरिका, खुवाउने परिकार, प्राप्त हुने आम्दानी लगायतका विषयमा घरकी आन्टीसँग सोधे । होमस्टेमा दैनिकजसो पाहुना जाँदा रहेछन् । एकजना पाहुनाबाट सातसय रुपैँया एक परिवारलाई आम्दानी हुँदोरहेछ । अर्थात प्याकेजमा बेलुकी र बिहानको खाना तथा बिहानको नास्ता र बासको व्यवस्था सातसय रुपैँयामा हुँदोरहेछ । त्यहाँ जाने पर्यटकहरुलाई होमस्टे समुहले विभाजन गरी पालैपालो सबैका घरमा बस्न पठाउदो रहेछ । यसको अर्थ सबै होमस्टे संचालकले आम्दानी लिन सकुन् भन्ने होला । हामि बसेको घरमा पनि खर्च कटाउदाँ मासिक ४० हजारसम्म आम्दानी हुने घरबेटी आन्टीले बताएकी थिइन् । पर्यटकिय स्थलहरुको ठाउँ र सुरक्षा भए पर्यटन व्यवसायबाट मात्रै राम्रोसँग जिविकोपार्जन हुने सहजै अनुमान गर्न सकिन्छ ।

एउटै गाउँपालिकामा कुल १० होमस्टे

गुल्मीमा धेरै पर्यटकिय स्थलहरु छन् । तर प्रचार हुन सकेका छैनन् । जिल्लामा संचालनमा आएका होमस्टे पनि बसाँइसराँईको चपेटामा पर्दै गएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकामा मात्रै १० वटा होमस्टे रहेका छन् । जहाँ झण्डै एक दिनमा एक हजारभन्दा बढी पर्यटकलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । सबैभन्दा पुरानो बन्दिपुर सामुदायिक होमस्टे रहेछ । २०६८ सालमा १२ घरबाट स्थापना भएको त्यस होमस्टे अहिले २२ घरमा पुगेको छ । जसमध्ये चार घर भूकम्पले क्षति पु¥र्याएकोले अहिले १८ घरमा १५० पाहुना व्यवस्थापन गर्न सकिदो रहेछ । माघ १ गते नै गण्डकी प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री विकास लम्सालले नयाँ होमस्टेको उद्घाटन गरे । उनका अनुसार गण्डकी प्रदेशले होमस्टेमा ७५ प्रतिशत भन्दा बढी स्थानीय उत्पादन प्रयोग गर्ने होमस्टेलाई लाखौँ रुपैँया अनुदान प्रदेश सरकारले उपलब्ध गराउछ ।

प्याराग्लाइडिङका लागि उपयुक्त

विशेषगरी नेवार संस्कृतिको बाहुल्यता रहेको बन्दिपुरको शहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन र प्राकृतिक सौन्दर्य बन्दिपुरका विशेषता हुन् । बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको सुन्दर दृष्य बन्दिपुरबाट सहजै अवलोकन गर्न सकिन्छ । बन्दिपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दिपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङचौतारा, बुरुञ्चे डाँडाबाट प्याराग्लाइडिङ सुचारु भैरहेको रहेछ । ति डाडाँहरुमा पुग्दा नयाँ अनुभव लिन सकिन्छ । बन्दिपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि निकै आकर्षित देखिएको हुनसक्छ । बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल बन्दिपुर पुग्ने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका रहेछन् ।

एकैपटक १४ सय पर्यटकले रात बिताउन सक्ने

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल बन्दिपुरमा नौ वटा होटल समेत निर्माणाधीन अवस्थामा रहेको जानकारी प्राप्त भयो । नेपाल भ्रमण वर्ष २०२० मा बन्दिपुरमा दुई लाख ५० हजार पर्यटक भित्राउने लक्ष्य राखिएको छ । बन्दिपुरमा हाल साना ठूला गरी ५७ होटल तथा १० होमस्टे सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ४०० पर्यटकले रात बिताउन सक्छन् । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले पर्यटकीय नगरी बन्दिपुरको भ्रमण गरेका रहेछन् । जसमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक पर्यटन विकास समितिले जानकारी दियो । समितिका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दिपुरको भ्रमण गरेका छन् । बेमौसममा बन्दिपुरमा चिनियाँ पर्यटक अत्यधिक रहने गरेका छन् । बास नबसे पनि भ्रमणका लागि मात्रै आउने पर्यटकमध्ये चिनियाँ पर्यटक बढी पुग्ने रहेछन् । हाल बन्दिपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका रहेछन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D